Total Pageviews

Monday, April 15, 2013

गिठ्ठाको भर

हेटौंडा , वैशाख २ - पेट भर्ने अन्न छैन । टाउको लुकाउने छाप्रो छैन । आङ ढाक्ने कपडा छैन । यस्तै बिचल्लीमा छन् सोमलाल चेपाङको परिवार । राक्सिराङ ९, बमकिङका सोमलालको ११ जनाको परिवार २ सातादेखि गिठ्ठाको भरमा पेट भर्दै आएको छ । उनका २ वर्षदेखि १३ वर्षसम्मका ९ छोराछोरी छन् । छोराछोरीको पेट भर्न जंगलमा कन्दमुल खोज्न गएको अवस्थामा वनको डढेलोले भेटेर उनको समेत ३ घर जलेर खरानी भएका थिए ।
चैत २० गते दिउँसो सोमलाल, सन्तलाल र आशाबहादुरको घर जलेर खरानी भएको थियोे । घरमा भएका थोत्रा कपडा, भाँडालगायत सबै जलेर नष्ट भएका थिए । अहिले यी परिवार रेडक्रसले दिएको प्लास्टिकको त्रिपालमुनि बस्दै आएका छन् । खानेकुरा अभावले गर्दा जंगली कन्दमूल खाने गरेका छन् । 'कन्दमूल नै उनीहरूको पेट भर्ने आधार बनेको छ,' स्थानीय युवा रामशरण चेपाङले भने, 'आगो लागेर खरानी भएका घरपरिवार मात्र होइन, यस क्षेत्रका अधिकांश चेपाङ परिवारमा खाद्यान्न अभाव छ ।'
बमकिङका अग्निपीडितको अवस्था पनि सोमलालको भन्दा भिन्न छैन । 'खाद्यान्नको हिसाबले अग्निपीडित र अन्य चेपाङ परिवारको अवस्था उस्तै छ,' राक्सिराङ गाविसका पूर्वअध्यक्ष कृष्णबहादुर चेपाङले भने, 'मकवानपुरको अधिकांश चेपाङ बस्तीमा अनिकाल परेको छ, चेपाङको बाँच्ने मुख्य आधार जंगली कन्दमुल मात्र भएको छ ।' खैराङ, राक्सिराङ, काँकडा, भार्ता, कालिकाटार, डाँडाखर्कलगायत चेपाङ बाहुल्य बस्तीमा खाद्यान्न हाहाकार छ । गत वर्षको मौसमका कारणले मकै अत्यन्त कम उत्पादन भएको थियो ।

No comments:

Post a Comment