काठमाडौ, वैशाख १ -
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले चीन वा भारत 'कार्ड' प्रयोग गर्ने समय
गएको बताएका छन् । बरु दुवै देशबाट सहयोग लिएर मुलुकको विकास गर्नुपर्ने
उनको धारणा छ । चीन भ्रमणको पूर्वसन्ध्यामा शनिबार पार्टी केन्द्रीय कार्यालयमा उनले केही संवाददातासँग छिमेकीसँगको सम्बन्धमा नयाँ परम्परा थालनी गर्नुपर्ने बेला आएको बताए ।
'हामीले दुवै छिमेकीसँग नेपालको विकासका निम्ति समान ढंगले वातावरण बनाउने र उनीहरू दुवै मिलेर आऊन् भन्ने ढंगले सोच्यौं भने मात्र नेपालको विकास हुन्छ । अब चीनतिर वा भारततिर ढल्केर होइन । चीन र भारतको विकासबाट सिकेर, नेपालको राष्ट्रिय हितमा दुवैसँग राम्रो सम्बन्ध बनाएर, दुवैको सहयोग लिएर जानुपर्छ,' उनले भने, 'एकविरुद्ध अर्को कार्ड खेल्ने काम हिजो राजतन्त्रकालमा हुने गर्यो । त्यसका अवशेषहरू राजनीतिक दलमा पनि देखिने गरे । त्यो समय अब गयो ।
परिस्थिति विल्कुल नयाँ बनेको छ । नेपाली जनताको राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुवै छिमेकीबाट सहयोग जुटाउन सक्नुमा नै हाम्रो हित छ भनेर बुझ्नु जरुरी छ ।' चीनबाट फर्केपछि भारत भ्रमण निश्चित भइसकेको उनले जानकारी दिए ।
तेस्रो पटक चीन भ्रमणका क्रममा उनले राजनीतिकभन्दा आर्थिक मुद्दामा त्यहाँका नेतृत्वसँग छलफल केन्दि्रत गर्ने अवगत
गराए । नेपालको राजनीतिक संक्रमणकाल अन्त्य गर्न हुने सहयोगबारे कुराकानी भए पनि आर्थिक विकासमा जोड दिने उनको भनाइ थियो । 'मेरो भ्रमणको एजेन्डाको केन्द्रीकरण भने नेपालको आर्थिक विकासलाई कसरी सुनिश्चित गर्न सकिन्छ भन्नेमै हुन्छ,' उनले थप व्याख्या गरे, 'किनकि चीनले आफूलाई संसारको दोस्रो आर्थिक शक्तिका रूपमा स्थापित गरेको छ । हाम्रो छिमेकी हुनुको नाताले नेपालको आर्थिक विकासको प्रयासमा चीनको बढी सहयोग हुनुपर्छ ।'
पश्चित सेती, पोखरा विमानस्थल विस्तार, रेलवे लाइन, मध्य पहाडी राजमार्ग निर्माण, काठमाडौंमा मेट्रो रेलको सम्भावना आदिमा सहयोगका सम्भावना रहेको उनले औंल्याए । यस अर्थमा पुराना भ्रमणभन्दा मौलिक बनाउने प्रयास आफ्नो हुने दाबी गरे ।
'चीनका पार्टीका सबै नेताहरूसँग छलफल हुन्छ भन्ने मैले ठानेको छु,' उनले भने, 'अहिले सबै कार्यतालिका निश्चित भइसकेको छैन ।' उनले चीनको छेन्दुमा दक्षिण एसियासँग सम्बन्धित बुद्धिजीवीसँग अन्तक्रिर्या गर्ने जानकारी दिए ।
'त्यसपछि बेइजिङमा नेतृत्वसँग छलफल गर्ने कार्यक्रम छ,' उनले भने, 'अनि विशेष आर्थिक क्षेत्र सिन्जेङ अवलोकन गर्न जाने छु । नेपालले के सिक्न सक्छ भनेर स्थानीय नेतासँग छलफल हुनेछ ।'
उनले उच्चस्तरीय राजनीतिक समितिको संयोजकका हैसियतले सबै राजनीतिक दलको भावना चिनियाँ नेतृत्वसँग व्यक्त गर्ने जनाए । त्यसक्रममा निर्वाचनका लागि सहयोग जुटाउन पनि पहल हुने उनले बताए । 'हामी निर्वाचनको संघारमा छौं । छिमेकीहरूको चाहना यहाँ स्थिरता आओस्, विकास होस् भन्ने नै छ । त्यस अर्थमा यो भ्रमणको राजनीतिक औचित्य संविधानसभाको निर्वाचन गराउन सहयोग जुटाउने वातावरण बनाउनु पनि हो ।' भ्रमणमा दाहालका स्वकीय सचिव र एकजना अंगरक्षक रहने छन् ।
फर्केको १० दिनपछि भारत
दाहालले चीन भ्रमणबाट फर्केको १० दिनपछि भारत जाने जानकारी दिए । यसबारे भारतीय दूतावाससँग नियमित छलफल भइरहेको जानकारी दिए । 'अपि्रलको अन्तिममा हुन पनि सक्छ, मेको पहिलो हप्ता पनि हुन सक्छ', उनले भने । उनले दुवै भ्रमण आर्थिक विकास र राजनीतिक स्थिरतमा के-कस्ता सहयोग जुटाउन सकिन्छ भन्नेमा केन्दि्रत गर्ने बताए ।
उनले नेपालको विकासका लागि आफूले तीन देशबीच रणनीतिक समझदारी आवश्यक ठानेको बताए । 'भारतमा होस् या चीनमा, नेपालको राजनीतिक स्थिरता र आर्थिक वृद्धिका लागि विशाल छिमेकीसँग रणनीतिक साझेदारी गर्न आवश्यक छ भनेर म राख्छु नै,' उनको भनाइ थियो, 'तर कुरा राख्दैमा तत्काल पूरा भइहाल्छ भन्ने मनोगत ढंगले जानु हुँदैन । पक्का कुरा के हो भने भारत पनि, चीन पनि नेपालमा स्थिरता र नेपाली जनताको समृद्धिका लागि इच्छुक छन् ।'
चीन र भारतले नेपालमा संयुक्त लगानी गरी ठूला परियोजना बनाउने वातावरण आवश्यक भएको उनको भनाइ थियो । 'दुवै नेपालमा विकास आयोजनामा लगानी गर्न इच्छुक पनि छन् । त्यो वातावरण बनाउने कुरा मुख्य हो ।'
प्रकाशित मिति: २०७० वैशाख १ ०८:२७
No comments:
Post a Comment