३ असार, काठमाण्डौं । उपत्यकाकै १० निजी
विद्यालयले प्रवेशिका परीक्षा (एसएलसी) मा शून्य नतिजा ल्याएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयले गत २८ जेठमा प्रकाशित एसएलसीको नतिजामा
उपत्यका ठूला भनिएका विद्यालयकै नजिता शून्य (निल) देखिएको हो ।
नतिजाअनुसार एसएलसीमा राजधानी काठमाडौंकै
सात, भक्तपुरका दुई र ललितपुरको एक निजी विद्यालय (बोर्डिङ स्कुल) निल भएको
परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रह्लाद अर्यालले बताए ।
‘उपत्यकाकै १० निजी विद्यालय एसएलसी परीक्षामा निल भएको पाइएको छ,’
उपनियन्त्रक अर्यालले भने राजधानी दैनिकमा खबर छ । निजी
विद्यालयमा बालबालिका पढाउँदैमा सबै उत्तीर्ण हुन्छन् भन्ने मान्यतालाई यी
१० विद्यालयको तथ्यांकले खण्डित गरेको उपनियन्त्रक अर्यालको भनाइ छ ।
काठमाडौंबाट निल भएका निजी विद्यालयमा अधिकांश सहरी क्षेत्रमा छन् ।
परीक्षामा एउटा विद्यार्थी पनि उत्तीर्ण गराउन नसक्ने निजी विद्यालयहरूमा
पुष्पवाल एकेडेमी लाजिम्पाट, आशनी इन्टरनेसनल स्कुल बाँसबारी, पिस प्वाइन्ट
बोर्डिङ स्कुल सिनामंगल, चन्द्रागिरि विद्याश्रम थानकोट, नेसनल क्रिएटिभ
एजुकेसन चण्डोल, सिजन एकेडेमी इंग्लिस बोर्डिङ स्कुल नयाँ बानेश्वर र वडेसे
इन्टरनेसनल एकेडेमी छन् । यी विद्यालयबाट एकजनादेखि १४ जनासम्मले परीक्षा
दिएका थिए । तर, एकजना पनि उत्तीर्ण हुन सकेनन् । शून्य नतिजा ल्याउनेमा
भक्तपुरका शिक्षा निकेतन मावि यालाछें र सिद्धिकाली मावि थिमी रहेका छन् ।
शिक्षा निकेतनले तीन र सिद्धिकालीले ११ विद्यार्थी परीक्षामा सामेल गराएको
थियो ।
त्यस्तै, ललितपुरको नमुना मच्छिन्द्र
आवासीय मावि लगनखेलबाट परीक्षामा सहभागी भएका १३ विद्यार्थीमध्ये एकजना पनि
परीक्षामा उत्तीर्ण भएनन् । परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक
अर्यालका अनुसार उपत्यकाका सामुदायिक विद्यालयको नतिजा भने शून्य छैन ।
‘उपत्यकाका सामुदायिक विद्यालयको नतिजा भने शून्य छैन, सामुदायिक विद्यालय १
देखि शतप्रतिशतसम्म विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन्,’ अर्यालले
भने । यस वर्षको परीक्षाको नतिजाको तथ्यांकअनुसार निजीको तुलनामा सामुदायिक
विद्यालयको उत्तीर्ण प्रतिशत राम्रो देखिएको पनि पनिकाले जनाएको छ ।
‘उत्तीर्ण प्रतिशतलाई हेर्दा निजीको प्रतिशत धेरै भए पनि उपत्यकामा निजी
विद्यालय नै निल भएका छन्, जसले गर्दा निजी शैक्षिक संस्थामाथि अब प्रश्न
खडा भएको छ,’ अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले भने ।
निजी शैक्षिक संस्थाले विद्यार्थीसँग
चर्को शुल्क लिँदै आएकाले त्यसलाई नियन्त्रण गरेर सर्वसुलभ रूपमा
विद्यार्थीलाई शिक्षा दिनुपर्ने उनको भनाइ छ । ‘निजी विद्यालयको शिक्षालाई
उपत्यकाको यस वर्षको परीक्षाको नतिजाले देखाएको छ, निल आएपछि सबै छर्लंग
हुन्छ,’ भण्डारीले भने । अब अभिभावकले यस्ता विद्यालयमा छोराछोरी पढ्न
नपठाई खारेज गर्नुपर्ने पनि अध्यक्ष भण्डारीले सुझाव दिए ।
उपत्यकामा मात्रै झन्डै १ हजार ५ सयभन्दा
बढी निजी विद्यालय सञ्चालनमा छन् । काठमाडौंका जिल्ला शिक्षा अधिकारी
बैकुण्ठ अर्यालका अनुसार एसएलसी परीक्षामा एउटा विद्यार्थी पनि उत्तीर्ण
नगराउने निजी विद्यालयलाई कारबाही गर्न मिल्दैन । अभिभावकले परीक्षाको
नतिजा हेरेर विद्यार्थी निजी शैक्षिक संस्थामा भर्ना गर्ने भएकाले यसरी
परीक्षामा निल हुने विद्यालयमा भर्ना गर्दैनन्, जसले गर्दा विद्यार्थीको
अभाव हुन्छ,’ जिशिअ अर्यालले भने ।
No comments:
Post a Comment