लामो समय नेपालमा बामपन्थी राजनीतिमा
सक्रिय कमानसिंह लामा दक्षिण कोरियाका लागि नेपाली राजदूत हुनुहुन्छ । अरु
राजदूत कार्यक्षेत्रमा पुगेपछि मात्र विवादमा तानिने गरे पनि लामालाई भने
सिफारिस भएसँगै मानव बेचबिखन लगायतका गम्भीर आरोप लाग्यो । कार्यभार
सम्हालेपछि पनि अघिल्ला राजदूत कमल कोइरालाले जस्तो नेपाली समुदायसँग
सम्बन्ध राख्न नसकेको, नेपाली श्रमिकलाई हेप्ने गरेको, नेपालीहरुलाई कोरिया
लगेर गैरकानुनी बनाई लुकाउने गरेको लगायतका आरोपहरु लामामाथि लागे ।

एमाओवादीको केन्द्रीय सदस्यबाट हटेर
कूटनीतिक भूमिकाका पुगेका लामा पछिल्लोपटक लुम्बिनीबाट शान्तिदीप कोरिया
लैजाने र विश्व शान्तिका लागि पहल गर्ने भन्दै तामझामपूर्ण कार्यक्रम गर्न
नेपाल आउनुभएको थियो । यसै मेलोमा अनलाइनखबर डटकमले उहाँमाथि लागेका आरोप र
कोरियामा रहेका नेपालीको अवस्थाबारे लामो कुराकानी गरेको छ :
नेपालबाट शान्तिदीप कोरिया लैजाने भन्दै तपाईले लुम्बिनीमा कार्यक्रम गर्नुभयो । यति धेरै खर्च र तामझाम किन गर्नुपरेको हो ?
विश्वशान्ति कायम गर्न ।
नेपालबाट कोरियामा शान्तिदीप लैजाँदा अहिले दुई कोरियावीचको तनाव कम हुन्छ त त्यसो भए ?
मैले निकै पहिलेदेखि शान्तिदीप कोरिया
लैजाने योजना बनाएको थिएँ । अहिले संयोगमात्र त्यस्तो परेको हो । अहिले
साँच्चिकै युद्ध भड्केला कि भन्ने त्रासको अवस्था छ । हामीले ठीक समयमा
योजना बनाएका रहेछौं भन्ने देखियो ।
शान्तिदीप कोरिया लगेर के गर्ने योजना छ ?
बुद्ध नेपालमा जन्मिएका हुन् भनेर
कोरियालीमाझ प्रचार गर्ने मुख्य उद्देश्य हो । कोरियाको हाइस्कुलमा अझै पनि
बुद्ध भारतमा जन्मिएको भनेर उल्लेख छ । जो कोरियालीले हाइस्कुल पास गरे
उनीहरुलाई त बुद्ध भारतमै जन्मिएका हुन् भन्ने छाप छ । उनीहरुको दिमागबाट
त्यो छाप हटाउनलाई मैले यसो गरेको हुँ । बुद्ध नेपालमा जन्मिएका हुन् तर
बिदेशमा तिब्बतियन बुद्धिज्म भनेर चिनिन्छ, नेपाली बुद्धिज्म पो भन्नुपर्ने
हो । होचाकी श्रीमती सबैकी भाउजू भनेजस्तै भयो, त्यसो त हुनुभएन नि ।
कोरियामा चार-पाँचवटा बुद्धिष्ट
सेक्टरमध्ये जोगे अर्डर भन्ने सेक्टर छ । त्यहाँका १ सय ८ वटा गुम्बामा
लगेर अखण्ड दीप बाल्ने योजना छ, सातवटा रथमा बुद्धको मूर्ती रथयात्रा
गराउने योजना छ । मे ११ तारिखमा पाँच किलोमिटर परेड हुन्छ, लाखौं कोरियाली
जनता हातमा बत्ती लिएर परेड खेल्ने योजना छ । त्यहीँ झाँकीमा नेपालीहरुको
लाइन हुन्छ, जहाँ मायादेवीको मन्दिर, अशोक स्तम्भ, स्वयम्भू र बौद्धको
स्तूपा लगायत प्रर्दशन गरिन्छ । दुई कोरियावीच युद्ध भयो भने नेपाल
प्रभावित हुन्न भन्ने छैन । त्यसैले हामी दुई मुलुकको सीमानामा शान्तिको
प्रार्थना गर्छौं ।
यो कार्यक्रममा नेपाल सरकारको संलग्नता छ कि छैन ?
