नयाँदिल्ली, भाद्र १३ -
हनोईबाट कूटनीतिक कार्यभार पूरा गरेर दिल्ली उत्रिएको १० दिनमै राजदूत
रन्जित रे काठमाडौं जाने हतारमा थिए । बुधबार दिउँसो कूटनीतिक सत्संगको
केन्द्र इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी) मा भेटिएका रेले हतारमै सुनाए,
'म तपाइर्ंले सोचेभन्दा बढी खुसी छु, नेपाल भनेको मेरा लागि सपनाको देश हो
। त्यहाँ जाने मेरो सधैंको इच्छा थियो ।'नेपालका लागि राजदूत भएर आगामी सोमबार काठमाडौं जाने तयारीमा रहेका रेले गफगाफको सुरुमै बाचा गराए, 'राजनीतिका कुरा नगरौं है । अरू विषयमा चियागफ मात्रै गरौं ।'
राजदूत रेले भियतनामबाट भर्खरै दिल्ली फिर्दा साथमा परम्परागत र आधुनिक केही हस्तकला, पेन्टिङका सामग्री संग्रहमा ल्याएका रहेछन् । उनी नेपालको हस्तकलादेखि वास्तुकलासम्मका उत्तिकै 'फ्यान' रहेछन् । 'नेपालसँग दुनियाँकै राम्रो हस्तकला सम्पदा छ, थांकादेखि परम्परागत चित्रकला पनि उस्तै मोहक छ,' उनले भने, 'भारतमा यो सम्पदाको राम्रो बजार छ, तर यसलाई बाहिर ल्याउने काम भएको छैन ।' राजदूत रेले नेपाललाई आफ्नो 'डि्रम-कन्ट्री' भनिरहनाको अर्को कारण पनि रहेछ, त्यो हो- पदयात्रा । 'दस वर्षअघि मैले मनाङको थोराङला हुँदै मुस्ताङ मुक्तिनाथ-कागबेनी यात्रा गरेको थिएँ,' उनी सम्झँदै थिए, 'मेरो जीवनको सबैभन्दा स्मरणीय क्षणमध्येमा त्यो यात्रा पनि पर्ने गर्छ ।'
नेपालका जनकपुर, लुम्बिनीजस्ता विश्व सम्पदा क्षेत्रमा भ्रमणमा गइसकेको बताउँदै उनले अबका दिनमा सगरमाथा क्षेत्रमा पदयात्रामा निस्कने इच्छा उनले मनमा राखेका रहेछन् । आफू भियतनाममा राजदूत छँदा त्यहाँका बौद्धमार्गीले भगवान् बुद्धका हरेक जीवनचरण र घटनाक्रम जोडिएका स्थानमा घुम्न इच्छा देखाउने गरेको सन्दर्भ सुनाए । बुद्धको जन्मस्थल नेपालमा भियतनामी तीर्थालुले आउने चाहना गरेको जानकारी दिइरहेका बेला राजदूत रेले नेपाल-भारतसहित जोडेर 'बौद्धमार्गीको यात्रामार्ग'
-सर्किट) बनाउन सकिने सम्भावना औंल्याए ।
'म नेपालमा तराईदेखि पहाड घुम्न चाहन्छु । यत्तिको प्राकृतिक सम्पदा र सम्भावना भएको मुलुक अर्को कुनै नहोला,' रेले अगाडि भने, 'सिंगो देश बुझ्नका लागि राजधानीमा बसेर मात्रै हुँदैन, सबैतिर पुगेर जीवन, सभ्यता, संस्कृति पहिल्याउनु श्रेयष्कर हुन्छ ।'
