Total Pageviews

Monday, April 15, 2013

गुराँसको राजधानी तीजुरेमा पर्यटकको घुँईचो

gurasतीनजुरे (तेह्रथुम), वैशाख २ - नयाँ वर्ष ०७० को आगमनसँगै गुराँसको राजधानी तीनजुरे मिल्के जलजले ­(टिएमजे) क्षेत्रमा गुराँस पर्यटन सुरु भएको छ ।

आन्तरिक तथा वाह्य पर्यटक आवागमनका कारण यो क्षेत्रमा सातायता घुइचो बढेको छ । गुराँस फुलेर जंगलै राताम्मै भएको यो क्षेत्रको पर्यटकीय संभावना समेत बढेको छ ।
गुराँसका सौन्दर्यमा रमाउन र वनभोज खान आउनेहरुका कारण एक साता अघिदखि नै वसन्तपुर देखी गुफा बजारसम्मका साना ठूला होटल तथा लजहरु बुक भइसकेका छन् ।
'होटलका कुनै पनि कोठा खाली छैनन्' गुराँस जंगलबीचको संखुवासभा चौकी बजारमा रहेको लाली गुराँस होटलका संचालक उदय कुमार लोलले भने, 'अबको एक महिना होटलका कोठा खाली हुँदैनन् ।'

एकै स्थानमा पाईने धेरै प्रजातीका गुराँसको सौन्दर्यमा रमाउन भारतको बिहारदेखि दार्जीलिङ सम्मका गुराँसप्रेमीहरु यहा आईरहेका छन् । मौषम परिवर्तनका कारण गत वर्ष थोरै मात्र गुराँस फुलेका थिए । तर यो वर्ष डाँठ र पात नै नदेखीने गरी जंगलमा गुराँस फुलेका छन् ।
टिएमजे क्षेत्रमा एकै पटक २५ बढी प्रजातीका गुराँस फुलेर जंगलै राताम्मै भएपछि यहाँ आउने आन्तरिक तथा वाह्य पर्यटकको संख्या बढेको राष्ट्रिय लाली गुराँस संरक्षण व्यवस्थापन समितिका संयोजक लक्ष्मण तिवारीले बताए । 'अब यो क्षेत्रमा गुराँस पर्यटनको अर्को ढोका खुल्यो' उनले भने ।

यस क्षेत्रमा २८ प्रजातिका गुराँस पाईन्छन् । चैतको दोस्रो साताबाट वसन्तपुरदेखि मिल्के भञ्ज्याङसम्मका वनपाखाहरु रंगी विरंगी गुराँस फुलेर राताम्मै भएका छन् । गुराँसको फुल हेर्नकै लागि पूर्वी तराईदेखि साना सवारी साधनहरु रिजर्व गरेर वसन्तपुर हुँदै चौकी र गुफा बजारसम्म पुग्नेको संख्या दिनहुँ बढ्दो छ ।
गुराँस वनमा पर्यटक आगमनको संख्या देखेर स्थानीयवासी समेत हौसीएका छन् । पर्यटन विकास तथा प्रवद्धन समितिका अध्यक्ष गोविन्द ढुंगाना गुराँस वनको संरक्षण मात्र गर्न सकेपनि पूर्वको पर्यटन व्यवसाय फस्टाउने बताउँछन् ।
पर्यटकलाई देखाएर आम्दानी गर्न सकिने गुराँस संरक्षणमा सरकारले भने खासै चासो नदिएको उनले गुनासो गरे । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ्गको संगम स्थल यो क्षेत्र एकै प्रकारको हावापानी पाईने र जैविक विविधताको खानी समेत हो ।
गुराँसको सौन्दर्यमा रमाउन र नयाँ वर्ष गुराँसको जंगलमा मनाउन आउनेहरुका कारण वसन्तपुर, टुटे देउराली, पाँचपोखरी, चौकी, मंगलबारे, गुफापोखरी र मिल्के भञ्ज्याङका होटलहरु भरीभराउ छन् । आन्तरीक पर्यटकको बढ्दो चापका कारण होटलमा आएका वाह्य पर्यटकलाई वास बसाउन समस्या भएको गुफा बजारको मकालु होटलका संचालक हरी खनालले बताए । 'जंगलमा मात्र होईन हामीले शौचालयमा समेत गुराँस फुलाएका छौं' पर्यटक आगमनका कारण हौसीएका उनले भने ।
यस क्षेत्रमा सबै भन्दा अग्लो लाली गुराँसदेखि होचो प्रजातिको चिमलसम्म फुलेका छन् ।  पछिल्लो समयमा पूर्वी पहाडमा पर्यटक भित्र्याउने नयाँ माद्यामको रुपमा देखापरेको गुराँस फुलले आउँदा दिनमा यस क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक लोभ्याउन र उनीहरुको बसाई अवधी लम्ब्याउन ठूलो भूमिका खेल्न सक्ने पर्यटन व्यवसायीहरुको भनाई छ । 'अब यस क्षेत्रमा 'गुराँस पर्यटन' फस्टाउँछ' संयोजक तिवारीले भने ।

No comments:

Post a Comment