अण्डा पोलेर छोराछोरीलाई रोजगारी दिएँ
बालाजु बाइपासबाट उत्तरतिर करिब २ किलोमिटर कच्ची बाटो छिचोलेपछि भेटिन्छ,
पोलेको अण्डा खाजाघर। बाहिरबाट सिमेन्टले प्लास्टर गरिएको घरको पछाडि
साँघुरो कोठा छ। लगभग १२ फिट लम्बाइ र ७ फिट चौडाइको कोठाको एकातिर घरेलु
रक्सी बनाइँदैछ भने अर्कातिर एक वृद्धा अण्डा पोलिरहेकी छिन्। उनले आफ्नो
नाम नानी नगरकोटी बताइन्, उमेर ६६ वर्ष। घरभन्दा एक कान्लामाथिको डेढ रोपनी
क्षेत्रमा खुला चउर छ। आगन्तुकहरू घरको पिंढीमा राखिएको सुकुल लगेर चउरमा
बस्छन्। उनीहरू छ्याङसँग पोलेको अण्डाको स्वाद लिइरहेका छन्। नेपाली
कलाकर्मीदेखि भारतीय दूतावासका कर्मचारीसम्म त्यहाँको खान्कीमा पल्किएका
छन्। नगरकोटीका साहिँला छोरा केशव भन्दै थिए- 'ग्राहकका लागि डेढ रोपनी
जग्गा भाडामा लियौं। अहिले त्यो पनि साँघुरो हुन थाल्यो।' पतिको मृत्युपछि
परिवारको गर्जो टार्न दुःखले सुरु गरिएको यो व्यवसाय अहिले फरक स्वाद
खोज्दै हिँड्ने सहरियाहरूको गन्तव्य बनेको छ।
आमा, सञ्चै हुनुहुन्छ ?
अँ, अलिअलि प्रेसर -उच्च रक्तचाप) बढेको छ। तैपनि सकेको काम त गर्नुपर्यो नि।
अगेनाको छेउमा बसेर अण्डा पोल्दै हुनुहुन्छ, यसरी नि अण्डा खान सकिन्छ ?
यसरी खाँदा त स्वादिलो हुन्छ। हेर्नु त, यत्तिका मानिस पोलेको अण्डा खानै आएका हुन्।
कसरी थाहा पाउनुभो, अण्डा पोलेर पनि खान सकिन्छ भनेर ?
घरमा कुखुरा पालेकी थिएँ। एकदिन परिवारका लागि भनेर आगोको भुंग्रोमा अण्डा
पोलें। खाँदा निकै स्वादिलो लाग्यो अनि हामीकहाँ आउने ग्राहकलाई पनि
पोलेको अण्डा चखायौं। पछि उनीहरूले अरूलाई सुनाएछन्, पोलेको अण्डा खान भनेर
मानिसहरू आउन थाले। अहिले हामीले यसको नाम नै पोलेको अण्डा खाजाघर राखेका
छौं।
अण्डा बिक्री गर्नु अघि के गर्नुहुन्थ्यो ?
आलु पोलेर बेच्थें। आलु खान आउने ग्राहकलाई नै अण्डा चखाएको हो।
त्यतिबेला त यो गाउँ नै थियो होला, पोलेको आलु कसले किनेर खान्थ्यो ?
यहाँ नजिकै पुरानो गुहेश्वरी मन्दिर छ, दर्शनका लागि आउने मानिसहरूले किन्थे।
पोलेको आलु पनि बिक्री हुन्छ भन्ने सोंच कसरी पलायो ?
घरमा छोराछोरीलाई आलु पोलेर ख्वाउँथे। मन्दिरमा आएका मानिसहरूले 'हामीलाई
पनि दिनुहोस्' भनेर किनेर खाए। त्यसपछि मैले दिनहुँ टिम्मुर र खुर्सानीको
अचारसँग पोलेको आलु मन्दिरमा आउनेहरूलाई बेचें। अलि-अलि कमाइ हुन थालेपछि
यहि काममा रस भिज्यो।
सुरुमा कति आलु पोल्नुभयो ?
त्यतिबेला कति हुन्थ्यो र ? त्यस्तै आधा धार्नी जति।
त्यसबाट कति कमाइ भयो ?
एक जनाको भागमा ३/४ दाना पोलेर दिन्थें। त्यसको पाँच रुपैयाँ जति आउँथ्यो।
त्यति थोरै पैसाले त परिवार चलाउन गाह्रो हुन्थ्यो होला, आम्दानीका अरू स्रोत के थिए ?
