Total Pageviews

Monday, April 8, 2013

साँघुरिँदै विश्व

काठमाडौ, चैत्र २७ - पाल्पाका गाउँमा सामान्य स्वास्थ्य समस्या आए अत्तालिनुपर्ने अवस्था कम भएको छ । घरछेउमै स्वास्थ्यकर्मी नभेटिए पनि मोबाइलबाट सजिलै डक्टरसँग जोडिन पाउँदा समस्या सुल्झाउ सजिलो भएको छ । 'बेलाबेला पेट दुख्थ्यो,' पाल्पा गोठारीका कुल बहादुर गाहले भने, 'मोबाइलबाटै समस्या समाधान भयो ।'
निजी क्षेत्रको एक मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले काठमाडौंको महारागन्जस्थित टिचिङ अस्पतालसँग मिलेर दिएको सुविधाका कारण विभिन्न जिल्लाका २ सय ५० भन्दा बढी गाविसमा स्वास्थ्यका समस्या समाधान गर्न सजिलो भएको छ ।
काभ्रेको नासिकास्थान गविसको आसापुरीका किसान प्रेम लामा इन्टरनेटमा हेरेर विश्व बजारमा पाइने तरकारीको बीउ मगाउँछन् । उत्पादित तरकारीको बजार खोज्न पनि उनी अनलाइनकै प्रयोग गर्छन् । उनले उत्पादन गर्ने अर्गानिक तरकारीको बजार विदेशमै बढी छ । त्यता पठाउँदा उनको आम्दानी पनि उल्लेख्य हुन्छ । 'इन्टरनेटले मेरो जीवन परिवर्तन गरेको छ,' उनी भन्छन्, 'मैले कृषि पेसामा प्रविधिलाई जोड्न सकेको छु । प्रविधिमा जोड्न सक्ने मानिसले जुनसुकै पेसामा सफलता पाउन सक्छ । 
रामेछापको दुर्गम स्थलबाट राजधानीमा पढ्न बसेको छोरालाई आवश्यक खर्च उनका अभिभावकले मोबाइलबाटै पठाउन सक्छन् । वैदेशिक रोजगारीमा रहेकाहरूले मोबाइलबाटै दुर्गम गाउँमा रहेका आफन्तलाई रेमिट्यान्स पठाउन सक्छन् । एफवन सफ्टले विदेशको रेमिट्यान्स कम्पनीसँगको सहकार्यमा मोबाइलबाटै रेमिट्यान्स भित्राउँदै आएको कम्पनीका अध्यक्ष विश्वास ढकाल बताउँछन् । कम्पनीले सुरु गरेको फोन पे सेवामार्फत विभिन्न नौ वटा बैंकमा खाता भएका व्यक्तिहरूले एक अर्कालाई रकम पठाउन सक्ने उनले बताए । 'जेठदेखि हामी पूर्ण कारोबारमा जान्छौं,' उनले भने, 'त्यतिखेर हाम्रो नेटवर्कमा १५ भन्दा बढी बैंकका ग्राहक हुने छन् ।'
केही वर्षअघिसम्म मोबाइलमा फोन उठाउँदा समेत पैसा तिर्नुपर्ने अवस्था परिवर्तन भएर १ रुपैयाँमै फोन गर्न सकिने भएको छ । अनुहार हेरिहेरी कुरा गर्न, टेलिभिजन हेर्न र छिटो इन्टरनेट चलाउन सकिने थ्रीजी सेवाले सहरीवासीलाई नौलो अनुभव दिइरहेको छ । एनसेल र नेपाल टेलिकमका यस्ता सेवासहित अन्य दूरसञ्चार कम्पनीमार्फत पनि विदेश कुराकानी गर्न लाग्ने खर्च पनि बिस्तारै घट्दै गएको छ ।
यी केही उदाहरण मात्र हुन्, जसले सूचना प्रविधिको बढ्दो प्रयोगबाट समाजमा परिवर्तन आइरहेको देखाउँछ । पछिल्लो १० वर्षको मात्र प्रवृत्ति हेर्ने हो भने समाजका अधिकांश क्षेत्रमा यस्ता परिवर्तन भएका छन् । 'पछिल्लो १० वर्षमा सबैभन्दा ठूलो विकास भएको दूरसञ्चार क्षेत्रमा हो,' पूर्व वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश साह भन्छन्, 'करिब ६० प्रतिशतमा दूरसञ्चार सेवा पुगेपछि त्यसले समाजमा ठूलो परिवर्तन ल्याएको छ ।'
