गोलबजार (सिरहा), वैशाख २३ -
दाइजो का कारण भ्रूण हत्या गराउने क्रम बढेको हिजो यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले दाबी गरेका छन् ।
उत्पीडन सरोकार मञ्ज असनपुरले ‘ दाइजो
हटाऔँ, सम्बन्ध बढाऔँ’ भन्ने मूल नाराका साथ आयोजना गरेका गोष्ठीका
वक्ताहरुले दहेज प्रथा उन्मूलन नभएको कारण समाज अझै पछाडि धकेलिँदै गएकाले
कडा कानुनको निर्माण र महिलालाई शिक्षित बनाउन शिक्षामा लगानी गर्नुपर्ने
आवश्यकता औँल्याएका छन् ।
कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष
झकबहादुर मगरले राज्यले कानुन बनाउन नसकेको भन्दै सामाजिक कानुन बनाएर भए
पनि दाइजो प्रथा रोक्नुपर्ने बताए । दाइजो
लिने व्यक्तिलाई समाजबाटै बहिष्कार गर्नुपर्ने दिन आइसकेको छ भन्दै
उपाध्यक्ष मगरले छोरी जन्मिने बित्तिकै आमाबुवा चिन्तित बन्ने गरेको उल्लेख
गरे ।
नेपाल मगर सङ्घका जिल्ला अध्यक्ष कारीमान पुनामीले दाइजो
कै कारण हाम्रो समाजमा महिलाहरु आफ्नै भ्रूण हत्या गर्न बाध्य भएको
बताउनुभयो । उनले भने“भिडियो एक्स–रे गराएर छोरा कि छोरी हो पत्ता लगाउँछ ।
छोरी भए भ्रूण हत्या गर्छ ।”
कार्यक्रममा पारागिलन कमिटी असनपुरकी सचिव गङ्गा थापा, एमाले गाउँ इकाई
कमिटी असनपुरका अध्यक्ष गणेश गौतम, महिला अधिकारकर्मी बेची लुङ्गेली
मगरलगायतले दाइजो प्रथा रोक्न सरकारसँग माग गरे ।
उनीहरुले अब बन्ने संविधानमा दाइजो लिने र दिने दुवैलाई कडा कारबाही गर्ने खालको कानुन बनाउन सम्बन्धित निकायलाई आग्रहसमेत गरे । रासस
प्रकाशित मिति: २०७० वैशाख २३ १०:२८
No comments:
Post a Comment