Total Pageviews

Sunday, April 7, 2013

जनजाति महावाणिज्यदूतको माग गर्दै प्रदर्शन

  •  नौमति घन्काउँदै विरोध
हङकङ, चैत्र २५ - सबै कुरामा 'नौला प्रयोग' रुचाउने मानिस विरोधका सवालमा मात्र किन चुक्थे र । सात समुद्रपारिको सहर यहाँ गाउँघरमा समेत लोपोन्मुख 'नौमति बाजा' घन्काएर विरोधको नयाँ प्रयोग थालिएको छ ।
परम्परागत पहिरन र गरगहानामा सजिएर बाजागाजा बजाउँदै सडकमा निस्केको लहर देख्दा कतिपयले विशेष अवसरमा खुशीयाली मनाएझै पनि माने होलान् । विभिन्न जातीय संस्थाहरूको सहभागिता रहेको र्‍यालीको वास्तविकता भने त्यो थिएन् । नेपाल आदिवासी जनजाति महासंघ हङकङले लामो समयदेखि यहाँका महावाणिज्यदूत जनजाति मुलकै हुनुपर्ने माग राख्दै आएको छ ।
बाबुराम भट्टराई सरकारले महेशप्रसाद दाहाललाई नयाँ महावाणिज्यदूत नियुक्त गरेसँगै महासंघ उक्त निर्णय खारेजीका लागि दबाब स्वरुप आन्दोलनमा छ । उनले कार्यभार भने सम्हालिसकेका छैनन् । अर्थ मन्त्रालयका सहसचिव दाहाल यसअघि राजस्व अनुसन्धान विभागमा महानिर्देशक थिए ।
विनोद कुमार उपाध्यायले उमेर हदबन्दीका कारण समयअगावै अवकाश पाएपछि दाहालले नियुक्त पाएका हुन् । यसअघि समेत तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले परराष्ट्र मन्त्रालयको सिफारिस बेवास्ता गर्दै प्राविधिक क्षेत्रका सहोदर भाई उपाध्यायलाई महाबाणिज्यदूतमा नियुक्त गरेपछि हङकङ दूतावास विवादित बनेको थियो ।
वर्तमान सरकारलाई नियुक्ती खारेजीको ज्ञापनपत्र बुझाउन करिब अढाई सय सहभागी र्‍याली आइतबार दिउँसो चिम सा चोयस्थित काउलुन पार्कबाट  दूतावास भवन पुगेको थियो । झण्डै एक किलोमिटरको दूरीमा रहेको भवनसम्म पुग्दा र्‍यालीमा सहभागीहरूले लोकबाजा नौमति बाहेक ढोल, झ्याम्टा र च्याबु्रङ समेत बजाए ।
हङकङमा नेपालीहरूले पहिलोपटक गरेको यस्तो नौलो विरोध शैलीलाई उत्सुकतापूर्वक हेरी जिज्ञासा राख्ने बटुवाहरू मनग्य देखिए । सघर्ष समिति नै खडा गरी आन्दोलनमा उत्रेको महासंघले दाहालको नियुक्तीका विरोधमा यसअघि समेत तीनपटक दूतावास भवन परिसरमा धर्ना दिइसकेको छ । सरकारले आश्वासन दिएर पनि बारम्बारको आग्रह लत्याइएकाले अन्तर्राष्ट्रिय समुहको ध्यानाआकर्षण गराउँनै बाध्य भएर र्‍यालीको आयोजना गरिएको महासंघका अध्यक्ष एमबी थापामगरले बताए ।
जनजातिका मागलाई बेवास्ता गरी गैरजनजाति पठाइए सामाजिक बहिष्कारमै उत्रने समेत संघले चेतावनी दिएको छ । 'यद्यपि विरोध कुनै व्यक्ति विशेष भन्दा पनि सरकारको रवैयाप्रति लक्षित छ', थापाले थपे । हङकङमा जनजातिहरूको बाहुल्यता रहेकाले उसै अनुरुपको महाबाणिज्यदूत नियुक्त हुनुपर्ने महासंघले धेरै अघिदेखि माग राख्दै आएको छ । नवनियुक्त महाबाणिज्यदूत दाहालले कान्तिपुरसँगको टेलिफोन सम्र्पकमा हङकङमा भइरहेको विरोधमा विषयमा अहिले नै कुनै किसिमका प्रतिक्रिया नदिने जनाए । नेपालमै रहेका उनी सम्भवतः बैशाख पहिलो साता हङकङ आइपुग्ने बताएका छन् ।

No comments:

Post a Comment