तोरबाङ (प्यूठान), वैशाख ११ -
त्रेता युगमा श्रवणकुमारले दृष्टिविहीन बुवाआमालाई बोकेर तीर्थयात्रा
गराएका थिए । कलीयुगकी रेश्मा कम छैनन् उनीभन्दा । आठ वर्षदेखि ओछ्यान
परेका हजुरबा, हजुरआमा र बुवाको स्याहार गर्नेदेखि सिंगै परिवार धान्ने काम
उनी एक्लैले गर्दै आएकी छन् ।तोरबाङ-७ की रेश्माका ५२ वर्षीय बुवा नुमबहादुर, ९० वर्षीय हजुरबुवा नाइटे र ७० वर्षीया हजुरआमा लक्ष्मी आठ वर्षदेखि थला परेर ओछ्यानमा छन् । आर्थिक अभावका कारण उनीहरूको उपचार हुन सकेको छैन । भारतको दिल्लीमा नोकरी गर्न गएका बेला छतबाट खसेर बुवा नुमबहादुर अपांग भएका हुन् । उनको मेरुदण्ड भाँचिएको छ । हातखुट्टा चल्दैनन् । दिसापिसाब गरेको पत्तो पाउँदैनन् । खाना पनि अर्कैले खुवाउनुपर्ने अवस्था छ ।
बुढ्यौलीको सहारा छोरा थला परेपछि चिन्ताले बिरामी परेका रेश्माका हजुरबा नाइटे र हजुरआमा लक्ष्मीको पनि हालत उस्तै छ । उमेर ढल्कँदै गर्दा नाइटेले आँखा देख्न छाडेका छन् । कान पनि सुन्दैनन् । हिँडडुल गर्न सक्दैनन् । लक्ष्मी अर्काको कुरा बुझदनन्, एक्लै बर्बराइरहन्छिन् । छोराकै चिन्ताले सुक्दै गएकी छन् । दिसापिसाब ओछ्यानमै गर्छिन् ।
'उपचार गराउने पैसा नभएपछि छिमेकी दाजुभाइले घरमा ल्याएर पल्टाइदिए, मेरो चिन्ताले बूढा बुवाआमा पनि बिरामी परे,' नुमबहादुरले दुखेसो पोखे, 'घरमा तीनजना बिरामी र साना केटाकेटी स्याहार गर्न नसकेर श्रीमतीले छाडेर गई ।' ओछ्यानमै पल्टिरहनु परेकाले शरीरमा घाउ भएको देखाउँदै उनले दिनहुँ घाउ सफा गर्ने र दुखाइ कम गर्ने औषधि खाँदा आफूलाई मात्र महिनामा १०-१२ हजार खर्च लाग्ने गरेको बताए । 'बिरामी हुँदा सुरुमै उपचारका क्रममा ७० हजार रुपैयाँ सकियो, थप पैसा नभएकै कारण त्यतिबेला अप्रेसन हुन सकेन,' नुमबहादुरले भने, 'सम्पत्तिका नाममा तीन महिना खान पुग्ने पाखो बारीबाहेक अरू केही छैन ।'
साना दुई भाइ र एक बहिनीसहितको परिवारलाई घरखर्चका साथै बिरामी बुवा, हजुरबुवा, आमाको उपचार सबै २४ वर्षीया रेश्माकै जिम्मा छ । 'अर्काकामा काम गरेर खर्च जुटाएँ,' रेश्माले ती दिनहरू सम्झिइन्, 'आमाले छाडेपछि १६ वर्षकै उमेरमा ठूलो जिम्मेवारी आइपर्यो ।' रेश्माले यस वर्षदेखि भने गाविसमा सामाजिक परिचालकका रूपमा काम गरेर मासिक ७ हजार कमाउँछिन् । 'काममा जाँदा घरको चिन्ताले सताइरहन्छ,' उनले भनिन्, 'भाइबहिनी स्कुल र काममा जान्छन् । घरमा बिरामी सबै ढलिरहन्छन् । कतिबेला के हुन्छ भन्ने डर भइरहन्छ ।'
१० कक्षा पढ्दै गर्दा सुरु भएको संघर्षले रेश्मालाई बलियो भने बनाएको छ । केही संघसंस्था र व्यक्तिको सहयोगमा उनले पढाइलाई निरन्तरता दिइन् । अहिले स्नातक तेस्रो वर्षको परीक्षा दिएकी छन् । आर्थिक समस्याकै कारण भाइ भक्तबहादुरले ८ कक्षा पढ्दापढ्दै छाडेर मजदुरी गरी आफूलाई सघाउन थालेको उनले सुनाइन् । 'साना भाइबहिनीको भने पढाइ बिग्रन दिएकी छैन,' रेश्माले सुनाइन् ।
No comments:
Post a Comment