Total Pageviews

Monday, April 15, 2013

थ्याचर, विद्यार्थी र भूत

avhiअठासी वर्षको उमेरमा बेलायतकी भूपू प्रधानमन्त्री मार्गरेट थ्याचर भर्खरै दिवंगत भएका समाचार सबैतिर व्याप्त छन् । उनले १९९० मा शक्ति छोडेपछि अनेकौं परिवर्तन देखिन् । हेर्दाहेर्दै आजको आर्थिक मन्दीले आक्रान्त युगमा अमेरिकी राष्ट्रपतिहरूले जोन मेनार्ड किन्सको नीति फेरि प्रयोग गरे । किन्सले बीसौं शताब्दीको तीसको दसकमा आफ्नो सिद्धान्तको बारेमा फेबियन समाजवादी नाटककार बर्नार्ड शालाई पत्र लेखेर भनेका थिए, म भविताको प्रयोगको निम्ति एउटा किताब लेख्तैछु । पुँजीवादको सङ्कटभित्र फेरि राज्यको हात कति हुने भन्ने विषयमा बहस चले । आज फेरि माक्र्सले 'क्यापिटल'मा वर्णन गरेको श्रमिकको इतिहास निर्माण गर्ने शक्तिको प्रसङ्ग उठेको छ । पश्चिमी सिद्धान्तवादीहरू माक्र्सले नै प्रयोग गरेको भूत वा 'स्पेक्टर' शब्द चलाएर उनका विचारको प्रयोगका नयाँ व्याख्या गर्दैछन् । फ्रान्सेली जाक डेरिडाको नाम त्यसमा प्रमुख रूपले आउँछ । त्यस्तै अर्का फ्रान्सेली बोदिलार्दले पनि भूतको कुरा राखेका छन् । यी विषयहरूमा नेपालका युवा पुस्ताका लेखक र विचारकहरूले सभा-गोष्ठीहरूमा छलफल चलाइरहेका छन् । तर यो सबै परिप्रेक्ष्यमा थ्याचरसँग जोडिएका मेरा स्मृतिहरू आज जागरुक भएर आएको अनुभव गरेको छु । केही कुराहरू सरसर्ती सम्झनाको रूपमा राख्न चाहन्छु ।
त्यो दिन अलिक फरक थियो, स्कटल्यान्डको राजधानी एडिनबरामा । जून १९७९ को त्यो दिन घाम लागेको थियो । घाम लागेको खुसियालीमा एडिनबरा क्यासलको उता पि्रन्सेस स्टि्रटपट्टिको पाखोमा अनन्त मानिस जतिसक्दो अङ्ग घाममा देखाएर सुतेका थिए । त्यसमा युवायुवती धेरै थिए । मलाई बि्रटिस काउन्सिलले फोन गरेर बोलाएकोले उतातिर जान लागेको थिएँ । कुनै खबर दिनुछ भनेका थिए । म पहिलो वर्षको छात्रवृत्ति सकिन लागेकोले अर्को पोस्टग्य्राजुअट अध्ययननिम्ति छात्रवृत्ति पाइराख्नका लागि दर्खास्त दिन चाहन्थेँ । शैली विज्ञान, संरचनावादी सिद्धान्त, प्रायोगिक भाषाशास्त्र यिनै कुनै विषयमा वा यिनको कुनै साझा अध्ययनबाट पीएचडी गर्ने चाहना थियो मेरो । विश्वविद्यालय मुनिको लामो हरियो चउर हिँडेर बि्रटिस काउन्सिल पुगेँ । मेरो सम्पर्क-व्यक्ति मिस लाउडन नामकी एक सरल मानव थिइन् । तिनले विस्तारै कुरा गरिन् । सोधिन्- बि्रटेनमा सरकार परिवर्तन भएको त थाहै छ नि, छैन ? छ, थाहा छ, श्रीमती मार्गरेट थ्याचरको टोरी पार्टीले ठूलो बहुमतले जितेको छ । उनी प्रधानमन्त्री भएकी छन् । हो, त्यही कुरा गर्न लागेकी । उनको सरकारले फटाफट काम गर्न थालेको छ । पहिलो निर्णय विदेशी विद्यार्थीका सबै छात्रवृत्तिहरू बन्द गर्ने भएको छ । अब तिम्रो छात्रवृत्ति पनि बन्द हुन्छ । विस्तारै घरतिर फिर्ने टिकटको हामी व्यवस्था गर्छौं । मैले कुरा बुझिहालेँ । त्यसमा मैले भन्ने वा गुनासो गर्ने केही काम थिएन । परिवर्तन परिवर्तन नै हो । बि्रटेनमा परिवर्तन आएको थियो । हामीलाई त्यो