Total Pageviews

Thursday, April 11, 2013

चार सय वर्ष पुरानो युद्ध सामग्री भेटियो

photo
राजविराज , चैत्र २९ - सप्तरीको धरमपुर गाविसस्थित चुरे वन क्षेत्रको 'ढुंगालडे' भन्ने ठाउँमा चार सय वर्ष पुरानो प्राचीन कालीन युद्ध सामग्री भेटिएको छ ।
धरमपुरका प्रेमबहादुर विश्वकर्माले चुरेबाट घाँस ल्याउन घाँसे हँसिया चलाउने क्रममा उक्त प्राचीन कालीन युद्ध सामग्री भेटिएको हो । सप्तरीस्थित चुरे क्षेत्र पुरातात्त्विक महत्त्व बोकेको ठाउँ हो । यसअघि पनि जिल्लाको शम्भुनाथ गाविसको कनकपट्टीस्थित चुरे क्षेत्रमा मध्यकालीन सेनवंशीय राजाहरू बसेको दरबार पाइएको थियो ।
सप्तरीस्थित पूर्व-पश्चिम राजमार्ग खण्डमा पर्ने ठेलिया चौकबाट सिधै उतर-पश्चिममा रहेको चुरे क्षेत्रमा भेटिएको प्राचीन कालीन युद्ध सामग्री अहिले स्थानीय प्रेमबहादुर विश्वकर्माका घरमा सुरक्षित राखिएको छ । भेटिएका युद्ध सामग्रीमा तरबार, तीर, ढाल, साङ्ली, कोदाली, हँसिया, रेती, रथको अन्न, टापसहितका छन् ।
युद्ध सामग्री भेटिएको ठाउँ 'ढुंगालडे' सम्म पुग्न झन्डै तीन घन्टा हिंडेर जानुपर्ने हुन्छ । उक्त युद्ध सामग्री एक साताअघि फेला परेको हो । अहिल्यै पनि त्यहाँ खन्दा प्राचीन कालीन युद्ध सामग्री भेटिने क्रम जारी रहेको स्थानीय उत्तम आचार्यले बताए । उनका अनुसार प्राचीन कालीन युद्ध सामग्रीहरू फेला पर्नुले महाभारतको युद्ध यतातर्फ समेत भएको हुन सक्छ ।
'ढुंगालडेबाट करिब एक घन्टा हिंडेर अझ उतर जाँदा सलहेसको प्राचीनकालीन दरबारका अवशेष छन्', स्थानीय प्रेमबहादुर विश्वकर्माले भने, 'त्यसको दुई घन्टा अरू हिंड्दा कुन्ता माई भन्ने पर्दछ, कुन्ता माई महाभारतकालीन ठाउँ भएकाले हाल भेटिएका युद्ध सामग्री पनि त्यति बेलाकै युद्धमा प्रयोग गरिएको हुन सक्छ ।'
इतिहास विद् हरिकान्तलाल दासले भेटिएका युद्ध सामग्री प्राचीन कालीन हतियार नभई नवौं शताब्दीको सलहेसकालीन भएको हुन सक्ने बताएका छन् । सप्तरीको चुरे क्षेत्रमा राजा सलहेसकै बढी पकड भएकाले सो सामग्री पनि त्यति बेलाकै हुन सक्ने उनको भनाइ छ ।
यसैबीच प्राचीन कालीन युद्ध सामग्री भेटिएको ठाउँ ढुंगालडेलाई पुरातात्त्विक विभागले उत्खनन गर्नुपर्ने माग गरेका छन् ।

No comments:

Post a Comment