खरिद समझदारीलाई अझ मूर्तरूप दिन निगमले एयरबसलाई प्रतिबद्धता रकम पठाएको हो।
'अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक दुईवटा जहाज किन्न प्रतिबद्धता रकमवापत् ५ लाख डलर पठायौं,' निगमका प्रवक्ता तथा कर्पोरेट डाइरेक्टर गणेशबहादुर चन्दले सोमबार नागरिकसँग भने, 'दुवै कम्पनीबीच प्रतिबद्धता रकम फिर्ता नहुने समझदारी छ।'
निगमले आफ्नै स्रोतबाट बैना पठाएको हो। निगम सञ्चालक समितिबाट अनुमति लिएर बैना पठाइएको हो। १ सय ५० सिट क्षमताका 'न्यारो बडी' जहाज भएकाले एउटालाई साढे २ लाख डलरका दरले हिमालयन बैंकमार्फत् बैना पठाइएको हो।
'प्रतिबद्धता रकम पठाएको एक महिनाभित्र दुवै कम्पनीबीच जहाज खरिद समझदारी हुन्छ,' चन्दले भने, 'त्यसपछि एयरबसले जहाजको मूल्य चुक्ता कुन प्रक्रिया र कसरी गर्ने हो, त्यसबारे सर्त राख्ने छ। हामी आशावादी छौं, अब जहाज आउँछ।' खरिद समझदारी गर्न एयरबसका उच्च अधिकारीहरू काठमाडौं आउने उनले बताए।
कर्मचारी सञ्चय कोषले वायुसेवा निगमलाई दुईवटा जहाज किन्न आवश्यक १५ करोड अमेरिकी डलर (१३ अर्ब ५ करोड रुपैयाँ) ऋण दिन शनिबार सहमति जनाएपछि निगम व्यवस्थापनले आइतबार एयरबसलाई बैना पठाएको हो।
निगमलाई जहाज किन्नका लागि ऋण लगानी गर्ने आशयपत्र सञ्चय कोषबाट आएपछि निगमलाई बैना पठाउने बाटो खुलेको थियो। निगमले तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलाई रकमका लागि सम्बद्ध निकायमा आग्रह गरिदिन पठाएको पत्र अर्थ मन्त्रालय पुगेको र आवश्यक ऋण दिन अर्थले सञ्चय कोषलाई निर्देशन दिएपछि कोष सञ्चालक समितिले यसमा सहमति जनाएको थियो।
निगमलाई जहाज किन्न आवश्यक १३ अर्ब रुपैयाँका लागि जमानी बसिदिन आफू तयार रहेको बेहोराको पत्र अर्थले यसअघि नै निगम व्यवस्थापनलाई पठाइसकेको छ।
सञ्चय कोषले निगमलाई आइतबार पठाएको आशयपत्रमा आगामी ६ महिनाभित्र दुवै संस्थाबीच ऋण सम्झौता भइसक्नुपर्ने सर्त उल्लेख छ। कोषले आशयपत्रमा कति ऋण दिने भन्ने केही नखुलाए पनि निगमलाई चाहिने रकम दिन सहमति जनाएको छ। आशयपत्रमा ऋणको ब्याज, चुक्ता प्रक्रिया र सेवाबारे केही पनि उल्लेख गरिएको छैन। यसबारे छलफल गरी ६ महिनाभित्र टुंगो लगाइसक्नुपर्छ।
निगमले एयरबससँग एकैपटक दुईवटा जहाज किन्न गत चैत २३ गते समझदारीपत्रमा हस्ताक्षर गरेको थियो। दुवै कम्पनीबीच करिब पाँच वर्ष (सन् २००८) अघिको आधारभूत मूल्यमा लागत मूल्य (इस्कालेसन) जोडेर त्यसैअनुसार जहाज लिने-दिने सहमति भएको छ।
नयाँ समझदारीपछि एयरबसले निगमलाई सन् २०१५ फेब्रुअरी (२०७१ फागुन) मा पहिलो जहाज आपूर्ति गर्ने मिति दिएको छ। त्यसको दुई महिनापछि दोस्रो जहाज दिनेछ।
खरिद-बिक्री समझदारी भए पनि दुवै कम्पनीले जहाजको कूल मूल्य भने सार्वजनिक गरेका छैनन्। उड्डयन विज्ञहरूका अनुसार ए३२०-२०० सिरिज जहाजको हालको आधार मूल्य (क्याटलग प्राइस) एउटाको ७ करोड ९० लाख अमेरिकी डलर (६ अर्ब ८७ करोड ३० लाख रुपैयाँ) छ। निगमले यो मूल्यमा घटाएर ४ करोड ९० लाख डलर (४ अर्ब २६ करोड ३० लाख रुपैयाँ) सम्ममा जहाज पाउन सक्छ।
No comments:
Post a Comment