Total Pageviews

Wednesday, April 24, 2013

मनीषामा बीपीको झझल्को पाएँ

मनीषाका बारेमा भारतीय सञ्चारमाध्यममा फरक-फरक समाचार आइरहेका छन्, एउटै व्यक्तिका बारेमा फरक-फरक समाचार किन ?

मनीषाका बारेमा भारतमा ठूलो चासो छ । उनी कुनै बेला बलिउडकी नम्बर वान नायिका हुन् । फेरि उनको सम्बन्ध सबै टप व्यक्तिहरूसँग छ । उनीजस्तो अभिनय गर्ने व्यक्ति कमै भेटिन्छन् । यस्ती व्यक्तिका बारेमा चासो हुनु स्वाभाविक हो । उनी उपचारको सिलसिलामा भएका कारण धेरैलाई भेट्न सक्दिनन् । यस्तो बेलामा समाचार त चाहियो । त्यसैले होला, एउटा सानो खबर पाउनेबित्तिकै जोड जाड पारेर समाचार आउँछ । मलाई पनि धेरैले सोधेर हैरान बनाउँछन् । केही नभन्दा नभन्दै केही त बोल्नैपर्छ । त्यसपछि त समाचार भैहाल्यो ।

आखिर भएको कुरा बाहिर ल्याउँदा त भैहाल्यो नि, समस्या के छ ?

बाहिर ल्याउने कुरा बाहिर आएकै छन् । कुरा के मात्र हो भने भएको भन्दा बढी हल्ला बाहिर आउँछ । सेलिब्रेटी भएपछि यस्तै हुन्छ क्यारे ! मनीषाको इच्छाचाहिँ के छ भने उनी आफंै निको भएर प्रेससँग बोल्न चाहन्छिन् । कुरा बढ्दै गएर इमेजमै नकारात्मक असर पर्छ कि भन्ने चिन्ता उनलाई छ । उनी आफैंले क्लियर गर्ने योजना बनाएकी हुनाले हामीले सबै कुरा बाहिर नल्याएका हौं ।

मनीषालाई कुन क्यान्सर भयो, त्यो कुन स्टेजमा थियो भन्ने कुरामा पनि विवाद छ, किन होला ?

यसमा विवाद छैन । ओभरी क्यान्सर भएको हो । त्यो तेस्रो स्टेजमा पुगेको रहेछ । तुरुन्तै सुविधासम्पन्न अस्पतालमा पुर्‍याइएको हुनाले अप्रेसन भैहाल्यो । ६ पल्ट किमो दिनुपर्ने थियो, पाँचपल्ट दिइसकियो । अब एकपल्ट दिए पुग्छ । त्यसको केही समयपछि नै उनी नेपाल आउँछिन् । अब निको हुन्छ भन्ने लाग्छ ।

तपाईंले मनीषाका केही तस्बिर फेसबुकमा हाल्नुभएको थियो । ती तस्बिरमा मनीषा उस्तै सुन्दर देखिन्छिन् । किमो दिएको विरामी त्यति प|mेस कसरी हुन सक्छिन् ?

मनीषामा अद्भुत आत्मविश्वास छ । जब म मनीषालाई यो अवस्थामा पनि मुस्कुराइरहेको देख्छु, बीपीको सम्झना आउँछ । त्यो बेला म सानै थिएँ । बीपीलाई घाँटीको क्यान्सर थियो । उहाँ भेट्न आउनेहरूसँग हाँसेर बोल्नुहुन्थ्यो, विवाद गर्नुहुन्थ्यो र अर्ती-बुद्धि दिनुहुन्थ्यो । उहाँको शैली देखेर उहाँ त्यत्रो रोगसँग लडिरहनुभएको छ भन्ने पटक्कै विश्वास नलाग्ने । अहिले मनीषा ठ्याक्कै त्यसै गर्छे । उसका कारण परिवारले, सहयोगीहरूले दुःख पाए भनेर चिन्ता गर्छे । ऊसँग बस्दा ऊ रोगी छे भन्ने नै लाग्दैन । त्यही आत्मविश्वास तस्बिरमा देखिएको हो ।

यो आत्मविश्वास कसरी पलायो भन्ने लाग्छ ?

मनीषाले सानै उमेरमा सबै किसिमको जिन्दगी देखी । ऊ राजनैतिक परिवारमा जन्मिएकी हुनाले उसको राम्रो स्याहार हुन सकेन । आफैं आफ्नो स्याहार गर्न सिकी । त्यसमाथि प्रतिबन्धित अवस्थामा उनीहरूलाई धेरै दुःख थियो । उसले दुःख के हो सानैदेखि बुझ्न पाएकी थिई । त्यसमाथि उसले मुम्बईमा ठूलो संघर्ष गर्नुपर्‍यो । एउटी नेपाली चेलीलाई त्यहाँ स्थापित हुन कति गाह्रो भयो भन्ने कुरा सुन्दा हामीलाई कथा सुनेजस्तो अचम्म लाग्छ । ऊ धेरै माथि पनि पुगी र सबै किसिमका आरोप-प्रत्यारोप सहदै आई । ती सबैले उसलाई जीवन र मानिसको चरित्र बुझ्न सजिलो भयो । त्यसमाथि केही वर्ष यता उनले अध्यात्मसम्बन्धी ज्ञान हासिल गरेकी छिन् । सकेसम्म ध्यान गर्छिन् । यसले उनलाई मृत्युलाई पनि चिन्न सजिलो भयो । मानिसले जीवन बुझेपछि उसलाई मृत्यु जित्न पनि सजिलो हुने रहेछ ।

अमेरिकाजस्तो स्थानमा पाँच महिनादेखि महँगो उपचार र बसाइ कसरी धानिरहनुभएको छ ? कति खर्च लाग्यो ?

खर्च कति भयो भनेर मैले सोधेकी छैन । मेरो सहयोगको आवश्यकता भए पक्कै पनि कुरा भैहाल्थ्यो । उनी २० वर्षसम्म त्यत्रो ठूलो चलचित्र नगरीकी नायिका भएकी मानिस उनको उपचार खर्चमा त्यति समस्या हुन्छ भन्ने मलाई लाग्दैन । तैपनि ६-६ महिना अमेरिकाको महँगो क्यान्सर अस्पतालमा उपचार गर्दा समस्या त आइहाल्छ ।

व्यक्तिगत रूपमा तपाईं मनीषाको उपचारबाट सन्तुष्ट हुनुहुन्छ ?

म सार्‍है सन्तुष्ट छु । अमेरिकामा उपचार गर्ने तरिका साँच्चै आधुनिक एवं द्रुत छ । त्यहाँ मानिसको जीवनलाई ठूलो महत्व दिइन्छ । त्यसमाथि मनीषाको अप्रेसन गर्ने डा. डेनिस सी तथा अनकोलोजिस्ट बिकी म्यानरले दिलोज्यान दिएर उनको सेवा गरेका छन् । म्यानहटनको स्लोन्स क्याडारिङ क्यान्सर रिसर्च सेन्टरले क्यान्सरको उपचारमा पाएको प्रसिद्धिका कारण पनि म सन्तुष्ट छु । उनी पहिलो पटक अप्रेसन हुँदा १३ दिन अस्पताल बसेकी थिइन् । त्यही बेला नै ममा उनी निको हुन्छिन् भन्ने विश्वास पलाएको थियो ।

- मृदुला कोइराला,

मनीषाकी पारिवारिक सदस्य एवं महिला नेतृ

No comments:

Post a Comment