Total Pageviews

Saturday, April 6, 2013

कस्तो छ नेपाल बन्द ?


  • राजधानीमा साइकल चलाउनसमेत कडाई

काठमाडौं, चैत्र २५ - नेकपा-माओवादीसहित ३३ दलले आहृवान गरेको नेपाल बन्दले आज देशभरको जनजीवन प्रभावित भएको छ ।
काठमाडौंसहित देशभर यातायात ठप्प भएको छ भने शिक्षण संस्था, उद्योग, कलकारखाना, बजार र पसल खुलेका छैनन् । चोक चोकमा माओवादीसहित साना दलका कार्यकर्ता बाटो ढाकेर बसेका छन् । राजधानीमा बन्दकर्ताले साइकल चलाउनसमेत कडाई गरेका छन् ।
वर्तमान सरकार खारेज गरेर दलहरुकै नेतृत्वमा सहमतिको सरकार गठन गर्नुपर्नेलगायतका माग ती दलहरुको छ । उनीहरुले चार दलीय उच्चस्तरीय राजनीतिक समिति खारेज पनि सर्त बनाएका छन् ।
सरकारविरुद्ध आन्दोलित दलको आजको बन्द पहिलो चरणको अन्तिम कार्यक्रम हो । उनीहरुले १० दिने आन्दोलनको आज समाप्ती गर्दैछन् भने बैठक बसेर नयाँ आन्दोलन घोषणा गर्ने बताइरहेका छन् ।
पूर्वको जनजीवन प्रभावित
माधव घिमिरे
विराटनगर- नेकपा-माओवादीसहितका ३३ दलले आह्वान गरेको बन्दका कारण पूर्वको जनजीवन प्रभावित बनेको छ ।
पूर्वपश्चिम, मेची र कोसी राजमार्गका साथै भित्री सडकहरुमा पनि यातायातका साधन चलेका छैनन् । फाट्टफुट्ट रुपमा मोटरसाइकल चलेका छन् भने प्रेस, एम्बुलेन्स अनि दूध बोक्ने गाडी चलेका छन् ।
पूर्वक्षेत्रीय ट्राफिक प्रंहरी कार्यालयका अनुसार लामो तथा छोटो दूरीका यातायात साधन ठप्प भएका छन् । यातायात नचल्दा यात्रुहरु मर्कामा परेका छन् । जरुरी काम परेकाहरु रिक्सामा लामो दूरीको यात्रा गर्न बाध्य छन् ।
व्यापारिक केन्द्र र साना बजारहरु पनि बन्द रहेका छन् । सुनसरी-मोरङ औद्योगिक क्षेत्रका पाँच सयभन्दा बढी उद्योगहरु सञ्चालन भएका छैनन् । शिक्षण संस्थाहरुमा पठनपाठन ठप्प भएको छ । बन्दले मेची, कोसी र सगरमाथा अञ्चलका सबै जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ ।
यात्रुबाहक बस तोडफोड
मनोज बस्नेत
काभ्रे- बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले एक यात्रुबाहक बस तोडफोड गरेका छन ।
वीरगन्जबाट बनेपा आउँदै गरेको ना ४ ख २५२५ नम्बरको बस नेकपा-माओवादीका कार्यकर्ताले बनेपाकै चाँदनीचोक नजिकै तोडफोड गरेका हुन् । सवारी साधन नचल्दा बिपी र अरनिको राजमार्ग पूर्ण रुपमा ठप्प छन् ।
बन्दकर्ताले प्रेस, एम्बुलेन्स, पर्यटक बोकेका बस, तरकारी, पानी  र दुध बोकेका सवारी साधनहरुलाई निर्वाध रुपमा संचालन गर्न दिएका छन् ।
महोत्सवका कारण पश्चिम दाङ खुला
दुर्गालाल केसी
दाङ- पश्चिम दाङ भने खुला आज खुला छ । दाङको पुरन्धारा गाविस-२ हापुरेमा सञ्चालन भैरहेको 'हापुरे महोत्सव' लाई मध्यनजर गरी श्रीगाउा गाविसदेखि पश्चिमतर्फ बन्द नगरिएको नेकपा-माओवादीका जिल्ला सेक्रेटरी बलबहादुर ओली 'शितल' ले प्रेस बिज्ञप्तीमार्फत जानकारी दिए ।
तुलसीपुर-सुर्खेत सडकखण्ड कालोपत्रे र एम्बुलेन्स खरिदका लागि हापुरेमा पाँच दिनदेखि महोत्सव भैरहेको छ । जिल्लाका अन्य भागमा भने बन्दको पूर्ण प्रभाव परेको छ । तुलसीपुर, बिजौरी, नारायणपुर, घोराही, लमही, भालुबाङ लगाएतका मुख्य बजार बन्द भएका छन् । शिक्षण संस्था, उद्योग, कलकरकारखाना पनि बन्द छन् । जिल्लाभित्रका साथै पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङ खण्डमा यातायात सञ्चालन हुन सकेका छैनन् ।
पर्यटक गाडिलाई समेत रोक
कृष्ण थापा
रसुवा- बन्दको प्रभावन हिमाली जिल्ला रसुवामा पनि परेको छ । बन्दका कारण शैक्षिक संस्था खुलेका छैनन् भने पासाङ ल्हामु मार्गमा संचालित सवारी साधन ठप्प छन् ।  पर्यटक गाडिलाई समते नेकपा-माओवादीले अवरोध गरेको छ । निलो नम्बर प्लेटमा लाङटाङ आउने पर्यटक बाहेक गाडिलाई रोक लगाउने माओवादीले जनाएको छ । बन्दका कारण सदरमुकाम आवतजावत गर्ने सरकारी सेवा लिने सेवाग्राही समेत आएका छैनन् । लाङटाङ पदयात्रा सकिएर तल्लो क्षेत्र स्याफ्रुबेसी आइपुगेका पर्यटक समेत बन्दका कारण थप एक दिन यात्रा लम्ब्याउन बाध्य भएका छन् । सदरमुकाम धुन्चे, स्याफ्रुमा आंसिक रुपमा बजार खुलेका छन् भने तल्लो क्षेत्र कालिस्थान, घुम्ती, जिवजिवे र बेत्रावतीमा फटफुटमात्रै बजार खुलेका छन् ।

No comments:

Post a Comment