Total Pageviews

Wednesday, April 17, 2013

घूस लिँदालिँदै भारतीय भन्सारका चार कर्मचारी गिरफ्तार

विराटनगर, चैत्र ११ - उद्योगी व्यवसायीबाट सामान छुटाएबापत अतिरिक्त रकम लिँदै गर्दा भारतको सेन्ट्रल ब्युरो अफ इनभेस्टिकेसन (सीबीआई) ले जोगबनी भन्सार कार्यालयका सहायक प्रमुखसहित चारजनालाई बिहीबार नियन्त्रणमा लिएपछि दुई दिनदेखि निकासी पैठारी ठप्प भएको छ । सीबीआईले जोगवनी भन्सार का कर्मचारीलाई दुई दिनसम्म कुनै पनि सामानको चाँचपास नगर्न निर्देशन दिएको छ भने गिरफ्तारीको विरोधमा कर्मचारी उत्रिएपछि निकासी पैठारी ठप्प भएको हो ।
भारतलगायत तेस्रो मुलुकबाट आयात भएको अढाई सय ट्रक जोगवनी भन्सार मा र यताबाट उता निकासीका लागि पठाइएका करिब सय ट्रक सामान विराटनगर भन्सार मा रोकिएको मोरङ व्यापार संघका अध्यक्ष अविनाश बोहोराले बताए । उनका अनुसार निकासी पैठारी ठप्प हुँदा व्यवसायी ट्रकको चर्को डेमरेज डिटेन्सन चार्ज तिर्नुपरेको छ । 'जोगवनी भन्सार का कर्मचारीलाई अतिरिक्त रकम नदिए सामान छुटाउनै सकिँदैन थियो,' बोहोराले भने, 'त्यस्ता कर्मचारी कारबाहीमा पर्दा रोकिएका ट्रकको डेमरेज डिटेन्सन चार्ज पनि तिर्नुपर्ने बाध्यताले व्यवसायी झन् पीडित भएका छन् ।' उनका अनुसार थप दुई दिन जोगवनी भन्सार मा रोकिएका औद्योगिक कच्चा पदार्थ आयात हुन नसके सुनसरी-मोरङ औद्योगिक क्ष्ाेत्रका अधिकांश उद्योगमा कच्चापदार्थ अभाव हुने स्थिति छ ।
पटनाबाट खटिएको सीबीआई टोलीले एक भारतीय व्यवसायीले रीत पुर्‍याएर नेपाल निकासी गरेको सामान छुटाएबापत ५० हजार रुपैयाँ घूस दिँदै गरेको अवस्थामा भन्सार कर्मचारीलाई गिरफ्तार गरिएको जोगवनी प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कष्टम सहकमिस्नार शिवशंकर कुमार, सुपि्रटेन्ड आदिश कुमार र इन्सपेक्टरद्वउ राकेश कुमार र कुलेश्वर पासवान छन् । उनीहरूलाई शुक्रबार सीबीआई पटना मुख्यालय लगिएको छ ।
कुनै पनि निकासी पैठारीकर्ताले जोगवनी भन्सार बाट सामान छुटाउँदा घूस नदिए कर्मचारीले सामानको जाँचपास नै नगर्ने र जाँच गरे पनि अतिरिक्त रकम नदिएसम्म नछाड्ने गरेको उल्लेख गर्दै दर्जनभन्दा बढी निकासी पैठारीकर्ताले उजुरी गरेका थिए । सीबीआईले बिहीबार अपराह्न ४ बजेदेखि राति ११ बजेसम्म जोगवनी भन्सार मा छापा पनि मारेको थियो । छापाका क्रममा अधिकांश निकासी पैठारीकर्ताको भन्सार प्रज्ञापनपत्रमा केरमेट गरी सामानको परिमाण थपघट गरी राजस्व असुली कार्यलाई समेत प्रभावित पारेको पाइएको स्रोतको भनाइ छ । स्रोतका अनुसार सीबीआई टोलीले पक्राउ परेका भन्सार प्रमुखसहित चारैजनाको क्वाटरमा पनि छापा मारेको थियो । यो घटनाबाट नेपाली आयात निर्यातकर्ता खुसी भएका छन् । एक आयातकर्ताका अनुसार भारतबाट पैठारी हुने जुनसुकै सामान बोकेका ट्रक र कन्टेनर जोगवनी भन्सार बाट छुटाउन न्यूनतम ५ देखि १० हजार रुपैयाँसम्म अतिरिक्त रकम अनिवार्य दिनुपर्ने बाध्यता थियो । उनले अतिरिक्त रकम लिँदालिँदै अधिकृतहरू पक्राउ परेपछि जोगवनी भन्सार का कर्मचारीको आचरणमा सुधार आउने र अबका दिनमा सामान छुटाउँदा अनावश्यक दुःख नपाउने वातावरण बन्ने आशा गरे ।

No comments:

Post a Comment