गर्नुपर्ने त नेपाल सरकारले नै हो नि ।
तर, केही पनि सहयोग गरेन । म नेपाल आउन पनि सरकारले ब्यक्तिगत बिदा लिन
लगायो । यो सवै मेरो ब्यक्तिगतरुपमा र कोरियामा रहेका नेपाली जनताहरुको
संलग्नतामा भइरहेको छ । त्यहाँ नागरिक समाज बनाएर पैसा संकलन गर्नुभएको छ,
राजदूत अगाडि जाउ, हामी सहयोग गर्छौं भनेर भनेका छन् । जनताको सहभागिता
भएका कारण नेपाल सरकारलाई पनि दबाब भयो, राष्ट्रपति कार्यालयमा कार्यक्रम
गर्यौं, मन्त्रीहरु आएर शुभकामना दिनुभयो ।
कति पैसा खर्च भयो ?
कति पैसा लाग्यो ठ्याक्कै त भन्न सकिन्न ।
किनभने नागरिकस्तरबाट आ-आफै खर्च भएको छ । सरकारले बजेट छुट्टाएको भए त
४-५ करोड रुपैयाँभन्दा कमीले हुने थिएन ।
कोरियामा तपाईं राजदूत भएर गएको
पनि एक बर्ष बढि भयो । नेपाली श्रमिकको संख्या बढेसँगै त्यहाँ बिभिन्न
खालेको समस्या पनि बढेको भनिन्न । तपाईंले देखेका मुख्य समस्या केके छन् ?
समस्या नभएको ठाउँ कहाँ छ र ? यहीँ पनि
समस्या छन नि । मान्छे जहाँ गयो, त्यहाँ त्यहाँ समस्याले पछ्याउँछ । अहिले
कोरियामा जो मजदुर बनेर गएका छन्, ती यहाँका असली मजदुर हैनन् । मुख्य
समस्या त्यही हो । असली मजदुर गएको भए त त्यहाँ समस्या कम पर्दथ्यो ।

त्यसो भए भाषा परीक्षा पास गरेर इपीएस प्रणालीमार्फत् कोरिया गएका नेपालीहरु असली मजदुर हैनन् ?
यहाँ बीए, एमए पास गरेका मान्छेहरु त्यहाँ
श्रमिक बनेर गएका छन् । ती नेपालका असली मजदुर हुन् कि हैनन तपाई आफै
भन्नुस् । मालिकले जति बढी दलायो त्यति बढी नाफा हुन्छ । तर, बानी नभएका
श्रमिकहरुले कसरी खटेर काम गर्न सक्छन् ? यहीँ नै मजदुरी गरेर बानी परेको
भए त उसलाई त्यस्ता काम गाह्रो लाग्दैन । बहर गोरु दाउँदाखेरि सियोमा
हिड्दैन नि । त्यस्तै भएको छ, कोरियामा गएका नेपालीहरुलाई । कोही ६० बर्षको
बुढोसँग २० बर्षको तरुनी केटी बिहे गरेर गएका छन् । त्यो यहीँकै समस्या
हो, यहीँबाट समस्या बोकेर गएका छन् ।
कोरियाले नै भाषा परीक्षामा सयमा
सय नम्बर ल्याउनेहरु, अब्बललाई छानेर लैजाने नीति बनाएको छ । त्यस्तोमा
नपढेका र तपाईले भनेजस्तै साँच्चैका मजदुरहरु कसरी कोरिया जान सक्छन ?
