जगरनाथपुर पर्साकी स्थानीय कुन्ती देवी यादवको दिनचर्या र घरको वातावरण बिल्कुलै फेरिएको छ । टुकी बालेर मट्टीतेलको धूवाँले आँखा पोल्दै खाना पकाउने यादव अहिले सिएफएल बल्बको घामजस्तो सेतो उज्यालोमा एफएम सुन्दै खाना पकाउँछिन् । छोराछोरी बत्तीको उज्यालोमा गृहकार्य गर्न पाउँदा खुसीले दङ्ग छन् । मोबाइल चार्ज गर्न अब ५ किलोमिटर पर बीजबनियाँ गाउँ पुग्नु पर्दैन । घरमा छ महिनाअघिदेखि ल्याएर राखेको टेलिभिजन सेट अघिल्तिर बसेर परिवारका सबै सदस्य राति दिनभरिको थकान मार्दै मनोरञ्जन गर्छन् ।
कुन्तीको मात्र नभई उनको छिमेकका २ सय घरधुरीको दिनचर्या अहिले यसरी नै फेरिएको छ । बत्ती नपुगेको यो गाउँमा बत्ती बलेपछि यो खुसी भित्रिएको हो । गाउँमा खुसीको माध्यम बन्यो, स्थानीय महिलाकै अग्रसरतामा निर्माण भएको ग्यासिफायर प्लान्ट । धानको भुसबाट विद्युत् उत्पादन गर्ने मुलुककै पहिलो यो नमुना परियोजना केही महिनायता नियमित संचालनमा आएको छ । वैशाखको अन्तिम साता सफल परीक्षण गरिए पनि पैसा नहुँदा गाउँमा विद्युतीकरण गर्न नपाएर निराश भएका ग्यासिफायर व्यवस्थापन समितिका महिला पदाधिकारीको मुहार अहिले खुसीले उज्यालो भएको छ । ग्यासिफायर व्यवस्थापन समितिकी अध्यक्ष अमरावती देवी चौधरी यो परियोजना अरुणोदय युवा क्लब महुवनले उपलब्ध गराएको करिब साढे पाँच लाख रुपैयाँबाट संचालनमा आउन सकेको बताउँछिन् । हाल ग्यासिफायर प्लान्ट नजिक सेलर मिल चलाएर त्यहाँबाट निस्किएको भुसबाट आफूहरूले ग्यासिफायर उपकरण संचालन गरिरहेको उनले बताइन् । राज्यले आफूहरूलाई हालसम्म उपेक्षा गरेर गाउँमा बिजुली नदिए पनि गाउँलेहरूको प्रयास एवं गरिबी निवारण कोषको सहयोगबाट धानको भुसबाट बिजुली उत्पादन गरेर गाउँ उज्यालो भएको बताइन् । साना भुस विद्युत् सामुदायिक भौतिक पूर्वाधार उप-परियोजनाअन्तर्गत ग्यासिफायर नामक यो महात्वाकांक्षी परियोजना हाल सफलतापूर्वक संचालनमा छ । छिमेकी गाविसहरूमा लोडसेडिङ भए पनि यो गाउँमा कहिल्यै लोडसेडिङ हुँदैन ।
संस्थाकी कोषाध्यक्ष परमज्योति पासवानका अनुसार हाल दुई सय र त्यसपछि तारबार गरेर गाउँको ५ देखि ९ नम्बर वडाका करिब ६ सय घरधुरीले बल्बसँगै पंखा, मोबाइल चार्ज, टेलिभिजनसमेत चलाउन पाउनेछन् । ४० केभीए विद्युत् उत्पादन क्षमताको प्लान्टले साढे पाँच किलोमिटर आसपासका ६ सय घरधुरीलाई प्रत्यक्ष सेवा दिने क्षमता राख्छ । हाल समितिले सामुदायिक संस्थाका सदस्य घरमा प्रतिबल्ब मासिक ५० रुपैयाँ, संस्था सदस्यबाहेकको घरमा प्रतिबल्ब ६० रुपैयाँ, मिटर लिनेहरू संस्थाका सदस्य घरधुरीका लागि न्यूनतम शुल्क -१५ युनिटसम्म) मासिक १ सय ५० रुपैयाँ र संस्थाबाहेकका घरधुरीका लागि मासिक १ सय ७० रुपैयाँ, अन्य विद्युतीय उपकरण प्रयोग गर्दा सदस्य घरधुरीलाई प्रतियुनिट १० र सदस्यबाहेकका घरधुरीलाई प्रतियुनिट ११ रुपैयाँ शुल्क निर्धारण गरेको छ ।
