काठमाडौँ- प्रतियोगिताका सुरुका दुई खेलमै
अमेरिका र युगान्डासँग पराजित भएपछि विश्वकप छनौटमा पुग्ने नेपालको संभावना
गणितीय मात्र थियो। तर क्रिकेटमा जे पनि संभव हुन्छ भन्ने भनाईलाई पुष्टि
गर्दै शनिबारको चमत्कारी दिनले अमेरिकालाई पन्छाउँदै नेपाललाई अगाडि
पारिदियो।
विश्वकप छनौटमा पुग्ने झिनो आशालाई
कायम राख्न नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा इटालीलाई ठूलो अन्तरले
पराजित गरेर रनरेट बढाउनु पर्थ्यो। भयो त्यस्तै। नेपालले टाइट बलिङ गरेर
इटालीलाई नौ विकेटको क्षतिमा १२७ रनमा सीमित पार्यो।
तर त्यतिले मात्र नेपाली टोली अघि बढ्न सक्दैन थियो। नेपालले जति गर्नुपर्ने हो, गरिसकेको थियो। अब बाँकी थियो बर्मुडा र अमेरिकाबीच भइरहेको खेलको नतिजा कुर्नु। अर्को चरणमा पुग्ने कुनै संभावना नभएको बर्मुडाले अमेरिकालाई पराजित गरिदियोस् भन्ने कामना गर्नु बाहेक नेपालसँग अरु विकल्प थिएन।
साँच्चै भयो त्यस्तै नै। पाँच ओभरको खेल बाँकी छँदै बर्मुडाले अमेरिकालाई घुँडा टेकायो। उनीहरुका क्याप्टेन क्रिस डगलसले ७५ बलमा बनाएको ८९ रनले नै नेपाललाई विश्वकप छनौटसम्म पुग्ने ढोका खोलिदिएको हो।
बर्मूडाको विजयले नेपाल युगान्डासँगै अर्को वर्ष हुने विश्वकप छनौट प्रतियोगिताका लागि चयन भएको छ। त्यसमा छनौट हुन सके सन् २०१५ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने विश्वकप क्रिकेटमा नेपाल सहभागी हुनेछ। आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ बाट पनि नेपाल बढुवा भएर डिभिजन २ मा पुगेको छ।
प्रतियोगिताको फाइनल खेल आज राति नेपाली समय अनुसार सवा ७ बजे नेपाल र युगान्डाबीच हुँदैछ।
No comments:
Post a Comment