तपाईले औंल्याएको कुरा पनि सही हो ।
त्यहाँ नेपाली जाने भनेको थ्रीडी-डीफिकल्ट, डर्टी, डेन्जर) काम गर्न हो ।
कोरियनले गर्न नसकेको काम नेपालीलाई गराउने हो । यहाँबाट जानेले टवलवर्क
जस्तो सजिलो ठान्छन् । त्यसो नभएपछि अर्कोमा सजिलो पाइन्छ कि भनेर कम्पनी
फेर्दै चाहार्न थाल्छन् । जसले लगेको उसले कम्पनी फेर्न अनुमति नदिएपछि उ
अबैधानिक भइहाल्छ । अबैधानिक भएपछि समस्यै समस्या ।
त्यही कारण पछिल्लो समयमा
इपीएसबाट गएकाहरु पनि अबैधानिक बनिरहेको भन्ने सुनिन्छ । तपाईलाई नेपालीहरु
ऋवैधानिक भए भनेर कोरियनले गुनासो गरेका छैनन ?
मलाई कोरियन मन्त्रीले भन्छन्- तिम्रो
मुलुकबाट बढी इल्लिगल कामदार आए । मैले मजाले जवाफ दिन्छु- ‘तिम्रो देशका
कम्पनी सञ्चालकहरुले इल्लिगललाई काम दिने, उनीहरुले काम नदिए कसरी आउँछन्
नेपाली ? आउँदा लिगल नै आउँछन्, नआउ भन्न भएन, तपाईहरु इलिगललाई काम
दिनुहुन्छ, अनि इलिगल बढ्छन् । हामी कहाँ खोज्न जाने ?’
इलिगल हुनु चाहना हैन, बाध्यता हो । कुन
दरमा बढिरहेको छ भनेर त ठ्याक्कै भन्न सकिन्न । यति हो- इपीएसमा गएका सबै
लिगल चाहिं छैनन् । जुन कम्पनीले नेपालबाट लगेको उसको अनुमतिमा तीनपटकसम्म
कम्पनी फेर्न सकिन्छ, त्योभन्दा बढी कम्पनी फेरे इलिगल भइहालिन्छ । सुरुमा
लाने कम्पनीले अनुमति नदिए त एकपटक फेरे पनि इलिगल । राम्रो काम गर्ने
मान्छेलाई साहुले जानै दिन्न, काम नलाग्नेलाई खुरुक्क जान दिन्छ । त्यसैले
इलिगल हुने क्रम बढेको होला ।
त्यहीं नै नेपालीहरुले इलिगल बनाइदिने
ब्यापार पनि गरिरहेका छन । एउटा कामदारलाई गएर भड्कायो, अर्को ठाउँमा यति
तलव पाउने काम मिलाइदिन्छु भन्यो । महिनामै ५ लाख वन बढि तलव पाइने भएपछि
को जाँदैन ? त्यसरी काम लगाइदिएवापत यसले दुई तीनलाख रुपैयाँ हजम गरिदिन्छ ।
त्यहाँ बस्ने पुराना नेपालीहरुले नै इलिगल बनाउने धन्दा चलाइरहेको छन् ।
पछिल्लो दिनमा कोरियामा
नेपालीहरुको मृत्यु हुने क्रम पनि बढिरहेको देखिन्छ । कतिपय दुर्घटनामा त
कतिपयले आत्महत्या गरेको पाइन्छ । यसको कारण खोतल्नुभएको छ ?
मर्न त मान्छे यहाँ पनि मर्छन नि । त्यहाँ
मरेको समाचार बन्छ, यहाँ मरेको समाचार बन्दैन । अर्को कुरा, अहिलेका नयाँ
पुस्ताका केटाकेटीहरु कसैको लभ हुन्छ कसैको के हुन्छ , त्यो कारणले पनि
आत्महत्या गरिरहेका छन् । कतिपय यहाँ कामै नगरेका, थालमै भात पाकेका मान्छे
त्यहाँ गएर काममा बेस्कन दलिनुपर्छ । यताबाट परिवार पेल्छ- जसरी पनि
त्यहीँ बसेर कमाउनु भनेर । उता साहुले पेल्छ दलिएर काम गर भनेर । यस्तो
दोहोरो प्रेसरका कारण पनि मानिसहरुले आत्महत्या गरिरहेका छन् । जहान
छोराछोरी नेपालमा छाडेर गएर त्यहाँ गएर गलत काम गर्नेहरु पनि छन । हुनसक्छ
उनीहरुलाई कुनै दीर्घरोग लागेको हुनसक्छ । यो चाहिं मेरो मोटामोटी अनुमान
हो । मैले के कारण हो भनेर अनुसन्धान गर्न एउटा समिति बनाएको छु, त्यसले
रिपोर्ट दिइसकेको छैन ।

तीन महिनाको समय दिएर गठन गरिएको समितिले रिपोर्ट नै नबुझाएको हो कि तपाइहरुले सार्वजनिक गर्न नखोजेको हो ?
