हाल नेपाल सरकारबाट संस्थागत रूपमा वैदेशिक रोजगारीका लागि करिब ४२ वटा देश खुल्ला गरिएको छ । यसै सन्दर्भमा रोजगारीको खोजीमा नेपालबाट बर्सेनि हजारौं महिला विभिन्न मुलुक पुग्ने गरेका छन् । त्यसमा पनि खाडी मुलुक जाने नेपाली दिदीबहिनीहरूको संख्या धेरै छ । रोजागारीको सिलसिलामा विदेश जाने नेपाली महिलाहरूका समस्या र वेदना भनिसाध्य छैनन् । पहिलो कुरा त उनीहरू विदेश जाने क्रममा स्वदेशमै विभिन्न दलालमार्फत ठगिइसकेका हुन्छन् । विदेश जाँदा पनि बाटोमै ठगिएर दुःख पाउनुपर्छ । चाहिने भन्दा बढी पैसा र कमिसन दिएर विदेश पुगिसकेपछि पनि उनीहरूले भनेजस्तो काम पाउँदैनन् । प्रायः यहाँका महिलाहरू घरेलु कामदारकै रूपमा खरिद गरिन्छन् ।
त्यसमाथि पनि कतिपयले विभिन्न शारीरिक तथा मानसिक शोषण सहनुपर्ने हुन्छ । उनीहरूले पहिले सर्त गरेअनुरूप तलब तथा सुविधा पाउनु त कहाँ हो कहाँ उल्टै काम गरेको थोरै पैसाका लागि महिनौं पर्खिनुपर्ने बाध्यता सुनिन्छ । खाडी मुलुक प्रवेशमा नेपाली महिलाहरूलाई नेपाल सरकारले रोक लगाए पनि नेपाली महिलाहरू निजी प्रयासमा भारत हुँदै साउदी अरबलगायत अन्य खाडी मुलुक पुग्छन् । काम गर्ने कम्पनी वा घरको साहूबाट पाउने मानसिक यातना र यौन शोषण बारम्बार सुनिने घटना हुन् । दलालको सहयोगमा राहदानी बनाएर वा अरूको राहदानी प्रयोग गरेर भारतीय एजेन्टमार्फत खाडी पुगेका सयौं नेपाली महिला दूतावासको शरणमा बस्नुपरेको छ । साउदी अरबमा धेरै नेपाली गैरकानुनी रूपमा कार्यरत छन् ।
वैदेशिक रोजगारीको आकारमा धेरै वृद्धि भए पनि यसको व्यवस्थापन सही रूपमा हुन सकिरहेको छैन । कूटनीतिक नियोगहरू पर्याप्त छैनन् । सबै गन्तव्यमा नेपाली दूतावास नहुँदा पनि अनेकौं समस्या सिर्जना भएका छन् । नेपाल सरकारले सुरक्षित वैदेशिक रोजगारीका लागि द्विपक्षीय श्रम सम्झौतालाई ध्यान दिँदै आएको भए पनि यसमा सरलता र सहजता भने आउन सकेको देखिँदैन ।
रोजगारीका क्रममा विदेश जाने धेरैजसो महिला श्रीमान् वा परिवारबाट अपहेलित, अशिक्षित, बहिष्कारमा परेका, श्रीमान् गुमाएका आदि छन् । त्यस्ता महिलाहरूलाई कानुनी प्रक्रिया तथा प्रावधानहरूका बारेमा थाहै नहुने भएकाले उनीहरूलाई एजेन्टहरूले सजिलै ठग्छन् । ठगीमा परिसकेपछि पनि कानुनी उपचार खोज्न उनीहरू असफल प्रायः देखिन्छन् । यसका लागि अन्य दोस्रो वा तेस्रो पक्षको सहायता खोज्नुपर्ने भएकाले उनीहरू त्यसै रुमलिएर बसेका हुन्छन् । यसरी रोजगारीले गर्दा सम्पूर्ण जीवन नै अन्धकारमय भएका उदाहरण धेरै छन् ।
वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन माथिल्लो निकायबाट पहल थालिनुपर्छ । रोजगारी र सेवा-सर्तका बारेमा ग्यारेन्टी भएपछि मात्र उनीहरूलाई वैदेशिक रोजगारीमा पठाउनु उत्तम हुन्छ । विदेश गैसकेपछि पनि उनीहरूको अवस्था, दुःख एवं पीडालाई नियमित रूपमा बुझिदिने व्यवस्था हुनुपर्छ । हाल कति नेपाली महिला विदेशी मुलुकमा कार्यरत छन् र उनीहरूको अवस्था कस्तो छ आधिकारिक तथ्यांक राज्यसँग पनि छैन । एकातिर आवश्यक ऐन, कानुन बन्न नसक्नु र अर्कातिर भएका कानुनको पनि कार्यान्वयन नहुनुले थप समस्या सिर्जना भएका छन् । अतः सरकारले वैदेशिक रोजगारीको प्रक्रियालाई सरल र सहज बनाइदिनुपर्छ ।
रोजगारीका क्रममा विदेश जाने नेपाली दिदीबहिनीहरूलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्नु सबैभन्दा राम्रो उपाय हो । यसका लागि राज्यले नै गम्भीर भएर सोच्नुपर्छ । महिलाहरूको अवस्थामा सुधार आउन नसक्नुमा महिला र पुरुषलाई समान शिक्षा प्रदान गर्न नसक्नु एउटा प्रमुख कारक तत्व मान्न सकिन्छ । त्यसैगरी अशिक्षित वा अर्धशिक्षित महिला दिदीबहिनीहरूका लागि सीपमूलक तालिम तथा ज्ञान अभिवृद्धि गर्ने खालका कार्यक्रमहरू ल्याएर उनीहरूमा उद्यमशीलताको विकास गर्न सकिन्छ । विदेशमा रहेका महिला कामदारले दुःख पाउनुको प्रमुख कारण भनेको उनीहरूमा आवश्यक सीप नहुनु पनि हो ।
महिलाहरूलाई उद्यमशील बनाउन सके उनीहरूले स्वदेशमै बसेर धेरै काम गर्न सक्छन् । सिलाइ-कटाइ, तरकारी खेती, व्यवसाय आदि गरेर पनि सजिलै जीविकोपार्जन हुन सक्छ । यसबाहेक राज्यले विभिन्न उत्पादनमूलक उद्योगहरू स्थापना गरेर हजारौं महिलालाई रोजगारी प्रदान गर्न सक्छ । खाडी मुलुकको तातो घाममा काम गर्न तयार महिलाहरू आफ्नै देशमा काम गर्न पाए भने पक्कै उनीहरूमा खुसी छाउनेछ । स्वदेशमा अवसर र सम्भावनाहरू नभएका हुँदै होइनन् तर यस विषयमा गम्भीर भएर सोंच्ने निकाय एवं पक्षको खाँचो छ । सरकार आफैले त्यस्ता बेरोजगार महिलाहरूलाई स्वदेशमै व्यवस्थापन गर्न सके उनीहरूको आर्थिक अवस्थामा सुधार आउँछ र मुलुकको आर्थिक विकासमा पनि टेवा पुग्छ । खेर गैरहेको श्रमशक्तिको सदुपयोग गरेर राज्यले विकासको फड्को मार्न सक्छ । अहिले रोजगारीका क्षेत्रमा जे-जस्ता समस्या देखा परेका छन् त्यसको हल गर्न आर्थिक मुद्दाहरूमा ध्यान दिनुपर्छ । जबसम्म आर्थिक विकासको गति तीव्र हुन सक्दैन तबसम्म राष्ट्रमा बेरोजगारी बढ्दै जान्छ भने विदेशमा जाने र बेचिने क्रम पनि रोकिँदैन ।

No comments:
Post a Comment