आधुनिक
विश्वले हामीलाई चामत्कारिक प्रविधिसँग साक्षात्कार गरायो । संसारलाई एउटा
सानो गाउँजस्तो बनाएको छ । सँगै मानिसका जीवनशैलीमा पनि विश्व आधुनिकता
हावी हुँदैछ । प्रविधि हावी हुँदा हामी ज्ञान र सीपले सम्पन्न भएका छौं, तर
जीवनशैलीमा आएको विसंगतिले हाम्रो समाजलाई नराम्रोसँग गाँजेको छ ।यसरी
शहरी सभ्यता बिग्रिँदा मुख्यतः यौन विकृति फस्टाएको छ । कपनकै उदाहरण दिने
हो भने प्रशस्तै अघोषित यौनकेन्द्र छन् । राजधानीको चक्रपथबाहिरका कतिपय
रिसोर्टहरु संगठित यौन व्यवसाय सन्चालन गर्ने भएका छन् । चक्रपथभित्रको
कुरा गर्दा हिजोआज सुन्धारातिरका गेस्ट हाउसको कथा अर्कै छ । अल्छे पतिका
फुर्तिली पत्नीहरु मर्निङ वाक जान्छन् । वाकिङमा ठिटाहरु भेटिन्छन् ।
विहानै भएर के भयो त, रमाइलोको कुनै घडी हुँदैन । र, सुन्धाराका गेस्ट
हाउसमा एकाविहानैबाट फुर्तिलीपत्नीहरु ठिटासहित हाजिर हुन्छन् । यो जाडोमा
स्युँ स्युँ गर्दै सडकमा हिँड्नुभन्दा सिरकभित्र अंगालिएर बस्नुको मज्जै
अर्को । चक्रपथबाहिरका कथा अर्कै छन् । प्रहरीले काठमाडौंका भित्री
क्षेत्रका होटल र लजमा छापा मार्न थालेपछि यौनका शौखिनहरु चक्रपथ छाडेर
अन्यत्र जान थाले । भैंसेपाटी, पलाँसे, ककनी, चोभार, हात्तीबन, नगरकोटदेखि
कपनको जगडोल डाँडासम्मका यौन केन्द्रलाई नियाल्दा केही कहालिलाग्दा
प्रबृत्ति देखिन्छन् । समाजमा यसरी यौन विकृति बढ्नुका पछाडि केवल
आधुनिकतामात्र दोषी छैन । प्रहरी अनुसन्धानलाई आधार मान्ने हो भने, मुख्यतः
वैदेशिक रोजगारीमा गएका पुरुषका पत्नीहरु त्यस्ता केन्द्रमा बढी भेटिएका
छन् । पतिले कमाएर पठाएको रकम यहाँका ठिटाहरुलाई पोस्ने गरिएको छ ।
अर्कातर्फ यौनको अतृप्त प्यास मेटाउने नाममा उनीहरु त्यस्ता यौन केन्द्रको
खोजीमा हुन्छन् । योसँगै विवसताले यौन बेच्न बाध्य युवती शहरमा प्रशस्तै
छन् । अनि, अर्कातर्फ स्कुल र प्लस टु जेनेरेशनका बालबालिकामा बढ्दो यौन
आकर्षले अनेकन सामाजिक कुरिती निम्तिएको छ । केही समयअघि मात्र कपन र
चावहिलमा सन्चालित एक विद्यालयकी छात्राले बालुवाखानीस्थित आफ्नै घरमा
आत्महत्या गरिन् । सुनिन्छ, उनी स्कुले जीवनमै प्रेममा परेकी थिइन् । धोका
भएपछि विष पिइन् । त्यही स्कुलकी अर्की एक छात्राले पनि केही वर्षअघि
अत्यधिक सिटामोल सेवन गरी आत्महत्या प्रयास गरिन् । स्कुल पढ्ने उमेरका
विद्यार्थीहरु आजकल कक्षा ८ देखि नै ब्वाइफ्रेन्ड र गर्लफ्रेन्ड बनाउने
भएका छन् । त्यसमाथि गोपीकृष्ण हलको मर्निङ शोमा पर्दा भित्रको सिनेमा र
पर्दा बाहिरको सिनेमा एकैपल्ट हेर्न पाइन्छ । यसरी बालबालिकासम्मा यौन
विसंगति बढ्नुको कारणचाहिँ अभिभावक नै हुन्छन् । गृहिणी र कामकाजी महिला
तथा पुरुषमा गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड बनाउने चलन बढेको छ । त्यही सिको
बालबालिकाले गर्ने हुन् । बढ्दो यौन विकृतिलाई रोकथाम गर्न केवल प्रहरीले
छापा मारेर मात्र पुग्दैन । प्रहरीले छापा मारेपछि उनीहरुलाई निश्चित अवधी
थुन्छ र छाडिदिन्छ । खाने मुखलाई जुँगाले किन छेक्थ्यो र । उनीहरु फेरि
त्यतैतिर पल्किहाल्छन् । ठिमीस्थित प्रहरी बृत्तका डिएसपी विनोद खरेलले
केही दिनपहिले कौशलटारको मिडवे होटलबाट एउटा जोडी पक्रिए । केटीका पति
दरबारमार्गको रेस्टुरेन्टमा काम गर्ने । केटा कुपण्डोलमा हार्डवेयर पसल
चलाउने, विवाहित पुरुष । दिउँसोको मौका छोपेर यी दुबै घुम्दै कौशलटार पुगे ।
प्रहरीले छापा हानेर हिरसातमा राख्यो । केटाले घरमा फोन गरेर मापसेमा
पुलिसले थुन्यो भनिदिए । केटीले पनि माइतबाट गाउँको दाइ भेट्न आएको थिएँ,
केटा–केटाको झगडा पर्दा मलाई पनि समात्यो भन्ने बहाना निकालिन् । यदि
प्रहरीले केटाको घरकी पत्नी र केटीको पतिको उपस्थितिमा उनीहरुलाई रिहा
गरिदिएको भए ती जोडी फेरि फर्किएर त्यस्तो गतिविधिमा लाग्दैनथे । कपन
प्रहरीका इन्स्पेक्टर नवराज ढुंगानाले पनि केही दिनअघि नीलोपुलबाट
फ्ल्याटमा यौन केन्द्र चलाउने सन्चालक र यौनकर्मी पक्राउ गरे । उनीहरु पनि
ठिमीको जस्तै प्रक्रियाबाट रिहा भए । हिरासतबाट निस्किएर ती युवती सोझै
नयाँ अखडातिर लागे, सुध्रिएनन् । बौद्ध प्रहरीले त्यसरी पक्राउ परेका
महिलालाई मानव बेचबिखनमा मुद्दा चलाउन चाहेको थियो । तर, स्थानीयवासीले
सन्चालिका महिलाको सानो बच्चाको बहाना झिक्दै त्यसो नगर्न अनुरोध गरेपछि
प्रहरीले सार्वजनिक मुद्दामा म्याद थप्यो । केही दिन हिरासतको हावा खाएर
महिला रिहा भइन् । सुनिँदैछ, फेरि धन्दा शुरु भइसक्यो । E-mail:
bimasu2000@yahoo.com (लेखक जनआस्थाका प्रमुख संवाददाता तथा प्रेस चौतारी
नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ

No comments:
Post a Comment