मनपर्नु र नपर्नुको कुनै अर्थ थिएन । अर्को कोठाबाट म सँगैकी विदेशी विद्यार्थी सोमालियाकी बतुला रुँदै निस्किन् । मैले हाँसेर भने, यो तिमीले रुने विषय नै होइन । घर जाने तयारीको सूचना हो यो । भोलिपल्ट मलाई मिस लाउडनको फोन आयो । भेट्न गएँ । उनले भनिन्, तिम्रो विषयमा यस्तो निर्णय भएको छ । लौ, राम्रै छ । तिम्रो विश्वविद्यालयबाट तिमीलाई छात्रवृत्ति दिने अनुरोधपत्र लेखिमागेर अनुवादसहित पेस गर्नु । हामी अनि छात्रवृत्ति नरोकिने मिलाइदिन्छौं । म अत्यन्त खुसीले निस्केँ । त्रिभुवन विश्विद्यालयलाई लेखेँ । खासै विलम्ब नगरी उत्तर आयो । पहिले अनुवाद गर्नुपर्‍यो भनेर खोलेँ । त्यसमा मलाई छात्रवृत्ति नदिनु भनेर लेखिएको थियो । अनि मेरो विदाको अनुरोधमा लेखिएको थियो, तिमीले कतैबाट सहायता नपाएको प्रमाण पेस गरेमात्र विदा दिइनेछ । मैले आफूले काम गरेको संस्थाबाट त्यति अमानवीय पत्र आउला भन्ने सोचेको पनि थिइन । म अनुवाद लिएर गएँ । मिस लाउडन चुपचाप मतिर हेरिरहिन्, अनि भनिन्, मैले यति धेरै वर्ष यो संस्थामा काम गरेँ । तर यो पहिलोपटक कुनै संस्थाले आफ्नो विद्यार्थीलाई छात्रवृत्ति नदिनु भनेर लेखेको पत्र हो । मैले सोचेँ, साला गिनिज बुकमा पठाइदिए भएछ यो चिठी । पीडा, रिस र उपहासको एउटा अनौठो मिश्रति भाव बोकेर म एकाएक त्यो बिरानो भूमिमा विद्रोही भएँ । अर्को विभागमा भर्ना पाइसकेको हुनाले भिसा पाइसकेको थिएँ । अनेकौं दुःख झेलेरै भए पनि पढेर बसेँ । जाडो बढ्दै गएपछि खाना नपुगेर हिँड्दा विश्वविद्यालयको आँगनमा अर्धबेहोशीमा लडेँ । पछि एकजना कवि साथी हिलरी क्यासमन्की लन्डन निवासी आमाले फिस पुरा तिर्न नपुग्ने, दुःख गरेर चलाउनुपर्ने, छात्रावासको फिस तिरिदिने साधारण खर्च बेहोरिदिने भइन् । मेरो कोर्स पुरा नहुँदै ती महान महिला क्यान्सरले दिवंगत भइन् । त्यसपछि मलाई अक्सफोर्ड डिक्सनरी बनाउने हरन्बीले स्थापना गरेको छात्रवृत्ति कोशबाट केही मद्दत मिल्यो । यस्तै गरेर पढेँ । त्यो बि्रटेन देशमाथि उत्तरदेखि तल दक्षिणसम्म हिचहाइक गरेर हिडेँ । स्कटल्यान्डका टापुमा गएर खुला भूमिमा पर कहिल्यै अँध्यारो नहुने गर्मीयामको रातमा जुनेलीमा समुद्र, ससाना पहरा र रातो हेदर बिरुवाले ढाकेका अनन्त हाइल्यान्डका होचा र अग्ला पहाड हेरेर रातहरू बिताएँ ।
हप्तौं यसरी यात्रा गरेँ । सस्तो त्यही थियो । आफ्नो पढ्ने-लेख्ने कुरा सँगै लिएर हिडेँ । लेखक कविहरू अनि थियटरमा काम गर्ने मेरा मित्रहरू निकै थिए । कहिलेकाहीं तिनकोमा गएर खाना खाएँ । नाटक समूहसँग रातभरि बसेँ । गेलिक भाषाका वृद्ध कवि सोर्ली मक्लेनका कविता सुनेर भाषा नबुझे पनि उन्मादमा परेँ । तिनको घर भएको आरन टापुमा पनि पुगेँ । एडिनबरा फेस्टिबलमा कविता पढेँ । यो त मैले एउटा सरसर्ती लेखेको मात्र हो । संस्मरण लेखेर किताब बनाउने कुरा हो । मैले यसरी पढेको ज्ञान आजसम्म पनि विद्यार्थीहरूसँग बाँडिरहेको छु, अनि साहित्य र भाषाका प्रायोगिक प्रयोग गरिरहेको छु । सारांशमा भन्दा मलाई