उसबेला अहिलेजस्तो प्रशस्त सञ्चारमाध्यम थिएनन् । रेडियो नेपाल एउटा थियो,
पत्रपत्रिका पनि धेरै थिएनन् । बुबा भारतीय आर्मीमा हुनुहुन्थ्यो । ‘सैनिक’
पत्रिका घरमा ल्याउनुहुन्थ्यो । त्यहाँ भारतीय सेनामा कार्यरत महिलाहरूको
फोटो छापिएको हुन्थ्यो । महिला क्याप्टेनहरूको फोटो हेरेर दंग पर्थें ।
लाग्थ्यो– आफू पनि त्यस्तै जागिर खान पाए † युनिफर्म देखेरै लोभ लाग्थ्यो ।
त्यति बेलाका हलिउड सिनेमामा नायिकाहरूले प्रहरी अधिकृत भएर खेलेको
भूमिकाले मलाई आकर्षित गथ्र्यो । उनीहरूले चलचित्रमा गुन्डा–बदमाससँग फाइट
खेलेर तह लगाएको देख्दा रमाइलो लाग्थ्यो ।
त्यसो त त्यो उमेरदेखि नै म जे गरे पनि चुनौतीपूर्ण काम गर्छु भन्नेमा
चाहिँ निश्चित थिएँ । पहिला पढाइ पूरा गर्नु थियो । सहज काम त जसले पनि
गर्छ, साहसिलो काम गरुँ, राष्ट्रसेवा गरौँ भन्ने थियो । कालान्तरमा मेरो
बिहे भयो । बुबा, ससुरा, श्रीमान् सबै सुरक्षा निकायमा संलग्न हुनुहुन्थ्यो
। फेरि मगर समुदायका मान्छे प्रशासनभन्दा सुरक्षाफौज नै बढी मन पराउँथे ।
तर, ३० वर्षअघिको नेपालमा महिलाका लागि प्रहरीमा जागिर खोज्नु नितान्त नौलो
थियो । महिलाको रोजाइ पनि अन्य क्षेत्र नै हुन्थ्यो । प्रहरी हुनुभन्दा
शिक्षिका हुन मन पराउँथे । कतै जानै नपर्ने, स्कुल र घर गरे पुग्ने ।
प्रहरीमा त पुरुषसँगै कठोर तालिममा सहभागी हुनुपथ्र्यो । सबैले सहज रूपमा
लिँदैनथे । तर, मेरो घर तथा माइती दुवैतिर आफ्नो इच्छाले काम गर्न पाउने
वातावरण थियो । पारिवारिक सहयोगमै प्रहरीसेवामा प्रवेश गरेँ ।
जागिर सुरु गर्दा छोरी जन्मिसकेकी थिई । बेसिक तालिममा सहभागी हुने बेलामा त
छोरा पनि जन्मिसकेको थियो । श्रीमान् पनि यही क्षेत्रमा भएकाले तालिम कति
कठिन हुन्छ भन्ने उहाँलाई थाहा थियो । मेरो माया लागेछ । भन्नुभयो– ‘कैयौँ
लोग्ने मान्छे तालिम गर्न नसकेर भाग्छन् । महिलालाई झन् गाह्रो होला ।
बच्चा सानै छन्, काम छोडिदेऊ बरु ।’ तर, मैले आँट जुटाएँ– ‘स्वास्थ्यले साथ
दिँदासम्म काम गर्छु । जतिबेला सकिँदैन, त्यति बेला छोडौँला ।’
सानैदेखि गाउँघरमा भनेको सुन्थेँ– लोग्नेमान्छेले गर्ने काम महिलाले गर्न
सक्दैनन् । त्यो मलाई ठीक लाग्दैनथ्यो । ‘म गरेर देखाउँछु’, सोच्थेँ । काम
कत्तिको कठिन छ भन्ने थाहा पाउन त्यसको अनुभव लिनुपर्छ । काममा हातै नहाली
गाह्रो छ भनेर पछि हट्न हुँदैन । इच्छाशक्ति हुने हो भने महिला होस् वा
पुरुष, सबैले सफलता हासिल गर्छन् ।
म प्रवेश गर्दा प्रहरीमा महिलाको संख्या निकै थोरै थियो । अझ प्रहरी
अधिकृतमा त जम्मा चार जना थियौँ । मैले युनिफर्ममा मोटरसाइकल हाँकिरहेको
देख्दा बाटामा मान्छेहरू रोकिएर हेर्थे । मलाई गर्व लाग्थ्यो, थोरै मात्र
