एक १५ वर्षीया किशोरी हरेक दिन प्रधानमन्त्रीनिवास बालुवाटारअघि आवेगयुक्त
स्वरमा नारा लगाइरहेकी देखिन्छिन् । भर्खरै फक्रिँदै गरेको हँसिलो र
निर्दोष मुहार उनको सबैले देख्छन् तर मनभित्रको ज्वाला देख्दैनन् । महिला
हिंसाविरुद्धको नारा उनले जति भित्रैदेखि आत्मसात् गरेर अरू कसले लगाएको
होला ?छातीमा उमन अगेन्स्ट भायोलेन्स (हिंसाविरुद्ध महिला) को पोस्टर टाँसेर बालुवाटार अगाडि गत १६ गतेदेखि निरन्तर चिच्याइरहेकी छन् ज्ञानु बोहरा (नाम परिवर्तन) । त्यहाँ नारा लगाउनेमध्ये कतिलाई मिडियामा आउनु छ, कतिलाई आफ्नो संस्थाको नाम चम्काउनु छ तर उनलाई भने आफूमाथि सामूहिक बलात्कार गर्नेहरूलाई सजाय दिलाउनु छ ।गत चैतमा एसएलसी परीक्षा दिन दिदीको घर आएका बेला सामूहिक बलात्कारमा परेकी थिइन्, उनी । बैतडी जिल्ला कैलपाल गाविसकी ज्ञानु अहिले आफूमाथि भएको यौनहिंसाविरुद्ध आवाज उठाइरहेकी छन् । बुधबार बालुवाटार पुग्दा बलात्कारीलाई मृत्युदण्ड दे लेखिएको प्लेकार्ड उठाएर उभिएकी ज्ञानुले आफ्नो पीडादायी कथा सौर्यकर्मीसित यसरी साटिन्–
म सधैँ स्कुलमा फस्र्ट हुन्थेँ । स्कुलमा हुने खेलकुद कार्यक्रमदेखि अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै अगाडि थिएँ । गाउँमा बाल क्लबकी अध्यक्ष पनि मै थिएँ । परिवार र स्कुलमा सबैले माया गर्थे ।
मेरो घर बैतडी जिल्ला कैलपाल गाविसमा पर्छ । अघिल्लो साल एसएलसी दिन पाटन (बैतडी) आएकी थिएँ । पाटनमा दिदीको घरमा बस्थेँ । चैतमा एसएलसी सुरु भयो । नेपाली र अंग्रेजी विषयको परीक्षा सिध्याएँ । राम्रो भएको थियो । गणितको तयारीमा थिएँ । एउटा गेसपेपर किन्न नजिकैको पुस्तक पसलमा गएकी थिएँ । गर्मी
असाध्य भएकाले प्यास लाग्यो । मैले पानी माग्दा त्यहीँ रहेको फोटो पसलवाला र पुस्तक पसलवाला (सागर भट्ट र अमर अवस्थी) ले ‘जुस खाऊ बहिनी’ भनेर मलाई गिलास दिए । मैले केही नसोची खाइदिएँ ।
म गेसपेपर किनेर घर फर्कें । साँझ परिसकेको थियो । बीच बाटोमा पुगेपछि तिनै दुई जनालाई देखेँ । तर, केही नबोली म सरासर आºनो बाटो लागेँ । दिदीको घर पुग्न पाटनबाट आधा घन्टा लाग्छ । बीच बाटोमै मलाई रिँगटा लाग्ने, टाउको दुख्ने, बान्ता आउन सुरु भयो । बल्ल–तल्ल घर पुगेँ । तर, झन् गाह्रो भयो । दिदीले खाना खान बोलाउनुभयो । म रोटी र दूध खाएर सुतेँ ।
म बाटोपट्टिको कोठामा सुत्थेँ । दिदी भान्सापट्टिको कोठामा सुत्नुहुन्थ्यो । मेरो दिदीको छोरी पनि मसँगै सुत्थी । तर, त्यसदिन दिदीको छोरी पनि उतै सुतिछ । मैले दिदीको छोरी आउली भनेर ढोका खुलै छाडेकी थिएँ । तर, एक्कासि तिनै दुईजना आए । कोठामा पस्नेबित्तिकै एक जनाले सिरानीले मुख छोप्यो र अर्कोले अँठ्यायो । एउटा सियोले जस्तै घोचेपछि चिच्याएँ । तर, प्रतिकार गर्न सकिनँ । बेहोस भएछु । उनीहरूले के–के गरे मैले केही थाहा पाइनँ ।
