Total Pageviews

Monday, April 15, 2013

प्रहरीको पेट घटाउन देशभर निरीक्षण

policeकाठमाडौ, वैशाख २ - अस्वाभाविक रूपमा पेट बढाएका प्रहरी अब छानबिनमा पर्ने भएका छन् । चुस्त र दुरुस्त देखिनुपर्ने भए पनि अस्वाभाविक मोटा प्रहरीलाई छानबिनको दायरामा ल्याउन प्रहरी मुख्यालयले तीन एसएसपी सुरेश केसी, घनानन्द भट्ट र रमेश पाण्डेलाई सोमबारदेखि देशभर निरीक्षणका लागि पठाउँदैछ ।
मातहतकालाई अनुशासनमा राख्न नसक्ने कार्यालय प्रमुख प्रहरी अधिकारीमाथि समेत कारबाही हुने मुख्यालयले जनाएको छ । शरीरको तौलसँगै सर्वसाधारणसँगको व्यवहार, बोलीचालीमा समेत सुधार गर्न भनेको छ । यस्तै ड्युटीमा बस्दा राम्रोसँग प्रहरी पोसाक लगाउनुपर्ने छ । नेपाल प्रहरीमा भर्ना हुँदा र यूएन मिसनमा परीक्षा दिँदाबाहेक अन्य बेला शारीरिक तन्दुरुस्तीका लागि कुनै जाँच हुँदैन । तालिम केन्द्रमा प्रशिक्षकका रूपमा गएकाहरूको भने महिनामा एकपल्ट तन्दुरुस्ती जाँच हुने गरेको छ ।
नेपाली सेनामा भने वर्षमा दुई पटक शारीरिक तन्दुरुस्ती परीक्षा हुने गर्छ । जेठ र मंसिरमा लिने उक्त टेस्टमा पुसअप, सिटअप र दौडनुपर्छ । उमेरअनुसार फरक-फरक दूरी राखेर दौडन लगाइन्छ । अनुत्तीर्ण हुनेले पुनः दोहोर्‍याएर टेस्ट दिनुपर्छ । सशस्त्र प्रहरीमा समेत सेनाको जस्तै व्यवस्था छ । दैनिक बिहान पिटी परेडसँगै गर्मी र जाडो महिनामा तन्दुरुस्ती परीक्षा लिने गरिन्छ ।
प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले मंसिर १५ गते नेपालगन्जको सुरक्षा सम्मेलनबाट र्फकंदा बाटोमा रहेका प्रहरी कार्यालयको निरीक्षण गर्दा प्रहरीको शरीर भद्दा देखेपछि पेट खटाउन आदेश दिएका थिए । यसपछि महानिरीक्षकको सचिवालयले त्यही बेला उपत्यका र पाँचवटै विकास क्षेत्रका प्रहरी कार्यालयलाई पत्राचार गर्दै भद्दा शरीर घटाउन लिखित निर्देशन दिएको थियो ।
तीन महिनाभित्र त्यसको रिपोर्ट पेस गर्नसमेत भनेको थियो । त्यसमा महानगरीय प्रहरी आयुक्तको कार्यालय, प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, विशेष प्रहरी कार्यदल र पाँचवटै विकास क्षेत्रले रिपोर्ट पठाएका छन् । रिपोर्टमा शारीरिक तन्दुरुस्तीका लागि बढी तौल भएका प्रहरी कर्मचारीलाई दैनिक पिटी परेड र योगासमेत गराइएको बताएका छन् । केन्द्रीय प्रहरी विद्यालयले बढी तौल भएका दुई प्रहरी नायब निरीक्षक, दुई प्रहरी सहायक निरीक्षक, ११ प्रहरी हवल्दार र आठ प्रहरी जवानको शरीरको तौल कम गराइएको रिपोर्ट मुख्यालयमा दिएका छन् ।
योगा त मुख्यालयले समेत एक सातासम्म चलाएको थियो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी केशव अधिकारीले योगा प्रहरी कर्मचारीलाई स्फुर्त राख्नका लागि गराइएको बताए ।

No comments:

Post a Comment