लन्डन, वैशाख ४ -
लन्डनमा सञ्चालित एउटा निजी कलेजको लापरवाहीले थप अध्ययनका लागि भिसा थप्न
लागेका करिब तीन सय नेपाली विद्यार्थी अलपत्र परेका छन् । लन्डन स्कुल अफ
विजनेश एण्ड फाइनान्स (एलएसबीएफ) कलेजले ‘सिमा’ कोर्समा भर्ना गरे
ग्लाइन्डर विश्वविद्यालयको क्यास (कन्फर्मेसन अफ एसेप्टेन्स् फर स्टडिज)
दिलाइदिने लोभ देखाएर विद्यार्थी अलपत्र पारेको हो ।६ हजार ८ सय पाउण्डमा तीन वर्षको प्रोफेशनल कोर्स ‘सिमा’ पढ्न पाइने भन्दै उक्त कलेजले शुरुमा ५० प्रतिशत सम्म शुल्क लिएर धमाधम विद्यार्थी भर्ना गरे पनि अन्तिममा ग्लाइन्डरले अधिकांश आवेदन अस्वीकार गरिदिएपछि विद्यार्थी अलपत्र परेका हुन् । एकातिर पैसा गुम्ने चिन्ता, अर्कोतिर तत्काल कलेज खोज्न झण्झट र भिसा म्याद थप्ने समय कम भएकाले ति विद्यार्थी चिन्तित छन् ।
‘बीस घण्टा काम गर्ने अधिकार सहितको भिसा आउंछ भनेर तीन हजार पाउण्ड कलेजलाई बुझाएं, अहिले ग्लाइन्डर युनिभर्सिटीले भर्ना नै लिएन’, एक विद्यार्थी भूपेन्द्र कंडेलले गुनासो गरे, ‘भर्ना नहुने भएपछि शुरुमा तिरेको तीन हजार पाउण्ड फिर्ता देऊ भन्दा कलेज प्रशासनले ४५ दिन कुर्नु पर्छ भनेर टारिरहेको छ । अर्को कलेज खोज्न पनि पर्याप्त समय अभावले उनी चिन्तित छन् ।
एक हजार पाउण्ड बुझाएर उक्त कलेजमा भर्ना भएका सुनिल बस्नेतको क्यास लेटर कुर्दा कुर्दै नआएपछि भिसा म्याद गुज्रिने अन्तिम दिन उनी अर्को कलेज भर्ना हुन वाध्य भए । ‘हुन्छ हुन्छ भनेर लास्टमा धोका दियो’, बुधवार पैसा माग्न कलेज पुगेका उनले सुनाए, ‘मेरै सर्कलका करिब दश जना विद्यार्थी फंसेका छन् ।’ विद्यार्थीलाई स्पोन्सर गर्ने कलेज वा विश्वविद्यालयले क्यास लेटर जारी गरेपछिमात्र भिसा थपका लागि आवेदन सम्भव छ ।
विश्वविद्यालयमा एक वर्ष तिर्ने शुल्कले उक्त कलेजमा तीनवर्ष भरिको फि पुग्ने र विश्वविद्यालयको क्यास लेटर हुंदा बीस घण्टा काम गर्न पाइने लोभले विद्यार्थी त्यसतर्फ आकर्षित भएका थिए । कलेज प्रशासनले भने ग्लाइन्डरलाई दोष थोपर्दै विद्यार्थीले तिरेको फि ‘रिफण्ड’ गरिदिने तर यस प्रक्रिया पुरा गर्न ४५ दिन सम्म लाग्ने जनाएको छ । आक्रोशित नेपाली र बंगलादेशी विद्यार्थीहरुले मंगलबार र बुधवार प्रशासन घेर्दै आफूहरुलाई फंसाइए कानुनी बाटो रोज्ने चेतावनी दिएका छन् । कतिपय विद्यार्थीलाई कलेजले आफैं क्यास जारी गरिदिने बताएपनि विद्यार्थीले हाइली ट्रष्टेड कलेजबाट भिसा बढाएर काम गर्ने अधिकार नआउने हुंदा त्यो प्रस्ताव मानिरहेका छैनन् ।
‘युनिभर्सिटीको क्यास आउंछ भनेर विद्यार्थी तान्ने दाउ प्रशासनको रहेछ’, अर्का एक विद्यार्थी श्रीकृष्ण पाण्डेको आरोप थियो ।
एलएसबीएफ कलेजका रिप्रिजेन्टेटिभ शिशिर खड्काले कलेज र विश्वविद्यालयबीच आपसी समन्वय नहुंदा विद्यार्थी अलपत्र परेको जनाए । ‘शुरुमा कलेजले धमाधम डिपोजिट फि लिएर विद्यार्थी भर्ना गर्यो तर पछि ग्लाइन्डरले आवश्यक प्रोगे्रस र अंग्रेजी दक्षताको सर्टिफिकेट नभएको जनाउंदै अस्वीकार गरिदिंदा समस्या आएको हो’, खड्काले भने । खड्काले केही नेपाली एजेन्टहरुले आर्थिक लाभमा बिना प्रोग्रेस र अंग्रेजी कमजोर भएका विद्यार्थी समेत लगिदिंदा समस्या थपिएको दावी गरे ।
सोलिसिटर राजु थापाले कलेजले आर्थिक शोषण गरे क्वालिटी एसुरेन्स् एजेन्सी फर हायर एजुकेशन (क्यूएए), यूके बोर्डर एजेन्सी वा प्रहरीमै ‘फ्रड’ केसमा शिकायत गर्न सकिने सुझाव दिए । सन् २००३ मा स्थापित उक्त कलेजमा विश्वका एकसय ५० देशका हजारौं विद्यार्थी अध्ययनरत छन् ।
No comments:
Post a Comment