महिलाले गरेको काम गरेकोमा । यतिबेला डिआइजीका रूपमा हिँड्दा पनि मान्छेको
नजर मतिर जिज्ञासापूर्ण नै हुन्छ, धेरैजसो । भाग्यले साथ दिएकाले पनि होला,
यो क्षेत्रमा लागेर धेरै कुरामा प्रथम भएँ । प्रथम हुने रहर सबैको हुन्छ ।
तर, रहरले मात्र हुँदैन, मेहनत, लगनशीलता र आत्मविश्वास पनि सँगै हुनुपर्छ
। पहिलो महिला डिएसपी भएँ । मानसम्मान पाएँ । अहिले महिला डिएसपी धेरै छन्
। त्यो सबै समयले ल्याएको परिवर्तन हो । विस्तारै महिला डिआईजी पनि
सामान्य हुन थाल्नेछ ।
क्षेत्र, अञ्चल, जिल्ला सबैतिर पहिलो भएर काम गर्ने अवसर पाएँ । काममा
कसैलाई औँला ठड्याउने ठाउँ दिइनँ । धेरै प्रहरीको कमान्ड गरेँ । फरक रूपमा
काम गर्न सकेकोमा आनन्द लाग्छ । अहिले लाग्छ– अरू कुनै क्षेत्रमा काम गरेकी
भए यत्तिको सन्तुष्टि पाउने थिइनँ । प्रहरीमा फुली बढाउँदै लैजान सरल छैन ।
मुलुकमा द्वन्द्व चर्केका बेला धादिङमा प्रहरीप्रमुखको भूमिका निर्वाह गरे
। कुनै पुरुषले भन्दा कम गरिनँ, बरु कत्ति जिम्मेवारी त पुरुषले गर्दै
आएका भन्दा राम्ररी निर्वाह गरेँ होला । द्वन्द्वको त्यो घरमा परिवार
समाचार सुन्ने आँट गर्दैनथे, मेरो मृत्युको खबर सुन्नुपर्ला भनेर ।
त्यतिबेला जिल्लामा काम गर्नु सबैका लागि चुनौतीपूर्ण थियो ।
हरेकको परिवार हुन्छ, आफ्नैखाले मानवीय संवेदना । मेरो पनि छ । कैयौँपटक
परिवारसँग बाहिर जान ठिक्क परेका बेला माथिबाट केही न केही आदेश भएको छ ।
परिवारलाई मात्र होइन, मलाई पनि खल्लो लाग्थ्यो । तर, मन दुखाएर कहाँ भयो
र, जागिरै त्यस्तो छानेपछि । सधैँ कामलाई महत्त्व दिएँ । त्यसो नगरेको भए
जहाँबाट जागिर सुरु गरेँ, अहिलेसम्म पनि त्यहीँ हुन पनि सक्थेँ ।
कार्यालयको जिम्मेवारीलाई पारिवारिक समस्यासँग जोडिए सफल भइँदैन । पदीय
जिम्मेवारीका अगाडि पारिवारिक समस्या गौण हो । तर, पुरुषले कुनै कामका लागि
बिदा लिँदा सामान्य मान्छन् । महिलाले त्यही कामका लागि बिदा लिँदाचाहिँ
काम छल्ने बहाना बनाएको भनेर कुरा काट्ने संस्कार पनि हाबी भएको छ ।
०४० सालमा केही प्रहरी अधिकृतको माग भयो । मलाई त्यो रहर थियो । आवेदन दिन
गएँ, बुझ्नै मानेनन् । भनियो– ‘यो पुरुषको कोटा हो, महिलालाई होइन ।’
प्रहरी सहायक निरीक्षकमा भर्ना भएर चित्त बुझाएँ । ०४२ मा प्रहरी
निरीक्षकमा प्रतिस्पर्धा गरेर नाम निकालेँ । डिबी लामा आइजी थिए । उनले नै
भने, ‘अब महिलालाई पनि माथिल्लो पोस्टमा प्रतिस्पर्धा गराउनुपर्छ ।’ मैले
त्यो अवसर खेर जान दिइनँ । मेहनत गर्छु भनेरै आएकी थिएँ, गरेँ पनि ।
सुरुदेखि आजसम्म पनि काममा विवाद नआओस् भनेर सचेत छु । राष्ट्रिय
जिम्मेवारी पूरा गर्ने सबालमा निजी स्वार्थमा अल्झिनु मेरा लागि अमान्य छ ।