रिपोर्ट नै बुझाएको छैन । कोरिया ठूलो
मुलुक छ । फिल्डमा पुगेर अनुसन्धान गर्न साधन स्रोत धेरै चाहिन्छ । साधन
स्रोतका अभावले पनि ढिलाइ भइरहेको होला ।
अक्सर राजनीतिक नियुक्तिबाट गएको
नेपाली राजदूत भएका ठाउँमा नेपाली समुदाय र दूतावासको सम्बन्ध अलिक सुमधुर र
करियर डिप्लोम्याट राजदूत भएका मुलुकमा अलिक तितो सम्बन्ध जस्तो देखिन्छ ।
तपाई राजनीतिक पृष्ठभूमिको मान्छे भएर पनि दूतावास र नेपाली समुदायसँगको
सम्बन्ध किन राम्रो हुन नसकोको हो ? दूतावासप्रति किन यति धेरै गुनासो छ र
दूरी छ कोरियामा रहेका नेपालीहरुको ?
कसैका लागि कोही पनि सय प्रतिशत राम्रो
बन्न सक्दैन । यदि कोरियामा रहेका नेपालीहरु मदेखि असन्तुष्ट भए यत्रो ठूलो
खर्चको शान्तिदीप सम्बन्धी कार्यक्रममा त्यहाँ रहेका नेपालीहरु कसरी
सहभागी भए त ? इम्पावरिङ नेपाल २०१२ र शान्तिदीप गरी दुईवटा ठूला कार्यक्रम
मैले त्यहीँका नेपालीको साथ लिएर गरेको छु । यस्तो कार्यक्रम अरु कुनचाहिं
डिप्लोम्याटले गरेको छ ? इम्पावरिङ नेपाल २०१२ मा त यहाँबाट ५६ जना
ब्यापारीहरु गएका थिए । नेपाल उद्योग बाणिज्य महासंघकै अध्यक्षको नेतृत्वमा
ब्यापारीहरु गए, त्यहाँका ब्यापारीसँग लगानीका बिषयमा कुरा गरे । तर,
नेपाल सरकारले एक रुपैयाँ पनि दिएन, त्यो सवै कोरियामा रहेको नेपाली नागरिक
समाजले गरेको हो । त्यो सवै नेपाली मजदुरहरुकै सहयोग गरेको हो । मैले कसको
के स्वार्थ पूरा गर्न सकिँन, त्यसका आधारमा कसैले मलाई के आरोप लगाउँदै
हिँड्छ भने कमानसिंह लामा उनीहरुसँग जुधेर, बाझेर हिड्ने मान्छे हैन । सही
कुरा जे हो त्यसैको पछि लाग्छ, को ठूलो, को सानो भनेर ख्याल गर्दैन ।
म राजनीतिक नियुक्तिमा गएको भएपनि म
त्यहाँ पोलटिक्स गर्दिन । एमाओवादीको केद्रीय सदस्य थिएँ, अहिले छैन । मैले
छाडेकै हुँ । जुत्ता बाहिर, मान्छे भित्र भन्या झैं मेरो पोलटिक्स गर्ने
जुत्ता बाहिर छ, म कुटनीतिज्ञको भूमिकामा त्यहाँ छु । कसैले मलाई तँ
राजनीतिक नियुक्तिमा आएको होस्, हाम्रो होस, राजनीति गर, भन्छन् तर त्यो म
गर्दिन । म तामाङको प्रतिनिधि पनि हैन, म माओवादीको पनि हैन, म काभ्रेली
पनि हैन, म नेपाल र नेपालीको प्रतिनिधि हुँ । कसैले गलत गर्छ भने छाडिन्न,
कसैले लोभ लालच देखाए पनि लागिन्न त्यसको पछि । आरोप लगाउन सकिन्छ, मैले
उहाँहरुको चाहना पूरा नगरेको पनि हुँला । तर, म ठीक लागेको मात्र गर्छु,
बेठिक लाग्यो भने गर्दिन ।
तपाईं राजदूत भएर जानुअघि पनि
तपाईले कोरियामा नेपालीलाई पठाएर अबैधानिक बनाउनुभयो, मानव बेचबिखनको धन्दा
चलाउनुभयो भन्ने कुरा आएको थियो । तपाई राजदूत भएर गएपछि इम्पावरिङ
नेपालका नाममा गरिएको कार्यक्रममा पनि केही मान्छेहरु लुकेर बसे । राजदूत
आफैं मानव बेचबिखनमा र अबैधानिक धन्दाका संरक्षक हुन भन्ने आरोप यसबाट सत्य
देखिन्न र ?
