Total Pageviews

Saturday, April 6, 2013

ड्रिमलाइनर विश्वभर ग्राउन्डेड


नयाँदिल्ली, (एजेन्सी), माघ ५ - अमेरिकी कम्पनी बोइङले उत्पादन गर्ने ७८७ डि्रमलाइनर जहाज विश्वका विभिन्न स्थानमा ग्राउन्डेड भएका छन् । उडानका क्रममा समस्या देखिएपछि अमेरिका, युरोपसँगै जापान र भारतले पनि केही समयका लागि नयाँ जहाजको उडानमा रोक लगाएका हुन् ।
हलुका, बढी सामान बोक्न सक्ने र कम इन्धन खपत गर्ने डि्रमलाइनरको ब्याट्रीमा समस्या देखिएपछि ठूला वायुसेवा कम्पनीले उडानलाई स्थगित गरेका छन् । भारतमा सरकारी स्वामित्वको एयर इन्डियासँग मात्र यो जहाज छ । जापानमा अल एयर निप्पोन र जापान एयरवेजले डि्रमलाइनर खरिद गरेका छन् ।
यूएस फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) ले बुधबार डि्रमलाइनमा भएका ब्याट्री सुरक्षित रहेको प्रतिबद्धता कम्पनीबाट नआएसम्म उडान स्थगित गर्न निर्देशन दिएको छ । एफएएले ब्याट्रीको उक्त समस्याबाट हुने सक्ने क्षतिबारे केही बोलेको छैन । अमेरिकामा युनाइटेड एयरलाइन्सले डि्रमलाइनर प्रयोग गर्छ । बिहीबार युरोपियन एभिएसन सेफ्टी एजेन्सीले पनि आफ्नो क्षेत्रमा डि्रमलाइनरलाई ग्राउन्डेड गर्न निर्देशन दिइसकेको छ । जापानमा डि्रमलाइनरले उडान भरेको केही मिनेटमै जहाजमा धूवाँ देखिएर गन्ध आउन थालेपछि आकस्मिक अवतरण गरिएको थियो । त्यसपछि अन्य मुलुकका डि्रमलाइनरमा पनि समस्या देखिएको हो ।
बोइङले करिब ८ सय ५० डि्रमलाइनर बिक्री गरेको छ । बिक्री मध्येको ५० वटा जहाज मात्र हस्तान्तरण भएका छन् । अन्य निर्माणको क्रममा छन् । आकाशमा देखिने डि्रमलाइनरमध्ये ५० प्रतिशत जापानमा छन् । यसका साथै भारत, दक्षिण अमेरिका, पोल्यान्ड, कतार, इथियोपिया र यूएईमा पनि यी जहाज खरिद भएका छन् । कम्पनीले २० करोड ७० लाख अमेरिकी डलरमा डि्रमलाइनरको बिक्री गरिरहेको छ । प्रतिस्पर्धाका कारण समस्यामा रहेको एयर इन्डियालाई भने डि्रमलाइनरको उडान रोकिएपछि केही समस्या हुने देखिन्छ ।

No comments:

Post a Comment