विदेशमा जस्तै अत्याधुनिक घर बन्ने क्रम बढ्दो
२८ असार, काठमाडौं । एकदशक अघिसम्म
काठमाडौं शहरका उल्लेख्य संरचना भन्नाले सिंहरदबार, धरहरा र नारायणहिटीको
बुर्जालाई लिइन्थ्यो । तर, अहिले विस्तारै काठमाडौं शहरले आफ्नो अनुहार
फेर्न थालेको छ । उपत्यकाको कंक्रिटको जंगलभित्र जताबाट हेर्दा पनि एउटा न
एउटा गगनचुम्बी भवन देखिन थालेको छ । यस्ता अग्ला अपार्टमेन्ट र अत्याधुनिक
भवनहरुले नेपालको राजधानी पनि विस्तारै विदेशी शहरजस्तो बन्न थालेको
प्रतीत हुन्छ ।
काठमाडौंबाट ललितपुरतिर हेर्नोस् या
एयरपोर्टको नांगो डाँडा छिचोलेर भक्तपुरतर्फ नजर लगाउनोस्, तपाईले अर्को
जिल्लामा ठडिएका अग्ला-अग्ला भवनहरु नांगा आँखाले सक्नुहुनेछ । भीमसेन
थापाका पालामा बनेको धराहरा त यी भवनका अगाडि होचो भैसक्यो । सिंहदरबार र
नारायणहिटीलाई यी गगनचुम्बी महलहरुले निकै तल छाडिसके ।

नयाँ बानेश्वरस्थित एभरेष्ट होटल रहेको
भवन एक समयसम्म चानचुने मानिँदैनथ्यो । तर, उद्योगी कृष्ण आचार्यको कृष्ण
सदनले चंगालेजस्तै आकाश ताकेपछि एभेरेष्ट होटलको उचाइ घटेको छ ।

