Total Pageviews

Wednesday, April 17, 2013

पश्चिमा देशलाई सिरियाका राष्ट्रपतिको चेतावनी

बैशाख ५ – सिरियाका राष्ट्रपति बसर अल असदले आफ्नो देशमा संघर्ष चर्काउन पश्चिमा देशको मूख्य भूमिका रहेको भन्दै त्यसवापत उनीहरुले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ ।
अमेरिका र युरोपले सिरियाको आन्तरिक द्वन्द्वमा अलकायदालाई सघाएको आरोप लगाउँदै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।
सिरियाको अल इख्बारिया टेलिभिजनसंगको अन्तवार्ताका क्रममा राष्ट्रपति असदले अफगानिस्तानमा अमेरिकाले इस्लामिक समूहलाई समर्थन गरेपछि तालिबान र अलकायदाको उदय भएको र त्यसको मूल्य अमेरिकाले नै चुकाउनुपरेको भन्दै अहिले सिरियामा त्यस्तै अवस्था सिर्जना भएको टिप्पणी गर्नुभयो ।
असदले आफ्नो जितको विकल्प नभएको भन्दै हार हुने अवस्था आए स्थिति भयावह हुने र सिरियाको अन्त्य हुने बताउनुभयो । अहिले देश युद्धको अवस्थामा रहेको भन्दै असदले कसैका अगाडि आत्मसमर्पण पनि नगर्ने र नझुक्ने दोहोर्‍याउनुभयो ।
असदले छिमेकी देश जोर्डनलाई सिरियाली विद्रोहीलाई सघाएको आरोप पनि लगाउनुभयो । यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले रासायनिक हतियार विज्ञको टोलीलाई सिरिया प्रवेश गर्न दिन आग्रह गर्नुभएको छ ।
सिरियाको आन्तरिक संघर्षका क्रममा एलेप्पो गाउँमा रासायनिक हतियारको प्रयोग भएको दावी सार्वजनिक भएपछि राष्ट्रसंघले विज्ञको टोली त्यसतर्फ पठाउने तयारी गरेपनि सिरिया सरकारले अनुमति दिएको छैन ।

No comments:

Post a Comment