वीरगन्ज , वैशाख १२ -
आगलागीले घरबारविहीन बनेका धोरे ९ का अग्निपीडित अहिले फेरि लगातारको
झरीका कारण पिरोलिएका छन् । ३ दिनयता परेको पानीले ओत लाग्ने पाल भिझाएपछि
उनीहरू बिचल्लीमा परेका हुन् । 'पानी परेदेखि चिउरा, मिठा खाएर बसेका छौँ,'
स्थानीय प्रभु रामले भने, 'पानीले सबै भिजाएको छ ।' केही दिनयता रातको
समयमा चल्ने तीव्र गतिको हावासँगै पानी परेपछि उनीहरू बिचल्लीमा परेको बताए
।
'अर्को व्यवस्था नभएपछि रात बिताउन कठिन छ,' स्थानीय लक्ष्मी रामले भने,
'रात अनिदो बितेको छ ।' झुल नहुँदा रातभरि लामखुट्टेले सुत्न दिँदैन । खाना
पकाउन दाउरासमेत अभाव छ । एउटै पालमा परिवारका १० जना बस्ने बाध्यता छ ।
'हेर्दाहेर्दै घर र सम्पत्ति जल्यो,' स्थानीय असर्फी रामले भने, 'नयाँ जीवन
कसरी सुरु गर्ने चिन्ताले सताएको छ ।' खरानी भएका घरको भग्नावशेषमाथि पाल
टाँगेर बसेका छन् । पालभित्र राखिएका राहत सामग्री भिजेका छन् ।
अव्यस्थित बसोबास र फोहोरको उचित व्यस्थापन नहुँदा अग्निपीडित बालबालिकामा
झाडापखाला लागेको छ । बासी खाना, जथाभावी फालिएको फोहोर र दूषित पानीले
झाडापखाला प्रकोपकै रूपमा फैलिन सक्ने चिकित्सकले चेतावनी दिएका छन् । १
दर्जनभन्दा बढी बालबालिकामा झाडापखाला देखिएको छ । उपस्वास्थ्य चौकीमा जीवन
जल र आवश्यक औषधिको अभाव छ । जिल्ला जनस्वास्थ्य प्रमुख अरुण महतोले
चाहिने औषधिको तत्काल व्यवस्थापन गरिने बताए । 'हावाहुरीले खाने पानी र
खानेकुरामा फोहोर मिसाइदिने गरेको छ,' बलिराम यादवले भने ।
अग्निपीडितले भौतिक पूर्वाधारको माग गरेका छन् । 'कति दिन पाल टाँगेर
बस्ने,' स्थानीय हरि गिरीले भने, 'वर्षातमा बिजोग हुन्छ ।' गत चैत ३१ गते
भीषण आगलागीमा सय घर जलेर खरानी भए । झन्डै ५ सय मानिस पीडित बनेका छन् ।
No comments:
Post a Comment