व्यक्तिगत घरमात्रै होइन, विभिन्न
व्यापारिक संस्था एवं कम्पनीहरुले पनि आधुनितातर्फ पाइला चालेका छन् ।
महालेखा परीक्षकको कार्यालय र सडक विभागसमेत रहेको बबरसमशेर निर्मित बबरमहल
चानचुने भवन हैन । तर, त्यसलाई ठाडो चुनौती दिँदै यतिबेला बबरमहलमा नेपाल
टेलीकमको भव्य महल ठडिएको छ । टेलीकमको भवन हेर्दा यस्तो लाग्छ, नेपाल पनि
अब विदेशी शहरहरुभन्दा कम छैन । एकातिर सडक विस्तार भइरहेको छ, अर्कातिर
अन्तरराष्ट्रिय स्तरको नयाँ भवनले थप शोभा बढाइरहेको छ ।
सरकार पनि के कम ! व्यक्तिले गतिला भवन
बनाएको देखेरै हुनुपर्छ, शहरलाई आधुनिकतातर्फ डोहोर्याउन सरकारीस्तबाट पनि
उत्तिकै प्रयत्न भैरहेको छ भन्ने प्रमाण हो, बबरमहलमा निर्मित बडेमाको
काठमाडौं जिल्ला अदालत । यसअघिसम्म टीनको छानामुनि बसेर न्याय निसाफ
गरिरहेको जिल्ला अदालतले भव्य महलमा सरेपछि न्यायप्रणालीमा गुणात्मक छलाङ
मार्ला नमार्ला, त्यो वेग्लै विषय हो तर काठमाडौं जिल्ला अदालत भवनको
भव्यताले भौतिक परिवर्तनको संकेत भने प्रष्टसँग दिएको छ ।
एमाले
युवा नेता रुपनारायण श्रेष्ठले ठूलो घर बनाएको हल्ला चल्यो । तर, मेघा
कलेज र सगरमाथा टेलीभिजनको कार्यालय रहेकै ठाउँमा किष्ट बैंकले यति ठूलो
भवन बनाइदियो कि श्रेष्ठको ठूलो भनिएको भवन यतिबेला किष्ट बैंकको उचाइका
सामु याक्सामा परिणत भएको छ ।
राजधानीमा भैरहेको सडक विस्तारसँगै
छेउछाउका भवनहरु पनि आफ्नो पुरानो परम्परालाई छाड्दै आधुनिक, रंगीन एवं
सिसै सिसाबाट बन्न थालेका छन् । यस्ता आधुनिक भवनहरुले शहरको शोभा बढाएको
सहजै देख्न सकिन्छ । एएटा मात्रै होइन, सडक टेउमा लस्करै ठूला र आधुनिक
घरहरु बन्ने क्रम राजधानीमा तीब्र बनेको छ ।
सडक छेउमा बट्टाजस्तै देखिने यस्ता घरहरु
कति तलासम्मका छन् भनेर बाहिरबाट छुट्याउन गाह्रो छ । एक जमानामा लिफ्टको
कथामात्रै सुनेका नेपालीहरु यतिबेला घरैपिच्छे लिफ्टको अनुभव गर्न पाउने
भएका छन् । लोटसेडिङ भएर के भो ? बेलाबखत यस्ता आधुनिक घरमा रातो वत्तीमा
पिलिक पिलिक गरेर विज्ञापन र कार्यालयको इेलेक्टि्रक बोर्डले अर्को
आधुनिकताको झल्को दिन्छ ।
शहरलाई गिज्याउँदै जस्तै थोत्रे घर
नयाँ र आकर्षक घरहरुको बढ्दो क्रमसँगै
पुराना मोडेलका घरहरुले काठमाडौंलाई गिज्याउन थालेको प्रतीत हुन्छ । एकातिर
अत्याधुनिक काठमाडौं जिल्ला अदालत बनिरहेको छ भने टीनको छानामुनि विशेष
अदालतको कार्यालय रहेको छ, जसले सिंगै देशका भ्रष्टाचारीलाई तह
लगाउनुपर्नेछ ।
परिवर्तित समयका कारण सरकारी कार्यालय
रहेका यी भवनहरु एक जमानाका निकै भव्य मानिन्थे होला, तर अहिले नयाँ मोडेल र
ठूलो आयतनका घरहरुले यी पुराना घरलाई विद्रूप बनाइदिएको महसुस हुन्छ ।
गरिबलाई अर्कै सास्ती
शहरमा धनीमात्रै नभएर गरीहरु पनि हुन्छन् ।
सडक विस्तार एवं आधुनिक सहरी विकाससँगै उनीहरुले आफ्नो पुरानो मोडेलका
साना घरहरुलाई मर्मत सम्भार गर्न सक्दैनन्, फलस्वरुप मुख्य सडक अगाडि रहेका
उनीहरुका घरहरुले काठमाडौंको आधुनिकतालाई गिज्याउन बाध्य छ ।
कम थिएनन् राणाकालीन घर
राणा शासनलाई जति नै निन्दा गरिए पनि
आधुनिक नेपालको इज्जत अहिलेसम्म त्यही राणाकालमा बनेका घरहरुले धानिरहेका
छन् । प्रधानमन्त्री कार्यलय र मन्त्रालयहरु रहेको सिंहदरबार, केन्द्रीय
बैंक, राष्ट्रपति कार्यालय लगायत राज्यका सम्पूर्ण अंगहरु राणाले बनाएका
निजी घरहरुमै आश्रय लिइरहेका छन् । राणाकालमा व्यक्तिगत प्रयोजनका लागि
बनाइएका निजी भवनहरु अहिलेका आधुनिक भनिएका महलभन्दा केहीमा पनि कमी
देखिँदैनन् ।
विदेशीको भर
नेपाली
राज्ययन्त्र या त राणाहरुले बनाइदिएका भवनका भरमा चलेको छ, या विदेशीले
निर्माण गरिदिएको भवनमा । ०४६ सालको परिवर्तनपछि चन्द्र समशेरले बनाएको
घोडा बाँध्ने तबेला र नर्तकी घरमा प्रतिनिधिसभा चलेको थियो । ०६२/६३ को
आन्दोलनपछि जम्बो संविधानसभा नर्तकी घरमा अटेन र चीनले बनाइदिएको एकमात्र
सम्मेलन केन्द्र कब्जा गरेर बस्यो । काठमाडौंको आधुनिकतासँगै हामीकहाँ
कस्तो समस्या छ भने संसद विघठन नभएको अवस्थामा एउटा सार्क सम्मेलन
गर्नुपर्यो भने पनि गतिलो सम्मेलन केन्द्र छैन । सांसदहरुले सम्मेलन
केन्द्रमा सभा गर्नुपर्ने नियति मेटिएको छैन । यस्तो अवस्थालाई हेर्दा यसो
भन्न सकिन्छ, लोकतन्त्र र गणतन्त्रसँगै देशमा राज्यलाई चाहिने संयन्त्र र
संरचनाहरु निर्माण हुन सकेको छैन । तर, निजीस्तरबाट भने नेपाल सुतेको छैन,
आधुनिकतातर्फ लम्किइरहेको छ । राज्यभन्दा व्यक्ति धनी बन्न थालेको प्रतीत
हुन्छ, सिंहदरबारलाई जिस्काउने यी भवनहरुबाट ।






No comments:
Post a Comment