रेका सम्झनामा उनी झन्डै दर्जन पटक काठमाडौं भ्रमणमा गएका छन् । नेपाली राजनीतिको घुम्तीको बिन्दु मानिने १२ बुँदे समझदारी (२०६३ मंसिर ७) का अवधिमा भारतीय विदेश मन्त्रालयमा नेपाल-भुटान मामिला हेर्ने सहसचिव (जेएस-नर्थ) रहेका रेको 'दौडधुप' स्वभावतः त्यसबेला बढी रहन्थ्यो । उनी २००२ अक्टोबरदेखि २००६ जनवरीसम्म जेएस-नर्थ थिए । 'हो, नेपालको बदलिँदो सन्दर्भ र सहमतिको त्यो क्षणमा मैले सम्बद्ध शाखामा रहेर काम गरेको थिएँ, मैले त्यसबेलाको समयलाई सधैं सम्भिmएको छु,' रेले संक्षेपमा भन्न चाहे ।
एउटा कूटनीतिज्ञले आफ्नो विषय सम्बन्धित मामिलामा सधैं 'अपडेटेड' हुनुपर्छ, ऊ सधैं विषयगत जानकार रहनुपर्छ भन्ने मान्यतामा राजदूत रेले भेटेसम्मका सन्दर्भ पुस्तक पढ्ने गरेका रहेछन् । 'अन्तर्राष्ट्रिय राजनीति, भूराजनीति, अर्थशास्त्रका पुस्तक पढ्छु,' उनले भने, 'पछिल्ला दिन नेपालबारे पढिरहेको छु ।'
नेपाली साहित्यमा अंग्रेजीमा कलम चलाउने सम्राट् उपाध्याय, मञ्जुश्री थापाका पुस्तकहरू उनले धेरैअघि पढेका रहेछन् । उनले आफूले नेपाली बोल्न, लेख्न र पढ्न चाहेको आफ्नो इच्छासँगै जिज्ञासा पनि राखिहाले, 'मिहिनेती विद्यार्थीझैं भएर नेपाली सिक्न चाहें भने कति समयमा सिकिएला ?'
भारतीय कूटनीतिक सेवामा 'सन् १९८० ब्याच' रहेका रे इन्डियन स्कुल अफ इकोनमिक्सका स्नातक हुन् । उनी यसअघि भियतनाम र हंगेरीमा राजदूतका रूपमा तथा कोसोभो, कम्पाला, न्युयोर्कका भारतीय कूटनीतिक नियोगमा कार्यरत रहे । नेपाल सम्झनासाथ आफूलाई 'अनगिन्ती सम्भावनाले भरिएको मुलुक' लाग्ने गरेको र भारत सरकारले आफूलाई विश्वास गरेर त्यहाँ काम गर्न पठाएकामा रे दोहोर्याउँदै कृतज्ञता जनाइरहेका थिए ।
केहीअघि यहीं आईआईसीमा भेटिएका नेपालका लागि एक पूर्वराजदूतले अबका राजदूत रन्जित रेका बारेमा केही जानकारी 'खुलासा' गरेका थिए । जस्तो- रे अविवाहित छन्, उनी निकै मृदुभाषी छन् । उनका रसिक साथीभाइको सर्कल ठूलो छ आदि । 'रन्जित रे भनेका न राकेश सूद (भूतपूर्व राजदूत) जस्ता कडा कूटनीतिज्ञ हुन्, न जयन्त प्रसाद (निवर्तमान राजदूत) जस्तो नरम कूटनीतिका पक्षधर,' ती पूर्वराजदूतले भनेका थिए, 'रे मझधारका कूटनीतिज्ञ हुन्, तर काममा यिनी सधैं विवेकसंगत देखिन्छन् ।'
अरूले गर्ने यस्ता टिप्पणीहरूबारे धेरै कुरा सोध्न त मिलेन । कूटनीतिक मर्यादा राख्दै ५६ वर्षीय 'लखनउ बोइ' महामहिम रेलाई अन्तिम जिज्ञासा थियो, 'विवाह किन गर्नुभएन ?' 'हाहाहा...गर्दागर्दै यस्तै भयो,' काठमाडौं जानुअघिका शिष्टाचार भेटघाटका क्रममा बुधबारै राष्ट्रपति प्रणव मुखर्जीसँगको भेटघाट भएकाले हतारमा जवाफ दिँदै राजदूत रे बाटा लागे ।
प्रकाशित मिति: २०७० भाद्र १३ ०८:२०
No comments:
Post a Comment