अहिले कामसँगै समयसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने बेला आएको छ । त्यसैले
हरेक क्षण चनाखो हुन्छु ।
मेहनतकै कारण जिम्मेवारीसँग मेरो काँधमा फुली पनि थपिँदै गए । म त खुसी
हुन्छु नै, आफन्त र साथीहरू पनि गर्व गर्छन् । लगनशील भएपछि सफलता हात
लाग्नु स्वाभाविकै हो । यो क्षेत्रमा लागेर अहिलेसम्म कुनै पछुतो छैन ।
जिल्लामा प्रमुख हुँदा महिलाहरूले बढी अपेक्षा गर्थे, म महिला भएकाले । तर,
न्याय दिने सबालमा वर्ग हेर्न हुँदैन । म सबैको प्रहरी हुँ, सबैलाई न्याय
दिनु मेरो कर्तव्य हो ।
एउटी महिला सफल हुन परिवारको सहयोग र इच्छाशक्तिको ठूलो भर हुँदो रहेछ ।
जिम्मेवारी पाउनुभन्दा त्यसलाई कुशलतापूर्वक सम्पादन गर्नु अझ ठूलो कुरो हो
। त्यो त पूरै व्यक्तिको क्षमताको कुरा हो । तर, समाजले महिलाको कामलाई
सहज रूपमा लिँदैन । एउटै काममा पुरुषको भन्दा महिलाको मेहनत बढी खोज्छ । म
महिला भएका कारणले डिआइजी भएकी हुइनँ, क्षमताकै कारण हो । नत्र त ठूलाबडाकी
श्रीमती सबैले ठूलै ओहदा पाउँथे होलान् । तीस वर्षदेखि यो क्षेत्रमा मेहनत
गरिरहेकी छु । यी फुली कमाउन चुनौती पनि थुप्रै पार गरेकी छु । युवावस्थको
जोसजाँगर सबै लगाएर पाएको सफलता हो यो । सानासाना छोराछोरी अरूलाई सुम्पेर
काम गरियो । जतिबेला उनीहरूलाई आमाको आवश्यकता थियो, त्यो पूरा गर्न सकिनँ
। काम नै ठूलो मानेँ ।
पार्वती थापाले जति पाउनुपर्ने हो, पाइन भनेको सुन्छु कसैकसैले । तर, मलाई
महिला भएकै कारण उसले यो सुविधा र सहुलियत पाई भनेको कदापि सुन्नु छैन ।
शान्ति सम्झौतापछि यो क्षेत्रमा मूल्यांकन गर्ने परिपाटी परिष्कृत हुन
थालेको छ । महिलामाथि न्याय हुँदै गएको अनुभूति छ । लोकतन्त्र स्थापनापछि
योग्यता र क्षमताको आधारमा मूल्यांकन भएको छ । त्यसले काम गर्ने जोस र
जाँगर बढाउँछ ।
पश्चिमाञ्चलक्षेत्रको प्रमुख हुँदा रोल्पा मात्र पाँचपटक गएँ । दुई महिना
सुदूरपश्चिम बसेँ । त्यो क्षेत्रका नौमध्ये सात जिल्लाको भ्रमण गरेर भ्याएँ
। सहजता कहिल्यै मेरो रोजाइमा पर्दैन । चुनौतीले काम गर्दा जुन आनन्द
आउँछ, आरामले गर्दा आउँदैन । मान्छेको मूल्यांकन तथ्यका आधारमा गरिनुपर्छ ।
मेरो कामको व्यस्तता र परिवारलाई समय दिन नसक्दा छोराछोरी सन्तुष्ट छैनन् ।
छोरालाई यसै क्षेत्रमा जागिर खान भनेँ, मानेन । भन्यो, ‘तपाईं त हामीलाई
समय दिन पाउनुहुन्न । त्यसैले निजी जीवनै नभएको क्षेत्रमा काम गर्दिनँ ।’
सधैँको व्यस्तता देखेर उनीहरू दिक्क मान्छन् । मलाई पनि लाग्छ कहिलेकाहीँ,
‘खोइ त मेरो निजी जिन्दगी †’ तर, उही व्यस्तता र चुनौती नै महत्त्वपूर्ण
लाग्न थाल्छ, गौरवानुभूति हुन्छ ।प्रस्तुति : चमिना भट्टराई

No comments:
Post a Comment