हो, ब्यापारीको टोलीमा गएका तीन जना
मान्छे लुकेछन् । उद्योग बाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यजीले सिफारिस
गरेको मान्छेलाई मैले सिफारिस गरिदिएँ । मैले उनीहरुले पठाएको मान्छेलाई
विश्वास गर्नुपर्यो । त्यसमध्ये दुईजना छुट्टै गएछन, कार्यक्रममै गएनछन,
लुकेछन् । मैले त्यतिखेर थाहा पाइँन, ख्याल पनि गरिँन । भन्नेले भने-
राजदूतले मान्छे लुकायो भनेर । उहाँहरुलाई त्यही लाग्यो भन्नुभयो, ठिकै छ ।
तपाईं त त्यहाँको हेड अफ दि मिसन
हो । तपाईले निम्ता गरेका दुई जना टोलीमै नहुँदा जानकारी नहुने भन्ने त
पत्याउन सकिन्न । अर्कोकुरा तपाईले ढिलै थाहा पाउनुभयो रे, त्यसपछि
उनीहरुलाई फर्काउन, त्यसमा संलग्न हुनेलाई कारवाही गर्न किन खोज्नुभएन ।
यसले तपाईकै संलग्नताको आरोपलाई बलियो बनाउँदैन र ?
औंला ठड्याउनु स्वभाविक हो । मैले फूलको
माला पनि लगाएको छु, जुत्ताको माला पनि लगाएको छु । त्यही पुलिसले मलाई
लात्तले पनि हानेको छ, त्यसैको स्यालुट पनि खाएको छु । मैले धेरै अनुभव
हाँसिल गरेको छु । यी सबै सहन म तयार छु, त्यसले मलाई केही गर्दैन ।
अहिलेको कार्यक्रममा पनि कमानसिंहले मान्छे लानलाई गरेको हो भन्छन् ।
मान्छे त जान्छन्, तर फर्केर पनि आउँछन् । अस्तिमात्र एकनाथ
ढकाल(पूर्वमन्त्री एवं परिवार दलका अध्यक्ष) जीले ३५ जना मान्छे लगेर
जानुभयो, उनीहरुले त्यहाँको सडकमा बसेर माग्दैथिए, उनीहरुलाई पक्रेर
पठाइदिएँ । त्यसको हल्ला गर्दैनन, कमानसिंह लामाले देशका लागि काम गर्दा
त्यसो भयो त के बिगि्रयो ?
ती लुकेका तीन जनामध्ये दुईजना
एफएनसीसीआईको सिफारिसमा र एकजना ट्रेकिङ एजेन्ट्स एसोसिएसनको सिफारिसमा
गएको मान्छे लुकेछ । अब मैले उनीहरुबाट पैसा खाएकै हो भने उनीहरुलाई
सोध्नुस् । उनीहरुको सबै बिबरण लिएर मैले कोरिया सरकारलाई पक्रनका लागि
जानकारी गराइसकेको छु । नेपाली समाज जो हल्ला गर्छन, मैले उनीहरुलाई भनेको
छु- तपाईहरु देखाइदिनुस् ती मान्छे म पक्रेर नेपाल फर्कादिन्छु भनेको छु ।
लुक्यो त तीन जना मान्छे लुकेर के कोरियामा ती तीनजना मात्र इलिगल छन् ?
