काभ्रे, फाल्गुन २७ -
चोरी गर्दै हिँडेका १० जना भारतीय नागरिकहरूको एक गिरोहलाई प्रहरीले पक्राउ
गरेको छ । बनेपाको तरकारी बजारस्थित 'वेलकम गेस्ट हाउस' मा बसिरहेका
उनीहरूलाई इलाका प्रहरी कार्यालय बनेपा र अपराध अनुसन्धान महाशाखाबाट
खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।
' चोरी गर्दै हिँड्ने गिरोह नै पक्राउ गरेका छौं,' जिल्ला प्रहरी प्रमुख गीता उप्रेतीले भनिन्, 'उनीहरूले विभिन्न स्थानमा चोरी गरिसकेका रहेछन् ।' पक्राउ
परेकाहरूमा भारत मोतिहारी कुरगाउँ ७ का जितेन्द्र साह -२२ वर्ष), सञ्जय
कुमार -१७ वर्ष), पश्चिम चम्पारण बेतिया १४ का नहिम मियाँ -२८ वर्ष),
मोतिहारी बिसुनपुर कास्वाटोल २ का पवन साह -२४ वर्ष) र मदन साह -४२ वर्ष)
छन् । त्यस्तै भारतकै समनकुमार यादव -२४ वर्ष), मोतिहारी अठमुहा १३ का
संसाधन अन्सारी -२३ वर्ष), बिसुनपुर २ का अमन कुमार -१८ वर्ष) र अठमुहा १२
का अंगेश साह, अठमुहा १३ का मनोज कुमार -२४ वर्ष) समेत पक्राउ
परेका छन् । 'भारतीय नागरिकको उक्त गिरोहबारे थप अनुसन्धान गर्न अपराध
अनुसन्धान महाशाखामा लगिएको छ,' उनले भनिन्, 'महाशाखाले पनि उनीहरूलाई खोजी
गरिरहेको थियो ।' गिरोहको साथबाट ७ थान मोबाइल फोनसहित चोरी
गरेपछि सामान राख्ने १०/१५ वटा झोलासमेत फेला परेको छ । केही महिनाअघि
खुलेको सामसुङ सोरुम चोर्न उनीहरू बनेपा आएको अनुसन्धानबाट खुलेको छ ।
यसअघि विराटनगरमा ल्यापटप र मोबाइल सोरुम चोरी
गरेको खुलेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक खेम
आचार्यले बताए । 'फागुन २२ मा यो गिरोह यता भित्रिएको रहेछ,' उनले भने,
'शुक्रबार बिहान ३ बजे बनेपामा भर्खरै खुलेको सामसुङको सोरुम चोर्ने योजना
बनाएका रहेछन् ।' उनीहरूले चोरी गरेको सामान बजार मूल्यभन्दा केही सस्तोमा पुनः बजारमै बिक्री गर्ने गरेको जानकारीमा आएको प्रहरीले जनायो ।
No comments:
Post a Comment