मनाङ, वैशाख २३ -
अठार वर्षअघि सोलुखुम्बुको सल्लेरी न्यालाबाट यहाँ आएका ४८ वर्षीय
मनबहादुर राई अहिले उपल्लो मनाङको गाउँमा 'माक्पा' (घरज्वाइँ) बनेपछि
रेस्टुराँ व्यवसायमा जमेका छन् । सुरुमा काम खोज्दै आएका राईले भाँडा
माझ्नेदेखि दाउरा फोर्ने तथा मल बोक्नेजस्ता काम गरे । जब उनले ०५२ सालमा
स्थानीय छोमा गुरुङसँग प्रेम विवाह गरे तब उनको जीवनमा कायापलट भयो । घरको
आर्थिक अवस्था नाजुक भएपछि काम खोज्दै यहाँ आइपुगेका उनी अहिले स्थानीय
बासिन्दासरहको अधिकार उपयोग गरी मनांगे ज्वाइँको सम्मान पाएका छन् । 'बुद्ध
किचन नामक रेस्टुरेन्टका मालिक राईले भने, 'माक्पा' बनेपछि जीवन नै फेरियो
।' दुई छोरीका बाबु राईले अहिले सुखको जीवन बिताउन पाएकामा त्यत्तिकै दंग
छन् । उनलाई स्थानीय संरक्षण व्यवस्थापन समितिको सदस्यको जिम्मेवारी पनि
दिइएको छ । उनीमात्र होइनन्, यसरी घरजम गरेकाले विभिन्न पद पाएका छन् । १७
वर्षको उमेरमा यहाँ आएका सोलुकै बलबहादुर भुजेल यहाँ बस्न थालेको ३१ वर्ष
बितिसकेको छ । चितवनमा खलासी हुँदै रिक्सा चलाउँदै यहाँ सिकर्मी, डकर्मी
काम गरेका भुजेल डोल्मा गुरुङसँग विवाह गरेर 'माक्पा' बनेपछि सोलु
रेस्टुरेन्टका मालिक बनेका छन् । दुई वर्षअघि आएका उनका भाइ
बिर्खबहादुरसमेत 'माक्पा' नै बनेर जमिसके । टंकी मनाङका समाजसेवी भुचुङ
गुरुङले भने, 'यसरी आउनेहरू धेरैजसो यहाँ घुलमिल भएपछि स्थानीय चेलीसँग
बिहे गरी 'माक्पा' बनेका छन् ।' उनका अनुसार पहिलो सामान्य मजदुरी गर्न
आउने घरज्वाइँ बसेर पछि अहिले होटल रेस्टुरेन्टलगायत सयौं चौंरी-याकका
मालिक पनि छन् । मनाङ र टंकी मनाङमा मात्रै बाहिरबाट आएर माक्पा बस्नेहरू
३० भन्दा बढी रहेको गुरुङले जानकारी दिए । स्थानीय मनांगे चेलीसँग विवाह
गरेर घरज्वाइँ बसेकाको दिनचर्या उनको जस्तै सुखमय बनेको छ । विशेषगरी यहाँ
काम खोज्दै आएका गोरखा, धादिङ, सोलु, काभ्रे, स्याङ्जा, तनहुँ, लमजुङलगायत
विभिन्न जिल्लाबाट आएका 'माक्पा' बसेर जमेका छन् । मजदुरी गर्न आउनेमात्र
हैनन् विभिन्न पेसा व्यवसाय गर्ने पनि यहाँ वैवाहिक सम्बन्ध जोडेर यसरी नै
स्थापित भएको स्थानीयवासी बताउँछन् । अधिकांश युवा रोजगारका क्रममा विदेश र
केही सहरतिर झरेर काम गर्ने पुरुषको संख्या कम भएपछि बाहिरबाट आउनेलाई
रोजगारी अवसर राम्रो हुने गरेको छ । प्रतिदिन काम गरेबापत पुरुषले ज्यालामा
हजार रुपैयाँभन्दा बढी पाउँछन् ।त्यसो त यहाँ बाहिरी जिल्लाबाट आउनेलाई घर जग्गा किनेर पनि बस्न पाउँदैनन् । स्थानीयबाहेक अरूले यहाँ घर किनबेच गर्न पाउने व्यवस्था छैन । घरज्वाइँ भएपछि भने स्थानीयले पाउने सबै सुविधा उनीहरूलाई दिइन्छ । गोरखा लाप्राकका ३५ वषर्ीय उदयबहादुर गुरुङ माक्पा भएपछि स्थानीयवासीसरह नै सबै सुविधा पाएको देखेर निकै हषिर्त छन् । 'स्थानीय २४ वषर्ीया खन्टो गुरुङसँग बिहे गरेका उनले फूर्तिलो पारामा भने, 'यता बिहे भएपछि अब त मनांगे नै भइयो ।' ०५६ मा गोरखाबाट आएका उनी दुई वर्षमै प्रेम विवाह गरेर माक्पा बस्न थाले । ढुंगा बोक्ने दाउरा बोक्ने काम गरेका गुरुङ अहिले जीवन साथीले चलाएको रेस्टुराँमै तल्लीन छन् । दुई लाखभन्दा बढी मूल्यको मोटरसाइकल गाउँ आसपासमा कुद्ने उनी अहिले मजदुरबाट मालिक भए । यसरी बाहिरबाट आएका घरज्वाइँ बस्नेको माथिल्लो मनाङमा समिति नै छ । उनीहरू हरेक वर्ष जमघट भएर रमाइलो गर्दै वनभोजसमेत जाने गर्छन् । विशेषगरी बाहिरबाट आउने गुरुङ, मगर, राई, क्षेत्री, बाहुन, भुजेल तामाङलगायत समुदायको माक्पामा बाहुल्य छ । माथिल्ला मनाङका सबै र तल्लो भेगका केही गाउँमा माक्पा बस्नेको संख्या बढ्दै गएको टंकी मनाङ गाउँका मुखिया छाड्डु गुरुङले जानकारी दिए । 'सामान्य मजदुरी गर्न आएका माक्पा भएपछि स्थानीय जतिकै सम्पन्न भएर बसेका छन्,' उनले भने, 'आफ्नै गाउँका चेली बिहे गरेको हुनाले छोराज्वाइँसरह उनीहरूको सम्मान स्थानीय बासिन्दाले गर्छन् ।'
No comments:
Post a Comment