राति १२ बजेतिर ब्युँझिँदा पूरै जिउ दुखिरहेको थियो । एक ठाउँबाट अर्को ठाउँ चल्न पनि सकिनँ । आफैँ रुन थालेँ । तर, लाजले दिदीलाई भनिनँ । भोलिपल्ट बिहानै एक्लै गएर पुलिसलाई भनेँ । त्यसपछि बुबा र अंकललाई फोन गरेँ । उहाँहरू आउनुभयो । गाउँले र शिक्षकहरू पनि आए । अनि केन्द्राध्यक्षलाई भन्न लगाएर तिनीहरूलाई पक्राउन लगाएकी हुँ । त्यही दिन हामी बैतडी जिल्ला अदालतमा गएका हौं ।
एसएलसीमा डिस्टिङ्सन ल्याउने सपना थियो । शिक्षकहरूले पनि यही आशा गरेका थिए । तर, त्यस घटनाले मेरो सपना चकनाचुर भयो । मेरो दिमाग पनि खल्बलियो । कहिले बेहोसजस्तो हुन्थेँ । कहिले एक्लै बोलिराख्ने । चार महिनासम्म मेरो दिमाग ठीक भएन । म जुनबेला पनि ती बलात्कारीलाई काट्छु र मार्छु मात्र भन्थें । पछि मलाई उपचारका लागि बुबा र अंकलले पाटन अस्पताल लैजानुभयो । उपचारका क्रममा रक्षा नेपालकी मेनुका थापा दिदीसँग भेट भयो । उहाँले मलाई आफैँसँग राख्नुभयो ।
अहिले म निको भइसकेकी छु । १० महिनापछि बैतडी गएँ, बयान दिनलाई । पहिला बिमारीले गर्दा जानसकेकी थिइनँ । तर, पुस ७ गते म बयानका लागि जाँदा मेरो पक्षमा बयान दिने सबैलाई तिनीहरूले किनिसकेछन् । म र मेरो परिवार एक्लै बन्यो, त्यो अदालतमा । तैपनि, मैले हार मानिनँ । बलात्कारजस्तो विषयमा पनि राजनीतिक दलका पार्टीले दबाब दिएको देख्दा मलाई एकदमै घृणा लाग्यो । उनीहरू एमाले समर्थक भएकाले एमालेले मिल्न दबाब दिएको छ । अदालत परिसरमै सागर, अमर र तिनीहरूका परिवारले मेरो खुट्टामा टोपी राखेर माफी मागे । ‘अबदेखि यस्तो कहिल्यै गर्दैनौँ । ६ लाख रुपियाँ दिन्छौं, तिम्रो पढाइ खर्च, बिहे खर्च सबै दिन्छौँ मुद्दा फिर्ता लेऊ’ भने । तर, त्यति पैसाले मेरो जीवनमा लागेको दाग कसरी मेटिन्थ्यो ? मैले मानिनँ ।
अदालतमा पनि मलाई तिमी के सजाय माग्छ्यौ यी दोषीहरूका लागि भनेर सोध्दा मैले हाकाहाकी भनेँ, मृत्युदण्ड । हुन त मृत्युदण्डको व्यवस्था छैन कानुनमा । तर, कानुन त नयाँ बनाउन पनि सकिन्छ । यो मेरो जीवनको लडाइँ हो ।
त्यसपछि म मेरो गाउँ कैलपाल गएँ । त्यहाँ मलाई देखेर मेरा आफन्त र गाउँले भक्कानो फुटाएर रोएको देखेँ । सबैले मलाई माया गरे । विद्यालय जाँदा त सरहरू पनि मलाई देखेर रुनुभयो । स्कुलको लाइनमा अगाडि उभ्याएर हाम्रो गौरव भनेर मलाई थप्थप्याउनुभयो । हेडसर त झन् यति धेरै रुनुभयो कि मलाई नै अचम्म लाग्यो । सबैसामु मेरो प्रशंसा गर्दै मलाई फूलमाला लगाइदिनुभयो सरहरूले र विद्यार्थीहरूले ताली बजाए । मप्रति अझै पनि धेरै आशा रहेछ उहाँहरूलाई ।
यस वर्ष एसएलसीमा राम्रो अंक ल्याएर पास हुनै पर्छ मैले । पोहोर साल ती दुस्मनले मेरो जिन्दगीको साथसाथै मेरो पढाइ पनि बर्बाद पारे तर म हार्दिनँ । पढिरहेकी छु । मेरो स्वास्थ्यमा ढिलो सुधार आएकाले एसएलसीको फर्म नै छुटेको छ । मेनुका दिदीले परीक्षा नियन्त्रकसँग कुरा गर्नुभएको छ, जसरी पनि मिलाइदिनुस् भनेर । हेरौँ के हुन्छ
No comments:
Post a Comment