सम्पतिको नाममा यही एउटा घर र थोरै जग्गा थियो। खेतीपाती गरेर खानै
नपुग्ने। त्यसैले अरूको घर बनाउने ज्यामी काम गर्थे। त्यसवाट आएको पैसाले
जेनतेन छोराछोरी हुर्काएँ।
ज्यामी कामसँगै पोलेको आलु पनि बेच्नुभो ?
अँ, अलि-अलि खाजापानी -घरेलु रक्सी) पनि हुन्थ्यो। पोलेको आलु र खाजापानी बेचें।
यहीं साँघुरो कोठामा बसेर आलु र अण्डा बेच्नुभएको हो ?
अहिले त यसलाई पनि ठूलो बनाएको हो। त्यतिबेला अझ साँघुरो थियो। काँचो
इँटाको टेको बनाएर काठको फलेक बिच्छ्याएको थिएँ। सर सामान पनि खासै थिएन।
एकातिर चुल्हो थियो, अर्कातिर ग्राहक बस्थे। पछि, ग्राहक बढ्दै गए।
सिकुवामा छानो हालेर बस्ने ठाउँ बनायौं। त्यहाँ पनि नपुगेर घर माथिको चउर
भाडामा लिएको हो।
अहिले चउर पनि साँघुरो हुँदो हो ?
चउरमा सुकुल ओछ्याएर बस्ने व्यवस्था गरिदिएका छौं। शनिबारचाहिँ त्यहाँ पनि बस्ने ठाउँ हुँदैन। गाडीहरू राख्ने ठाउँ छैन।
तपाईंलाई सम्झना छ, सुरुमा कति अण्डा पोल्नुभएको थियो ?
त्यही एक दर्जन जति पोलियो होला। अहिले त बिर्सिसके नानी, १०/१२ वर्ष अघिको कुरा हो।
अण्डा पोल्न थालेपछि चाहिँ परिवार चलाउन अलि सहज भयो होला ?
कहाँ हुनु ? यसो भरथेग हुन्थ्यो।
परिवार कतिजना ?
उ बेला त ६ जना छोराछोरी र म गरेर सात जना। अहिले बुहारीहरू थपिएका छन्।
छोराछोरीले पनि कमाई गर्थे होला नि ?
सबै सानै थिए। खर्च नभएर कतिले त पढ्न पनि पाएनन्। निकै दुख थियो।
अण्डा प्रतिगोटा कसरी किनेर कतिमा बिक्री गर्नुहुन्थ्यो ?
३/४ रुपैयाँमा किनेर ५ रुपैयाँमा बेच्थें।
अहिले सबैलाई रोजगारी दिनुभएछ नि ?
अहिले उनीहरूलाई दुःख छैन। सबैले काम पाएका छन्। छोरा-बुहारी, छोरी सबै यही काममा छन्।
अण्डा कसरी पोल्नुहुन्छ, भुंग्रोमा राख्दा फुट्दैन ?
जानेन भने त फुट्ने मात्र होइन, पाक्दैन पनि। त्यसैले अण्डा पोल्न म आफैं
बस्नुपर्छ। धेरै तातोमा हाल्नु हुँदैन, ठिक्कको तातो चाहिन्छ।
कति समय लाग्छ अण्डा पाक्न ?
१५ मिनेट जति लाग्छ। हतार गर्नु हुँदैन। बिस्तारै पोल्नुपर्छ।
अण्डा खानकै लागि हो त, यत्तिका ग्राहक आएका?
हो त, अहिले भ्याइ-नभ्याइँ हुन्छ। पोलेको अण्डा कस्तो हुन्छ भन्दै खान
आउने थुप्रै छन्। अण्डासँगै अरु १४/१५ थरीका खानेकुरा पनि बेच्छौं।
कहाँबाट आउँछन् ग्राहक ?
सबै सहरबाटै आउने हुन्। सुरुमा चाहिँ असनतिरका आउँथें। अहिले त बाहिरबाट पनि आउन थालेका छन्। धेरै टाढा-टाढाका मानिस आउँछन्।
अहिले थुप्रै ग्राहक चउर र बाहिर सिकुवामा बसेर खाइरहेका छन्, कमाई राम्रै होला होइन ?
ठीकै छ। परिवारलाई खान लाउन पुगेको छ। दुःख-बिराम, साह्रो-गाह्रोमा अरूलाई
गुहार्नु परेको छैन। साहिँलो र कान्छो छोराले पढ्न पनि पाए।
No comments:
Post a Comment