Total Pageviews

Saturday, April 6, 2013

नयाँ नआउन्जेल जहाज भाडामा


काठमाडौं, चैत्र २५ - नेपाल वायुसेवा निगमले एयरबससँग किन्ने जहाज नआउँदासम्मका लागि यही कम्पनीकै ए ३-०-२०० मोडलको जहाज लिजिङ कम्पनीबाट भाडामा ल्याउने भएको छ ।
शुक्रबार एयरबस र निगमबीच जहाज किन्ने समझदारी भएलगत्तै व्यवस्थापनले भाडाको प्रस्ताव सञ्चालक समितिमा पेस गरेको छ । 'प्रस्ताव पास हुनासाथ भाडाका लागि बोलपत्र आह्वान गरिनेछ,' निगमका प्रवक्ता गणेशबहादुर चन्दले भने, 'निर्माता कम्पनीसँग नभई लिजिङ कम्पनीहरूमध्ये सस्तोमा दिनेबाट जहाज भाडामा ल्याइनेछ ।' लिजिङ कम्पनी (भाडामा लगाउने) कम्पनीबाट लिन निगमले छिट्टै प्रस्ताव आह्वान गर्नेछ । निगमले पर्यटनको मुख्य मौसम सुरु हुने बेला आगामी सेप्टेम्बरभित्र जहाज ल्याइसक्ने योजना बनाएको छ । 'अब वर्षा सुरु हुन्छ, यस्तोमा नयाँ आउने पर्यटक घट्ने भएकाले केही महिना पखिर्ने भएका हौं,' उनले भने । यसरी ल्याइने जहाजबाट मुख्य गरी चीन र भारतको केही गन्तव्यमा उडान गर्ने निगमको लक्ष्य छ । लामो दूरीमा उडान गर्दा सञ्चालन खर्च बढी लाग्ने भएकाले सानो दूरीका मुख्य बजारलाई लक्षित गरिएको हो । केही समययता चिनियाँ पर्यटकको संख्यामा देखिएको वृद्धिले पनि निगमलाई यसतर्फ आकषिर्त गरेको हो । पछिल्लो समय चीन नेपालका दोस्रो पर्यटकीय बजार बनेको छ । पहिलोमा भारत छ ।
२०१२ भरि ५३ हजार ३ सय चिनियाँ पर्यटक नेपाल आए । त्यस्तै यो वर्षको पहिलो ३ महिनामा अघिल्लो वर्षको यही अवधिको तुलनामा २२ प्रतिशत वृद्धिका साथ चिनियाँ पर्यटकको संख्या १७ हजार ३ सय नाघेको छ । निगमले भाडामा जहाज ल्याउन 'ड्राई लिज' लाई प्राथमिकतामा राखेको छ । यसरी भाडामा ल्याइएको जहाजमात्र लिजिङ कम्पनीको हुने र प्राविधिक तथा पाइलटहरू सबै निगमको हुनेछ । यसले गर्दा लिज सस्तो पर्ने चन्दले बताए । जबकि 'वेट लिज' मा प्राविधिक तथा पाइलटसहित जहाज पनि लिजिङ कम्पनीकै हुने भएकाले भाडाबापत ठूलो रकम खर्चिनुपर्ने हुन्छ । सञ्चालक समितिका अध्यक्ष तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरेले व्यवस्थापनले ल्याएको प्रस्तावलाई केही दिनमै पारित गर्ने बताए । 'भएको जहाजले निकै दुःख दिइरहेको छ,' उनले भने, 'दुईमध्ये एउटा बारम्बार बिगि्ररहँदा उडान गन्तव्य पनि घटिरहेको छ । त्यसैले किनेको जहाज नआउँदासम्म भाडामा ल्याउने प्रस्ताव ठीक हो ।'
त्यसमा पनि एयरबस नै ल्याउँदा पाइलट तथा प्राविधिकलाई जहाज सञ्चालन तथा अन्य विषयमा तालिम दिन पनि सजिलो हुने घिमिरेले बताए । हाल निगमले एउटा जहाजले ४ गन्तव्यमा उडान गरिरहेको छ । एउटा बोइङको इन्जिन बिगि्रएपछि चैत १८ देखि निगमले एउटै जहाजबाट उडान गर्न बाध्य भएको हो । जसले गर्दा उसको क्वालालम्पुरको ३ र हङकङको १ उडान कटौती भएको छ । फेरि यस्तो समस्याबाट निगम गुजि्रन नपरोस् भनेर लिजको योजना बनाइएको व्यवस्थापनको दाबी छ । 'धेरै जहाज हुँदा एउटाको सट्टा अर्को जहाजलाई तोकिएको उडान तालिकामा लान सकिन्छ,' घिमिरेले भने । त्यस्तै जहाज थपिएपछि निगमले उडान बन्द गरेको गन्तव्य दुबईमा पनि पुनः उडान सुरु गर्ने योजना बनाएको छ । शुक्रबार निगम र एयरबसबीच भएको समझदारी (एओयू) अनुसार नयाँ जहाजमध्ये एउटा २०१५ को फेब्रुअरी र अर्को अप्रिलमा आउनेछ । कम्पनीले निगमलाई २००८ कै आधारभूत मूल्यमा उत्पादन लागत वृद्धि (इस्केलेसन) मूल्य जोडेर जहाज दिने सहमति भएको छ । त्यतिबेला एउटा जहाजको आधारभूत मूल्य ४ करोड १० लाख डलर (३ अर्ब ६० करोड रुपैयाँ) तोकिएको थियो । तर यसबीच बढेको मूल्य भने निगमले खुलाएको छैन ।

No comments:

Post a Comment