राजदूतावासमा आउने इलिगल सबैलाई पक्रेर मैले पठाइदिउँ ? जति पनि कोरियामा
समस्या आएका छन्, ती सबै इलिगलसँग सम्बन्धित छन् । ती समस्या परेर आउनेलाई
घोक्राएर पठाइदिउँ त ? त्यो काम त मेरो हैन । ल, दुई तीनजना नेपालीका
छोराले बसेर कमाएर खाए त के बिगि्रयो ? यसो भन्दा कसैले मलाई इलिगललाई
संरक्षण गर्यो भन्छन् भने मलाई टाउको दुखाई छैन ।
एकनाथ ढकालले मन्त्री हुँदा त्यस्तो काम गर्नुभएको हो कि पद छाडेपछि ?
मन्त्री हुँदै नै हो । एकनाथ त एउटा
उदाहरणमात्र हो, त्यस्ता गिरोह नेपालमा छन् । उनीहरुले भिसा पनि सजिलै
पाउँदा रहेछन् । पहिलोपटक ६ जनालाई पक्रेर माफी मगाएर पठाएको हो । फेरि पनि
नेपालीहरुले समातेर राखेका रहेछन्, पछि उम्किएछन् ।
कोरियामा काम गर्ने श्रमिकहरुको
बिदा आइतबार हुने हो । तर, त्यही दिन दूतावास बन्द हुँदा नेपाली श्रमिकले
सेवा पाउन नसकेको भन्ने गुनासो छ । आइतवार दूतावास खोल्न केले समस्या भयो ?
यो कुरा पनि मेरोबिरुद्ध खुब चर्काइएको छ ।
त्यो मैले चाहेर मात्र खुल्ने हैन । थप बजेट दिनुपर्यो नि सरकारले ।
सित्तैमा त कसले काम गर्छ र ? दूतावास आइतवार खोल्नुपर्यो भनेर मैले
प्रस्ताव पठाएको छु, तर त्यसको बजेट स्वीकृत भएकै छैन । स्वीकृत भएको बजेट
पाउनै कति समय लाग्छ । उहाँहरुले भन्नासाथ त्यो हुँदैन । नेपाल सरकारका
कर्मचारी कानुनले तोकेको कुरा गर्न बाध्य हुन्छन्, मैले चाहेर मात्र
खुसुक्क आइतवार पनि काम गर भनेर हुन्छ र ? आइतवार दूतावास खोल्दैमा समस्या
समस्या समाधान हुने पनि हैन, तर नहुनुभन्दा कानै भए पनि बेस भनेर मैले पहल
गरिरहेको छु । एउटा कारिन्दामात्र बसेर दूतावास खोलेर हुँदैन, सिंगो
राजदूतावास खोल्नपुर्यो त्यसका लागि बजेट चाहिन्छ ।
नेपाली दूतावासमा रहेको दोषाभे पनि दूतावासले हटायो रे । जरुरी नदेखेर हो ?
बिश्वको कुनै पनि नेपाली राजदूतवासमा
दोभाषे हुने ब्यबस्था नै छैन । दोभाषे भएर हटाएको हैन, म गएपछि त्यो पद
सिर्जना गर्न चाहिं खोजेको हुँ । दूतावासलाई दोभाषे चाहिन्छ त्यसैले त मैले
दोभाषे राख्नलाई बजेट देउ भनेर काठमाण्डौ लेखिपठाएको छु । श्रम मन्त्रालय
अन्र्तगतको कल्याणकोषको ४-५ हजार डलर दिनुपर्यो त्यो पैसाले हामी दोभाषे
राख्छौं भनेको छु । मैले काम गरिरहेको छु, कसले के भन्यो भन्नेसँग आत्तिन्न
।
तपाईले आइतवार दूतावास खोल्न र
दोभाषे राख्न पैसाको अभाव भन्नुभयो । तर हालै तपाईहरु मासिक लाखौं रुपैयाँ
बढी भाडा पर्ने स्थानमा सर्नुभएको छ रे ? त्यसका लागि रकम हुने, दोषाभेलाई
रकम चाहिँ नहुने ?
