Total Pageviews

Monday, April 22, 2013

भिसाका कारण नेपाली क्रिकेट टोलीको बर्मुडा यात्रा अझै अनिश्चित

विनोद पाण्डे, काठमाडौं, वैशाख १० - तोकिएको समयमा भिसा नआएपछि यसै साता बर्मुडामा सुरु हुने विश्व क्रिकेट लिग डिभिजन ३ मा नेपालको यात्रा अनिश्चित बनेको छ। निर्धारित तालिकाअनुसार नेपाली टोली मंगलबार बर्मुडा उड्नुपर्ने भए पनि आज दिउँसो नयाँ दिल्लीसम्म मात्रै उड्दैछ।
दिल्ली पुगेर टोलीले त्यहाँस्थित हाइकमिसनमा भिसाबारे बुझ्नेछ। नेपाल क्रिकेट संघले भिसा किन जारी नभएको बारे बुझ्न आज बिहानै बसन्तराज सत्याल (अरुण) लाई नयाँ दिल्ली पठाइसकेको छ।
भिसा समयमै आइपुगेको भए एयर इन्डियाबाट दिउँसो दिल्ली हुँदै नेपाली टोली लन्डन पुग्ने कार्यक्रम थियो। ब्रिटिस एयरलायन्सबाट लन्डन ट्रान्जिट हुँदै बर्मुडा पुग्ने कार्यक्रम रहे पनि आज बिहानसम्म ट्रान्जिट भिसा नआएकाले नेपालको बर्मुडा यात्रा अनिश्चित बनेको हो।

नेपाल क्रिकेट संघ (क्यान) का महासचिव अशोकनाथ प्याकुर्यालले कप्तान पारस खड्काको बर्मुडा भिसा अझै नआइ पुगेको बताए। 'पारसको बर्मुडा भिसा प्रक्रियामा पठाइदिएका छौं भन्ने खबर आएको छ,' उनले भने, 'ज्ञानेन्द्र मल्ल र अर्का एक खेलाडीको ट्रान्जिट भिसा पनि आइपुगेको खबर छ।' बर्मुडाका लागि नेपाली टोलीले दिल्लीस्थित हाइ कमिशनमार्फत बेलायती भिसा नै आवेदन दिए पनि बाँकी टोलीको लन्डन ट्रान्जिटको बेलायती भिसा नै आएको छैन।

'हाम्रो हातमा केही छैन, त्यही पनि हामी मंगलबार बिहानसम्म कुर्छौं, ९-१० बजे सम्म हेर्छौं, त्यसपछि मात्र निर्णय लिने अवस्था छ,' प्याकुर्यालले समयमै भिसा आवेदन दिएको र पछिल्लो स्थितिबारे आइसिसीलाई जानकारी गराएको बताउँदै भने, 'मंगलबार नै नेपाली टोली जाने सम्भावना कम छ। एकदिन पर्खिनुपर्ने हुनसक्छ। त्योभन्दा बढी पनि समय लाग्न सक्छ।'

नेपालले अप्रिल २५ मा बर्मुडा-११ सँग अभ्यास खेल खेल्ने कार्यक्रम छ। सोमबार साँझसम्म भिसा नआएकाले उक्त अभ्यास खेल्नबाट नेपाली टोली वञ्चित हुने सम्भावना छ। नेपालले अप्रिल २८ मा अमेरिकासँग खेलेर डिभिजन ३ को यात्रा सुरु गर्ने तालिका छ। डिभिजन ३ एकदिवसीय विश्वकप छनोटको आधार पनि हो।
बर्मुडा जाने नेपाली टोलीमा पारससहित, उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल मण्डल, सुवास खकुरेल, शरद भेषावकर, प्रदीप ऐरी, शक्ति गौचन, पृथु बाँस्कोटा, वसन्त रेग्मी, विनोद भण्डारी, सञ्जम रेग्मी, अमृत भट्टराई, चन्द्र साउद, राहुल बिक छन्। त्यस्तै अफिसियलमा तारिणी विक्रम शाह (व्यवस्थापक), रमन सिवाकोटी (प्राविधिक विश्लेषक), पुबुदु दासानायके (प्रशिक्षक) र सुब्रमन्यम (फिजियो) छन्। नेपाली टोलीसँगै क्यान अध्यक्ष टंक आङबुहाङ पनि जाँदैछन्।
श्रीलंकन मूलका दासानायके क्यानाडेली र फिजियो मलेसियाली भएकाले उनीहरूले भिसा आवेदन दिएका छैनन्। उनीहरूले बेलायत र बर्मुडामा आगमन भिसा सोझै पाउने छन्। दासानायके, सुब्रमन्यम तथा भिसा पाएका दुई खेलाडीलाई मंगलबार तोकिएकै तालिकामा पठाउने पनि निर्णय अझै गर्न नसकिएको प्याकुर्यारलले बताए।
नेपाली राष्ट्रिय टोलीले यसअघि २००८ मा डिभिजन ५ खेल्न जर्सी जाँदा र २०११ मा विश्वकप यु-१९ छनोट खेल्न आयरल्यान्ड जाँदा बेलायती भिसामै गए पनि कुनै समस्या भोग्नुपरेको थिएन।

No comments:

Post a Comment