काठमाडौ, चैत्र २६ -
प्रतिबन्धित मुलुक इराकमा काम गर्न पुगेकी धादिङ तिप्लिङ-६ की सुमिता तामाङको बग्दाद नजिकै एक इराकी मालिकको घरमा हत्या भएको छ ।
बग्दाद नजिकै जादि्रयामा एक इराकीको घरमा काम गर्ने सुमितालाई मार्च २८
(चैत १५) को बिहान ६ बजे भान्सामा काम गरिरहेका बेला घर मालिकका 'मानसिक
सन्तुलन ठीक नभएका' छोराले छुरा प्रहार गरी हत्या गरेको स्थानीय व्यवसायी
ध्रुब कुँवरले बताएका छन् ।
शवलाई हाल स्थानीय अस्पतालमा राखिएको छ । 'सुमिताले काम गर्ने घर नजिकै
घरेलु कामदार रहेकी ठूलोबाकी छोरीले मलाई यो घटना जानकारी गराएकी हुन्,'
कुँवरले फोनमा भने । इराकी घर मालिकसँग सम्पर्क गर्ने र उक्त अस्पताल भ्रमण
गर्ने योजना रहेको उनले सुनाए । २३ वर्षीया सुमिताको बुबाआमाको नाम दुर्गा
र सुष्मा तामाङ रहेकाले सोही आधारमा धादिङस्थित घरको पहिचान गरेर शव
फर्काउने कूटनीतिक प्रयासका लागि इस्लामाबादस्थित नियोगलाई जानकारी गराइएको
छ ।
घटनाको पुष्टि गर्दै गैरआवासीय नेपाली संघ इराकका अध्यक्ष लालकाजी गुरुङले
दुई वर्षको काम गर्ने सम्झौता सकिएपछि २३ वर्षीया सुमिताले हालै
जादि्रयास्थित नयाँ घरमा काम थालेको बताए । 'म कुर्दिस्तानमा रहेकाले
बग्दादमा रहेका नेपालीमार्फत मृतक युवतीबारे थप बुझ्ने प्रयत्नमा छु,' उनले
भने । इराकमा हाल ३० हजारभन्दा बढी नेपाली रहेकामा पाँच हजार जति महिला
छन् । इराकभित्र पनि स्वतन्त्र राज्यझैं रहेको कुर्दिस्तान, अरबिल र
सुलेमानिया आसपासमा अधिकांश नेपाली युवती कार्यरत रहेको उनले बताए ।
अढाई वर्षअघि अमेरिकी सेनाको कन्ट्रोल कमान्डले इराकमा कार्यरत गैरकानुनी
कामदारलाई २० दिनभित्र इराक छाड्न आदेश दिएपछि नेपाल सरकारले मन्त्रीस्तरमा
निर्णय गरेर २०६७ साउन १२ मा इराकमाथिको 'प्रतिबन्ध फुकुवा' गरेको थियो ।
तर कागजी अर्थमा मात्रै रहेको यो फुकुवापछि अहिलेसम्म कुनै नेपाली अध्ययन
टोली बग्दाद जान सकेको छैन । इराक मामला हेर्ने इस्लामाबादस्थित राजदूतले
समेत बग्दाद गएर आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउन सकेका छैनन् ।
'यहाँ हजारौं नेपालीको पासपोर्टको म्याद सकिएको छ, हामीले इस्लामाबाद
नियोगलाई नवीकरण गरिदिन आग्रह गरिरहेका छौं, नजिकको साउदी अरेबिया
दूतावासले पनि कुनै सहयोग गर्न सकेको छैन,' गुरुङले भने ।
इराकमा पछिल्लो पटक हत्या गरिएकी युवतीसहित अरू दुई कामदारको शव अस्पतालमा
रहेकाले त्यसलाई घर फिर्ता गराउनै पनि कूटनीतिक पहल जुटाउन मुस्किल
परिरहेको उनले बताए ।

No comments:
Post a Comment