Total Pageviews

Wednesday, April 24, 2013

अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव

आमसञ्चारमा आदिवासीको समान पहुँच र सहभागिता' भन्ने नारासहित अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव सुरु हुन लागेको छ । 'सातौं नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव (निफ)-२०१३' आउँदो वैशाख १२ देखि १५ गतेसम्म काठमाडौंमा हुने भएको हो । विगतझैं यस वर्ष पनि यो महोत्सव काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह तथा नेपाल पर्यटन बोर्डको हलमा चार दिनसम्म सञ्चालन हुनेछ । यो महोत्सव आइफा -इन्डिजिनियस फिल्म अर्काइभ) ले आयोजना गर्न लागेको हो ।

'सातौं नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव -निफ)-२०१३' का लागि नेपालसहित २१ देशका छोटा/लामा चलचित्र, वृत्तचित्र, एनिमेसन चलचित्र, प्रयोगात्मक चलचित्र तथा म्युजिक भिडियो प्रदर्शन गरिने भएका छन् । नेपालबाट २५ वटा एवं विदेशबाट ६८ गरी महोत्सवका लागि ९३ वटा चलचित्र प्राप्त भएका छन् ।

महोत्सवमा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानाडा, कोलम्बिया, इक्वेडर, जर्मनी, होन्डुरस, भारत, इजरालय, मेक्सिको, न्युजिल्यान्ड, नर्वे, रसिया, इथोपिया, स्पेन, स्विट्जरल्यान्ड, पेरु, ताइवान, अमेरिका तथा नेपालका चलचित्र सहभागी छन् ।

महोत्सबका लागि तोकिएको अन्तिम तिथि चैत १८ सम्म प्राप्त यी ९३ वटा चलचित्रबाट छानेर उत्कृष्ट चलचित्रहरू प्रदर्शन गरिनेछ । नेपालबाट प्राप्त २५ चलचित्र एवं वृत्तचित्रहरू मगर, धिमाल, नेवार, गुरुङ, तामाङ, राई, लिम्बू आदि समुदायका छन् । आदिवासी चलचित्रकर्मीले निर्माण गरेका गैरआदिवासी विषयका चलचित्र पनि यो महोत्सवमा सहभागी छन् । 

No comments:

Post a Comment