गरिबी निवारण कोष, जिल्ला विकास समितिको सहयोग र अरुणोदय युवा क्लबको सहजीकरणमा यो परियोजना सुरु गरिएको हो । छिमेकी मुलुक भारतमा हाल गाउँगाउँमा लोकपि्रय भएको ग्यासिफायर हक्स पावर सिस्टमबाट बिजुली उत्पादन गर्ने होडबाजी चलेपछि यहाँका महिलाले पनि मुलुकमै पहिलो पटक यसरी बिजुली उत्पादन परियोजना भित्र्याएका हुन् । ग्यासिफायर निर्माणका लागि ग्यासिफायर व्यवस्थापन समिति पनि महिलाकै अध्यक्षतामा गठन गरिएको छ । गरिबी निवारण कोषका कार्य प्रबन्धक मनोज गुप्ताले नेपालमै पहिलो नमुना परियोजनाका रूपमा संचालित यो परियोजनाको कुल ५१ ल्ााख ४ हजार २ सय ७० रुपैयाँ लागत रहेकोमा स्थानीय महिलाले २ लाख ६ हजार ५ सय ७ रुपैयाँको श्रमदान गरेको बताए । प्लान्ट संचालनका लागि स्थानीय सहदेव यादवले दुई कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएका छन् । प्लान्ट संचालन गर्न प्रतिघन्टा ५० किलो धानको भुस आवश्यक हुने र यसको लागत १ सय ६० रुपैयाँ परेको उनले बताए । धानको भुसको अभाव भएको खण्डमा विकल्पका रूपमा घर छाउने खर पनि प्रयोग गर्न सकिन्छ । त्यसबाहेक ३० प्रतिशत धानको पराल हालेर पनि प्लान्ट संचालन गर्न सकिन्छ । तराईको प्रमुख अन्न बाली धान नै भएकाले यहाँ धानको भुस अभाव हुँदैन । उत्पादन भएको बिजुलीबाट समुदायले एक सेलर मिल चलाएर समितिले आम्दानीसमेत गर्न थालेको छ । मिलको भुस प्लान्टमै प्रयोग हुन्छ । भुसको खरानीबाट अगरबत्ती बनाउने योजना छ । यसबाट स्थानीय महिलाले घरमै रोजगारी पाउनेछन् । साना जलविद्युत् परियोजनाहरूको प्रतिकिलो वाट विद्युत् उत्पादन लागत ३ लाख रुपैयाँ रहेकोमा यो प्रविधिबाट विद्युत् उत्पादन लागत प्रतिकिलोवाट १ लाख १५ हजार रुपैयाँ मात्र भएको गुप्ताले बताए । भारतको नरकटियागंज, मझरियामा पुगी ग्यासिफायर प्लान्टको स्थलगत निरीक्षण गरेर फर्किएपछि यहाँका महिलाले पनि त्यसकै सिको गरेर गाउँलाई अन्धकारमुक्त गराएका हुन् । भारतीय मूलका वैज्ञानिक ग्यानेश पाण्डेले एक दशकअघि अमेरिकामा विकास गरेको यो प्रविधिबाट हाल भारतका पाँच दर्जनभन्दा बढी स्थानमा सफलतापूर्वक बिजुली उत्पादन भैरहेको छ । भारतको आगरामा यो प्रविधिको उपकरण उत्पादक उद्योग छ । ग्यासिफायर प्लान्टको स्थलगत निरीक्षण गर्न गएका गरिबी निवारण कोषका उपाध्यक्ष जनकराज जोशीले मुलुक ऊर्जा संकटबाट गुजि्ररहेको अवस्थामा यसरी वैकल्पिक ऊर्जाबाट बिजुली उत्पादन हुनु अत्यन्त उत्साहजनक भएको बताए । यो परियोजनाको सफलतासँगै यसलाई मुलुकका अन्य गाउँ, सहर र राजधानीमा पनि विस्तार गर्न सकिने सम्भाव्यता अध्ययनसमेत थालिएको उनले जानकारी दिए ।

No comments:
Post a Comment