दोहा, वैशाख ११ -
कतार सरकारले कम्पनीबाट भागेर अन्यत्रै काम गर्दै आइरहेका कामदारलाई
पक्राउ गरी घर फर्काउने अभियान जारी राखेको छ । त्यसरी पक्राउ परी घर
फिर्ती केन्द्र (डिपोर्टटेसन सेन्टर) मा राखिएका नेपाली कामदार ४ सय २२ जना
पुगेका छन् । उनीहरूलाई प्रक्रिया पुर्याएर स्वदेश पठाउने कार्य भइरहेको सूचना प्राप्त भएको यहाँस्थित नेपाली राजदूत मायाकुमारी शर्माले बताइन् ।
दूतावासका अधिकारीहरू केन्द्र पुगेर ती कामदारलाई भेटिरहेको उनले बताइन् । चर्को लगानी गरेर कतार आएका कामदार म्यानपावरसँग श्रम सम्झौता गरेअनुसार काम र सेवासुविधा नपाएपछि भाग्ने गरेका छन् । 'तीन महिनासम्म काम गर्दा पनि कम्पनीले तलब दिएन । कति दिन सहनु भनेर भाग्न बाध्य भएँ,' दाङका श्याम गिरीले भने, 'अहिले गैरकानुनी हैसियतमा भएपछि झन समस्या परेको छ ।'
कोही त कम्पनीले मेडिकल, फिङ्गरिङ नगरी 'आईडी' समेत नबनाइदिएपछि गैरकानुनी हैसियतमा पुगेका छन् । 'हामी कम्पनीबाट भागेको होइन । हामीले आईडी बनाइदिन स्पोन्सरलाई भनिदिन भन्दै ८ महिनादेखि दूतावाससमेत पुग्यौँ । तर, सुनुवाइ भएन,' प्रहरी पक्राउमा परेका सल्यानका मित्रलाल दमाईले भने, 'अहिले उल्टै आफूले अपराध गरेको जस्तो भयो ।'
भागेर काम गरेका अधिकांश भने आफै आत्मसमर्पण गर्ने गरेका छन् । त्यस्ताहरूले जेल नबसी आवश्यक प्रक्रिया पूरा गरेर घर जान पाउने गरेका छन् । त्यस घर जान खोज्ने दैनिकजसो २० भन्दा बढी नेपाली निवेदन दिन आउने गरेको श्रम सहचारी इन्द्रदेव पाण्डेले बताए । 'भागेकाहरू यहाँ निवेदन दिन आउँछन् । त्यसलाई हामी भाषागत समस्या नहोस् भनेर सीआईडीमा बुझाउने पत्र बनाइदिने गरेको छ,' उनले भने, 'त्यो पत्र लिएर सीआईडी जाने गर्छन् ।'
टिकट अभावले घर फिर्न नसकेर लामो समयदेखि जेलमै रहेका ७ नेपाली कामदारलाई सफा मलले टिकट उपलब्ध गराएको छ । एउटा टिकट नेपाली व्यवसायी महेन्द्र चौलागाईले दिएका छन् । नेपाली दूतावासको अनुरोधमा पीडितलाई टिकट उपलब्ध गराएको सफाका अप्ररेसन म्यानेजर अहमद सहिद खानले बताए । सफाले टिकटहरू राजदुत मायाकुमा शर्मालाई हस्तान्तरण गरेको छ ।
'जेल परेका तर टिकटलगायत अभाबले फर्कन नपाएका १८ जना छन्,' राजदुत शर्माले भनिन, 'टिकट मात्रै अभाब भएका ८ जना छन् ।' टिकट पाउने पीडितमा पृथ्बीमान तामाङ, राजनारायण महरा, उमेशकुमार शाह, हरिदेव ठाकुर, महेश्वर गौतम, शम्भु मण्डल, ढकबहादुर खत्री र हर्कबहादुर पुलामी छन् ।
No comments:
Post a Comment