लन्डन (एजेन्सी), चैत्र २७ -
बेलायती पूर्व प्रधानमन्त्री मार्गरेट हिल्डा थेचर (बारोनेस थेचर) को
हृदयघातको कारणले सोमबार बिहान ८७ वर्षको उमेरमा निधन भएको छ । बेलायत र
संसारभरि फलामे महिलाको उपनामले परिचित उनले सन् १९७९ देखि १९९० सम्म
कन्जरभेटिभ पार्टीको सरकारको नेतृत्व गरिन् ।
यो गरिमामय पदमा पुग्ने उनी बेलायतकै पहिलो र एक मात्र महिला पनि थिइन् ।
उनको नीतिलाई 'थेचारिज्म' भनेर बुझिन्छ । क्वीन मदर र राजकुमारी डायनालाई
जस्तै सम्मानका साथ उनको अन्त्येष्टि गरिने सरकारले जनाएको छ । उनी सन्
१९५९ मा उत्तरी लन्डनको निर्वाचन क्षेत्रबाट हाउस अफ कमन्सका लागि
निर्वाचित भएकी थिइन् । उनी स्मरणशक्ति गुम्ने रोगबाट पीडित भएकीले निकै
लामो समयदेखि सार्वजनिक समारोहमा सहभागी भएकी थिइनन् ।
उनको पति डेभिसको २००३ मा निधन भएको थियो । सरकार तथा दल सञ्चालनमा निकै
दह्रो रूपमा प्रस्तुत हुने गरेकाले सञ्चार माध्यमहरूले उनलाई फलामे महिला
-आइरन लेडी) को संज्ञा पनि दिएका थिए । शिक्षामन्त्री हुँदा सन् १९७५ मा
पूर्वप्रधानमन्त्री एडवर्ड हिथलाई पार्टी नेतृत्वको मुद्दामा सफलताका साथ
चुनौती दिइन् । उनले त्यसपछि सन् १९७९, १९८३ र १९८७ मा आमनिर्वाचन जितिन् ।
थेचरले सन् १९९२ मा हाउस अफ कमन्सको सदस्यता छाडिन् । अमेरिकाका
राष्ट्रपति बाराक ओबामा, बेलायतकी महारानी एलिजावेथ द्वितीया, जर्मनकी
चान्सलर एन्जिला मर्केल, बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुन र भारतका
प्रधानमन्त्री मनमोहन सिंहले थेचरको मृत्युलाई अन्तर्राष्ट्रिय राजनीतिमा
अपूरणीय क्षति भन्दै शोक व्यक्त गरेका छन् ।
प्रकाशित मिति: २०६९ चैत्र २७ १०:४६
No comments:
Post a Comment