यो सबै कुरा आज सम्झिंदा मार्गरेट थ्याचरको आगमनको ऐतिहासिकीको क्षण उजागर हुन्छ । उनले मेरो छात्रवृत्ति काटिदिएकोमा कुनै गुनासो छैन । आफ्नो देशबाट, आफ्नो मातृ संस्थाबाट त त्यस्ता पत्र पाउने म मनुवाले अर्को देशमा कस्तो सरकार आउँछ, अनि त्यसले के गर्छ भनेर गुनासो गर्नुको के अर्थ हुन्छ र । आज राज्यले बिर्सेका बाहिर दुःख गर्ने नेपाली युवाको एउटा सानो रूपकमात्र हो, मेरो कथा । साथीहरूसँग दुःखसुख बसेका र गरेका यात्रा, कला अनुशीलन, अनेकौं विचारका छलफल, संगीत र नाटकका प्रस्तुतिहरूको सम्पूर्ण कलेवर नै मेरो शिक्षा भयो । मैले ती खुला र पर्खालभित्रका विश्वविद्यालयहरूमा जुन शिक्षा पाएँ, त्यसले अर्कै मानिस भएँ ।
मार्गरेट थ्याचरको देहावसान भएको खबरले खुलेको मेरो स्मृतिको रिलमात्र हो यो । तिनको नीतिले बि्रटेनको विशेष चरित्र भएको संरचनालाई सोझै प्रहार गर्‍यो । त्यसपछिको समयलाई थ्याचर युग भनियो । बि्रटेनहरूको एउटा दुःखै भए पनि प्रतिष्ठाले बस्ने, संस्कृति र कलालाई महत्त्व दिने, मनको संस्कृतिलाई प्रोत्साहन गर्ने संस्कार र चलनलाई थ्याचरले प्रहार गरिन् । उनलाई त्यो कुनै कुरामा चाख थिएन । पूर्ण रोजगारीको किन्सको सिद्धान्त अनि राज्यले सबै कुरा प्रदान गर्ने नीति र परिकल्पना अनि श्रमिकहरूको स्वतन्त्रता र तिनको राजनीति र अर्थनीतिमा प्रभाव, तिनका हडताल गर्ने पूर्ण स्वतन्त्रताजस्ता कुरामाथि तिनले प्रहार गरिन् । जोन ह्वेल्पटन र मैले अघिल्लो वर्षको क्रिसमसमा दक्षिणी बेलायतको यात्रा गर्दा लेबर पार्टीका जेम्स क्यालहन प्रधानमन्त्री थिए । श्रमिकहरूको भयानक लामो हडतालले अस्पतालमा लासहरूको थाक लागेको टिभीमा देख्यौं । थ्याचरको पालामा पनि ठूला हडताल भए, तर तिनले पटक्कै नहल्लिने नीति लिइन् । तिनका मित्र रेगनको पनि त्यही नीति थियो । मैले स्कटल्यान्डको आफ्नो प्रादेशिक संसद हुने कि नहुने भन्ने विषयको पहिलो 'डिभोल्युसन'को चुनाव देखेँ । पछि थ्याचर आएपछि मैले देखेका रोडेसिया वा जिम्बाब्वीको स्वतन्त्रताबारे लन्डनमा भएका सम्वादका विम्ब सम्झनामा आउँछन् । मुगाबी र जोसुवा एन्कोमो दुईजना नेतामा मुगाबीले थ्याचरलाई कडा भाषामा गाली गरेको टिभीमा देखियो । विस्तारै अमेरिकीहरूले देखेको म्युजियम, कला संग्रहालयजस्तो बि्रटेनको रूप अर्कै हुँदै गयो । रेगनले पनि थ्याचरकै नीति लिए । मानविकी विभागहरूका पैसा काटिए । मैले कवि हिलरीका केम्बि्रजका गुरु, प्राध्यापक र मलाई मनपरेका चिन्तक रेमन्ड विलियम्ससँग छोटो भेट गर्ने मौका
पाएँ । उनबाट थ्याचरको कडा आलोचना सुनेँ ।
तर आजको आर्थिक सङ्कटको युगमा आइपुग्दा पश्चिमी पुँजीवादी अर्थव्यवस्थाले अनुभव गरेका परिवर्तनहरू अकल्पनीय नभए पनि असाधारण छन् । आज पनि माक्र्सले उठाएका बजार, नाफा र श्रमका बहस त्यत्तिकै महत्त्वपूर्ण छन् । तर आज यी सबै बहसको पछिल्तिर मान्छेको महत्त्व र नैरन्तर्यलाई म साबला गाउँमा खस्ने बिहानको उज्यालोजस्तै देख्छु ।
 

No comments:

Post a Comment