दूरसञ्चारसँगै अन्य क्षेत्रमा पनि उत्तिकै असर परेको आईसीटी एसोसिएसनका प्रथम उपाध्यक्ष भेषराज पौडेल बताउँछन् ।
'सूचना प्रविधिको बढ्दो प्रयोगले धेरै ठूला परिवर्तन ल्याइरहेको छ,' उनले भने, 'यसले नछोएको सायदै कुनै क्षेत्र होला ।'
अधिकांश बैंक वित्तीय संस्थाले जुनसुकै शाखाबाट कारोबार गर्न सक्ने व्यवस्था मिलाएका छन् । जुन कम्प्युटर र इन्टरनेट आएपछि सहज भएको हो । योसँगै पछिल्लो समय बैंकिङलाई मोबाइलमै अटाउने प्रयास सुरु भएको छ । त्यस्तै कार्यालयमा हुने कामको प्रवृत्ति पनि बिस्तारै परिवर्तन हुँदै छ । 'अफिसका काम कम्प्युटरमार्फत हुन थालेपछि चिठीको काम इमेल र एसएमएसले गर्न थालेको छ,' पौडेल भन्छन् ।
ठूलो परिवर्तन भने सामाजिक क्षेत्रमा देखिएको उनी बताउँछन् । 'घरबाटै पढाउने, समान बिक्री गर्ने जस्ता काम सजिलै हुन थालेका छन्,' उनी भन्छन, 'टोल, कार्यालय वा कलेज/विद्यालयका साथी हुन्थे, अहिले फेसबुक गएर हेर्ने हो भने कम्तीममा एक जनाका ५ सय साथी सर्कल हुन थालेको छ ।' साह पनि सामाजिक सञ्जालमा युवाको उपस्थितिबाट धेरै सकारात्मक सुधार आएको बताउँछन् ।
'पछिल्लो ५ वर्षदेखि मोबाइलमा जीपीआरएसमार्फत सामाजिक सञ्जालमा जोडिएका युवा र त्यसबाट उठेका मुद्दा एउटा परिवर्तनको संकेत हो,' साहले भने ।
विदेश घुमेर आएका व्यक्तिबाट छिर्न थालेको पश्चिमा संस्कृतिलाई पछिल्लो समय बढाउन पनि यही क्षेत्रले सहयोग गरेको छ । बजार बढ्दै गएपछि विश्वका अधिकांश ठूला ब्रान्डको उपस्थिति नेपालमा बाक्लिएको छ । विश्वका अन्य मुलुकसँग सँगै नयाँ मोबाइल, ल्यापटप, कम्प्युटर र अन्य उपकरण नेपाली बजारमा एकै पटक छिर्न थालेका छन् ।
आधा लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइलको बिक्री पनि हातहातै हुन थालेेको छ । ब्रान्डका लागि मरिहत्ते गर्नेको जमात पनि उत्तिकै बढेको छ । खरिद गर्न सक्ने क्षमता र इच्छा बिदेसिएर पैसा पठाउने नेपालीले बढाइदिएका छन् । अर्कोतर्फ प्रविधिको कारण गाउँगाउँ पुगेका एफएम रेडियोले पनि बजार विस्तारमा ठूलै टेवा पुर्‍याएका छन् । 'पछिल्ला वर्षमा एफएम रेडियोको कारण चेतनाको स्तर बढेको छ जुन परिवर्तन लामो समय हुन सकेको थिएन,' साहले भने ।
तर प्रयोग बढेपछि यो क्षेत्रका लागि मुलुकले कति खर्च गरिरहेको छ भन्ने यकिन तथ्यांक भने कसैसँग छैन । भारतमा वाषिर्क ४० अर्ब डलरको यो बजारबारे नेपालमा भने अनुमान गर्न पनि गाह्रो रहेको व्यवसायी बताउँछन् ।
'सरकारसँग यो क्षेत्रको धेरै जानकारी हुन सकेन,' आईसीटी मेलाका संयोजक सीएन उपाध्याय भन्छन्, 'ध्यान दिने हो भने यो क्षेत्रबाट ठूलो फाइदा पुग्ने देखिन्छ ।'
आईसीटी क्षेत्रका सामान आयात गर्दा भन्सारमा नचिन्ने समस्यादेखि मूल्यमा भइरहेको परिवर्तनका कारण व्यवसायीलाई ठूलै समस्या परेको छ । यस्ता सामानको आयात हुँदा स्पष्ट जानकारी नभएपछि हप्तौं भन्सारमै थन्किने समस्या हट्न सकेको छैन ।





 

No comments:

Post a Comment