१९ बैशाख,काठमाडौं ।
अमेरिकाले डाइभर्सिटी भिसा कार्यक्रम २०१४ को नतिजा बुधबार साँझ सार्वजनिक
गरेको छ । सो नतिजा www.dvlottery.state.gov. मा उपलब्ध रहेको
काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । डाइभर्सिटी भिसा कार्यक्रम
२०१४ का लागि २ अक्टोबरदेखि ३ नोभेम्बर २०१२ सम्म खोलिएको कार्यक्रममा
सहभागी व्यक्तिमध्येबाट पहिलो चरणको नतिजा सार्वजनिक भएको समाचार आजको
राजधानी दैनिकले छापेको छ।
बुधबारको नतिजामा आफू छनोट नभए पनि डीभी २०१४ का आवेदकले आफ्नो कन्फर्मेसन
नम्बर ३० सेप्टेम्बर २०१४ सम्म सुरक्षित राख्न दूतावासद्वारा जारी
विज्ञप्तिमा भनिएको छ ।
सन् २०१४ को कार्यक्रममा आफू छनोट भए-नभएको बारेमा निक्र्योल गर्ने एक
मात्र माध्यम सो वेबसाइट भएको भन्दै उसले वेबसाइट हेरेर मात्र ढुक्क हुन
आग्रह गरेको छ । छनोट भएका निवेदकलाई इमेल नपठाइएको पनि उसले प्रस्ट पारेको
छ। दूतावासले डीभी कार्यक्रम २०१४ मा छनोट भएका उम्मेदवारले अमेरिकी
दूतावासमा समयमा नै अन्तर्वार्ता लिनका लागि आफ्ना कागजात केन्टुकी कन्सुल
सेन्टर (केसीसी) मा तत्काल पठाउन आग्रहसमेत गरेको छ । दूतावासले झूट
इमेलबारे सावधानी अपनाउन पनि निवेदकलाई आग्रह गरेको छ । ‘सर्वसाधारणलाई
झूटा मेल र पत्र उल्लेखनीय रूपमा आउनेतर्फ द डिपार्टमेन्ट अफ स्टेट अफिस अफ
भिसा सर्भिस सचेत गराउन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
डीभी कार्यक्रमसम्बन्धी आवश्यक जानकारी लिन दूतावासले
www.dvlottery.state.govमा पुनरावलोकन गर्न सचेत गराएको छ । डीभी
कार्यक्रमका लागि सो वेबसाइट आधिकारिक जानकारीका लागि एक मात्र स्रोत भएको
जनाइएको छ । यसैगरी, डीभी–२०१४ को सूचीमा नाम निस्कँदैमा भिसाको सुनिश्चित
नभएको पनि जनाइएको छ ।
‘भिसाको अन्तर्वार्ताका लागि कन्सुलर अधिकृतले अमेरिकी कानुनबमोजिम डीभीका
लागि आवश्यक पर्ने योग्यताहरूको निर्धारण गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।
डाइभर्सिटी भिसा आवेदनका लागि लाग्ने शुल्क भिसा अस्वीकार भएमा फिर्ता
नहुने पनि अवगत गराइएको छ । डीभी कार्यक्रममा छनोट भएका उम्मेदवारले भिसा
प्राप्तिका लागि कम्तीमा १२ कक्षा पास गरेको हुनुपर्ने जनाइएको छ । यदि,
सफल उम्मेदवारले १२ कक्षा पास नगरेको खण्डमा अमेरिकाको श्रम मन्त्रालयले
पहिचान वा मान्यता दिने काम गरेको अनुभव आवश्यक हुनुपर्ने बताइएको छ । तर,
थोरै मानिस मात्र कामको अनुभवको आधारमा डीभीका लागि योग्य भएको पनि स्मरण
गराइएको छ ।
No comments:
Post a Comment