आज सुनको भाउ बढ्ने संकेत
विष्णु पोखरेल, काठमाडौं, वैशाख
४ - गत सातादेखि लगातार घटिरहेको सुनको भाउ आज बढ्ने संकेत देखिएको छ।
अन्तर्राष्ट्रिय बजारमा हिजो दिउँसोदेखि सुनको भाउ वृद्धि हुन थालेकाले आज
नेपाली बजारमा मूल्य बढ्न सक्छ।
नेपाली व्यवसायीले हिजो अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १ हजार ३
सय ६५ डलरको हाराहारी रहेका बेला भाउ तोकेका थिए। मंगलबार बिहान यो भाउ १
हजार ३ सय २७ डलरसम्म झरेर फेरि उकालो लागेको थियो। सोमबार सुन विश्लेषकले
मंगलबार प्रतिऔंस १ हजार ३ सय डलरमा सुनको भाउ सीमित हुने आँकलन गरेका थिए।
नेपाली व्यवसायीले बिहान ११ बजे सुनको भाउ तोक्ने गर्छन्। त्यसबेला
प्रतिऔंस १ हजार ३ सय २७ डलरबाट सुनको भाउ उकालो लागिसकेको थियो। यो भाउ
बढेर मंगलबार साँझसम्म प्रतिऔंस १ हजार ३ सय ९० डलरको हाराहारी पुगिसकेको
छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र एजेन्सीहरुले गत सातादेखि घटेको सुनको भाउलाई विगत ३० वर्षयताकै तीव्र मूल्य ह्रास भनेका छन्।
सुनको
भाउ औसत रुपमा कायम रहने गरेको थियो। तर, सन् २००१ देखि सुनको भाउ खासै
घटेको छैन। लगातार बढिरहेको सुनको भाउ एकै दिन प्रतिऔंस १ सय ४० डलरभन्दा
बढीले घट्नु अस्वाभाविक र अप्राकृतिक भएको एजेन्सीहरुको विश्लेषण छ।
सुनको भाउ बढ्नुमा हाललाई मुख्यतः तीन कारण लिइएको छ। साइप्रसले आर्थिक
संकटबाट पार पाउन करिब ४० करोड युरो बराबरको सुन बिक्री गर्न खोज्नु, चीनको
आर्थिक वृद्धिदर घट्नु र कमोडिटी बजारहरुले भाउ घट्ने प्रक्षेपण गर्दै सुन
धेरै बिक्री गर्नु। कतिपय विश्लेषकले भने साइप्रसले सुन बिक्री गर्ने
भएपछि कमोडिटी बजारमा खेल्नेहरुले सुनको भाउ घटाउन चलखेल गरेको समेत
विश्लेषण गरेका छन्।
अचानक भाउ घटेपछि सुन किन्नेको भिड
अचानक
स्वात्तै भाउ घटेपछि राजधानीसहित मुलुकका विभिन्न क्षेत्रमा सुन किन्नेको
भिड लाग्यो। मंगलबार पनि तोलाको ३ हजार मूल्य घटेकाले सुनपसलमा भिडमभिड
देखियो। महँगोमा किनेको सुन सस्तोमा बेच्न नचाहेरै धेरैजसो व्यापारीले पसलै
खोलेनन्। खोलेका कतिपयले पनि 'सुन छैन' भन्दै फर्काइदिए।
राजधानीसहित मुलुकका विभिन्न ठाउँका करिब ३० प्रतिशत
व्यापारीले मंगलबार पसल बन्द गरे। उपत्यकामा सुनपसल धेरै रहेको न्युरोड
क्षेत्रमा पनि केही पसल खुलेनन्।
गत सातादेखि अन्तर्राष्ट्रिय बजारमा
लगातार सुनको भाउ घटिरहेको छ। त्यसको प्रभाव स्वरुप नेपाली बजारमा सोमबार
एकै दिन तोलामा ३ हजार ३ सय र मंगलबार ३ हजार रुपैयाँ भाउ घटेको छ।
मंगलबार
नेपाली बजारमा सुन तोलाको ४९ हजार ५ सय रुपैयाँमा कारोबार भयो। नेपाल
सुनचाँदी व्यवसायी महासंघले भाउ तोके पनि करिब ३० प्रतिशत पसलेले सुन
बिक्री नगरी पसल बन्द गरेको जनाएको छ। 'सामान्य अवस्थामा पनि सुनको अभाव
छँदैछ,' महासंघका अध्यक्ष मणिरत्न शाक्यले भने, 'भाउ घटेका बेला माग अझै
बढेकाले सुनको चरम अभाव सिर्जना भएको हो।'
शाक्यले सुन स्टकमा राखेर
व्यवसायीले बिक्री नगरेको नभई अभाव भएर बाध्य भई पसल बन्द गर्नुपरेको बताए।
'अहिले अवैध रुपमा आएको सुनबाट माग पूरा भइरहेको छ,' उनले भने, 'भाउ
सस्तिएपछि यस्तो बाटोबाट आउने सुन रोकियो, यसले गर्दा सुन नपाइने अवस्था
आएको हो।' उनले राजधानीका करिब ३० प्रतिशत पसल सुन नभएरै बन्द भएको बताए।
यसैगरी काभ्रे बनेपाका पसलहरु बन्द गरेर व्यापारीले संघको शाखा कार्यालयमा
सुन अभाव टार्न माग गर्दै धर्नासमेत दिए।
उपभोक्ता अधिकारकर्मीले भने
सुनको अभाव भएर नभई व्यापारीले लुकाएर बिक्री नगरेको आरोप लगाएका छन्।
'बजार नीतिविपरीत भाउ बढेका बेला बिक्री नै नगरेर सुन व्यवसायीले
उपभोक्तालाई ठगी गरेका छन्,' उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति
बानियाँले भने, 'सरकारले तत्काल अनुगमन गरेर उनीहरुलाई कारबाही गर्नुपर्छ।'
सरकार अनुगमन गर्न तयार भए उपभोक्ताकर्मीले कुन व्यापारीले सुन कति
लुकाएको छ भन्ने जानकारी दिनसक्ने उनले बताए। 'हामी केन्द्रीय अनुगमन
समितिलाई तत्काल अनुगमन गर्न आग्रह गर्छौं,' उनले भने।
महासंघका
निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले भने सुन लुकाएर व्यापारीले कारोबार बन्द
नगरेको दाबी गरे। 'बजारमा सुनै नभएर पसल बन्द भएका हुन्,' उनले भने,
'केहीले लुकाएका हुन सक्छन्, त्यस्तालाई कारबाही गर्नुपर्छ।' शाक्यले
व्यवसायीहरुले केही संयमता अपनाएको भए पनि सुन नै बिक्री गर्न रोक्ने काम
भने नगर्ने दाबी गरे।
सुनको आयात बढेर व्यापारघाटा उच्च भएपछि तीन
वर्षअघिदेखि सरकारले आयातमा कडाइ गरेको छ। आयातमा कडाइ गर्दै दैनिक १५
किलोको कोटा निर्धारण गरिएपछि व्यापारीले सुन अभाव भएको बताउँदै आएका छन्।
आयात कम गर्न सरकारले व्यापारीबाहेक अरूलाई ढिक्केसुन कारोबार नगर्न
निर्देशन जारी गरेको छ। ढिक्के सुन मौज्दात राख्न उपभोक्ताले किन्न चाहे
पनि निर्देशनअनुसार किन्न नमिल्ने भएकाले व्यापारीले सुन नलुकाएको शाक्यको
दाबी छ।
No comments:
Post a Comment