तिग्मांशु धुलियाद्वारा निर्देशित फिल्म 'पान सिंह तोमर'ले भारतको ६० औं नेसनल फिल्म अवार्ड जितेको छ। सोमबार घोषणा भएको नतिजाअनुसार यसै फिल्मका इरफान खानले मराठी फिल्म 'अनुमति'का विक्रम गोखलेसँग संयुक्त रुपमा उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्।
उत्कृष्ट अभिनेत्रीको अवार्ड मराठी फिल्म 'धाग'की उषा जाधवले जितिन्। यही फिल्मका शिवजी लोटन पाटिल उत्कृष्ट निर्देशक घोषित भएका छन्। वेदव्रत पैनद्वारा निर्देशित हिन्दी फिल्म 'चित्तागोंग' र सिद्धार्थ शिवको मलयालम फिल्म '१०१ चोडियांगल'लाई संयुक्त रुपमा इन्दिरा गान्धी उत्कृष्ट पहिलो फिल्मको अवार्ड दिइएको छ।
सुरजीत सरकारद्वारा निर्देशित 'विक्की डोनर' र अनवर रसिदको मलयालम फिल्म 'उस्ताद होटल'ले उत्कृष्ट लोकप्रिय फिल्म आपसमा बाँडेका छन्। 'विक्की डोनर'का अनु कपुर र डोली अलुवालियाले उत्कृष्ट सहअभिनेता तथा सहअभिनेत्रीको अवार्ड हात पारेका छन्। मलयालम फिल्म 'थानिचल्ला जान'की कल्पनाले पनि सहअभिनेत्रीको अवार्ड पाएकी छन्।
फिल्म 'कहानी'का लागि सुजय घोषले मौलिक पटकथा र 'ओ माई गड'का भावेश मन्डालिया र उमेश शुक्लाले एडप्टेड पटकथाको अवार्ड जितेका छन्। 'कहानी'की नम्रता रावलाई सम्पादनको अवार्ड प्रदान गरिएको छ।
कमल हसनको 'विश्वरुपम'ले उत्कृष्ट प्रोडक्सन डिजाइन र नृत्य निर्देशन (पण्डित बिर्जु महाराज)मा नेसनल अवार्ड पाएको छ। वासु चटर्जीको नेतृत्वमा रहेको फिल्म निर्णायक समितिले बंगाली फिल्म 'चित्रांगदा'की अभिनेत्री रितुपार्नो घोष र पाँचवटा फिल्मबाट अभिनेता नवाजुद्दिन सिद्दिकीलाई स्पेसल जुरी अवार्ड दिएको छ।
No comments:
Post a Comment