अब दूतावासै नराख्ने भन्यो भने मात्र खर्च
नबढ्ने हो, नत्र त बढिहाल्छ । नराख्ने भने नराख्ने, म फर्किएर आउँला ।
नेपालमा चुनावको माहौल बनिरहेको छ, चुनावमा उठौं, उठौं लाग्या छ । मलाई
राजदूत भएर बसिरहनु जरुरी छैन ।
दूतावास सानो भएर हामी सर्नुपरेको हो ।
पहिले तीनजनाले काम गर्थे, अहिले ९ जनाले काम गर्छन् । पार्किङ पनि थिएन,
दूतावासकै मोटर सडकमा राख्नुपर्ने थियो । दूतावासमा हिटिङ सिस्टम नभएकाले
पाइप फुटेर दूतावासका महत्वपूर्ण दस्तावेज भिजे । त्यसै कारण परराष्ट्रले
तुरुन्त सर्नु भनेको थियो । बच्चा सानो हुँदा सानो अण्डरवेयर, ठूलो भएपछि
अण्डरवेयर राम्रो भएपनि ठूलो नै किन्नुपर्छ । नयाँ ठाउँ बल्ल
राजदूतावासजस्तो भयो भनिरहेका छन् नेपालीहरुले । पुरानै ठाउँमा बस्दा पनि
भाडा त बढिहाल्थ्यो । घोटला भयो भन्ने लाग्छ भने छानविन गरे हुन्छ ।
इलिगल नेपालीहरुको पासपोर्ट रिन्यु गर्न पनि मिल्दैन भन्ने गुनासो आएको छ । के समस्या हो ?
इलिगलको रिन्यु भइरहेको छ त । इलिगलको
अर्को नामै समस्या हो, उहाँहरु इलिगल हुनुहुन्छ त समस्या भइहाल्छ नि । आफु
इलिगल हुँदाहुँदै नक्कली भिसा हानेर बस्ने अनि त्यस्तोलाई कसरी पासपोर्ट
रिन्यु गर्न सकिन्छ ? इलिगल नेपाली दूतावासमा आएपछि उसलाई त समातेर नेपाल
पठाउने हो । त्यसैले एकदमै आवश्यक पर्दा मात्र तपाईहरु दूतावासमा आउनुस
भनेको हुँ । इलिगल छौं भने मकहाँ देखिन नआउ, मलाई जानकारी पनि नदेऊ, मलाई
मतलव छैन । अब दूतावास आउनुहुन्छ भने मेरो नेपालीलाई ट्राभल डकुमेन्ट दिएर
नेपाल पठाउने काम हो । म त्यही गर्छु ।
कोरिया जान इपीएसको वेटिङ लिष्टमा रहनुभएका र भाषा परीक्षा दिने सोचमा रहेकालाई तपाईको सुझाव के छ ?
मुख्य कुरा त्यहाँ गएर थ्रीडी काम गर्ने
हो, काम गर्न सक्छु, भिड्छु भन्ने मानसिकता बनाउनुपर्यो । उहाँबाट अदक्ष
कामदार जान्छन त्यहाँ जरुरी छ दक्ष कामदारको । यदि तपाई बिहे गर्नुहुन्छ,
असली बिहे गर्नुस, नक्कली बिहे नर्गुनस् । २० बर्षको तरुनी केटी ६० बर्षको
बुढासँग बिहे गरेर जाने अनि एयरपोर्टबाटै भाग्न खोज्ने । उसले बल्ल तरुनी
केटी पाएँ भनेर दंग पर्छ । अनि झगडा भइहाल्छ ।
मेरो प्रस्तावचाहिं के छ भने- इपीएस
परीक्षामा भाषामा राम्रो नम्बर हैन, एउटा सय किलोको बोरा राखियोस, उठाउन
सक्छ जावोस, सक्दैन नजावोस् । चाहे एमए गरोस् वा पीएचडी नेपालीले गर्ने काम
नै बोक्ने उचाल्ने र दुःखको हो । त्यहाँ मालिक र कामदारको रिलेसन हुन्छ,
तपाईले मरेर काम नगरी सुख छैन । त्यो बुझेर कोरिया जानुस् ।
No comments:
Post a Comment