
काँकडभिट्टा, चैत्र २६ - छिमेकीको कुटाइबाट आमाको मृत्युपछि मेचीनगर ११ भान्सा खोलाका तीन किशोरी बिचल्ली मा परेका छन् । ३४ वर्षीया तारा पौडेलको मृत्युपछि छोरीहरू लक्ष्मी, पूजा र मेनुका बेसहारा बनेका हुन् । 'बुबाले पनि पहिल्यै छाडेर गए, आमा पनि खस्नुभयो,' जेठी छोरी लक्ष्मीले भनिन्, 'अब हामी कसरी बस्ने ।' तीनै जना स्थानीय काँकडभिट्टा उच्चमाविमा पढ्दैछन् ।
छिमेकी राजेश चौधरी र कालु वातर सरदारले मादक पदार्थ सेवन गरेर तारामाथि चैत ५ गते निर्घात कुटपिट गरेका थिए । मुटु, फोक्सो र टाउकोमा गम्भीर चोट लागेका कारण उनको चार दिनपछि मृत्यु भएको थियो । पतिले छाडेर गएपछि वैदेशिक रोजगारीका सिलसिलामा ६ वर्ष साउदी अरब बसेर तारा एक वर्षअघि मात्रै घर फिरेकी थिइन् । 'अब विदेश जान्न यतै इमल गर्छु भन्थी,' ताराकी आमा टीकादेवीले भनिन्, 'उसको सपना साकार हुन पाएन ।' विदेशबाट फर्केपछि उनी घुम्तीमा किराना पसल गरेर वृद्धा आमाबुबासहित तीन छोरीको पालन पोषण गर्दै आएकी थिइन् । 'सबै उसैले थामेको थियो,' टीकादेवी भक्कानिँदै भनिन्, 'अब हाम्रो पनि बिजोक हुने भो ।' ताराको हत्याका मुख्य अभियुक्त कालु वातर अझै फरार छन् । अभियुक्त पक्राउ गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन झापाका महिला अधिकारवादी संस्थाहरू दैनिकजसो विरोधमा उत्रिएका छन् ।
No comments:
Post a Comment