Total Pageviews

Monday, August 19, 2013

ठूला जहाजबाट नेपाल उडान नभर्न पत्राचार

नविन अर्याल
३ भदौ, काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको क्षमता नभएको भन्दै वाइड बोडी जहाजबाट नेपाल उडान नभर्न विदेशी एयरलाइन्सलाई पत्राचार गरेको छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल जिर्ण भई भत्किन थालेपछि वाइड बडी जहाजबाट उडान नभर्न प्राधिकरणले पत्राचार गरेको हो । विमानस्थल पुनर्निमाण नगर्दासम्म वाइड बोडी जहाजबाट उडान भर्न रोकिने बताइएको छ ।
‘तत्काल वाइड बडी उडान रोक्दा अल्टरनेटिभ जहाज नभएका एयरलाइन्सको सेवा ठप्प हुनेछ’ प्राधिकरणका महाप्रबन्धक रतिश चन्द्रलाल सुमनले भन्नुभयो- ‘त्यसैले एयरलाइन्सलाई वाइड बोडी जहाजको विकल्प खोज्न पत्रचार गरेका छौं ।’
Airport
तत्काल बन्द गर्दा टिकट बुकिङ गराइसकेका एयरलाइन्सलाई पनि समस्या पर्नेछ । एयरपोर्टको अवस्थाबारे जानकारी दिन सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिले सानो जहाज नभएका एयरलाइन्सले विकल्प खोज्न आग्रह गरिएको बताउनुभयो ।
न्यारो बडीले ६ घण्टाभन्दा लामो उडान भर्न नसक्ने हुँदा सरकारी निर्णयले लामो उडान भर्ने सबै एयरलाइन्सलाई अप्ठेरो पर्नेछ । मुख्य पर्यटकीय सिजन नजिकिएको बेला यात्री आकर्षण गर्न केन्द्रित हुनुपर्ने एयरलाइन्स तनावमा परेका छन् । टिआईएले निश्चित मितिबाट वाइड बडीको जहाज उडाउन रोक्न नभनी आवश्यक व्यवस्थापन गर्न कम्पनीहरुलाई आग्रह गरेको छ । तसर्थ तत्काल उडान बन्द नगरी विकल्पको खोजी गर्ने एयरलाइसेन्स कम्पनीहरुले बताएका छन् ।
खासगरी नेपाल उडान भर्ने ‘एयरबस-३३०’, ‘एयरबस-३५०’ र ‘बोइङ-७७७’ जहाज तत्कालका लागि नेपाल आउन रोकिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्क दिनेश प्रसाद श्रेष्ठले बताउनुभयो । सन् २०११ देखि नै विमानस्थल भत्किन सुरु गरे पनि सरकारी बेवास्ताको कारण अहिलेको अवस्था आइपुगेको हो । विमानस्थलका अधिकारीले भने अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नहुँदा पुनर्निमाण गर्न नसकिएको दाबी गरेका छन् ।
विमानस्थलको धावनमार्गको भारवहन क्षमता ७४ देखि ७५ टनसम्म रहे पनि अहिले १९० देखि १९५ टनसम्मका वाइड बोडी जहाजले ३ हजार ४८ मिटर लामो धावनमार्गमा ल्यान्डिङ गरिरहेको टिआइएले जनाएको छ । विमानस्थल निर्माणको सुरुवातमा केही मात्रामा बोइङ ७०७, ७२७ र डिसी-८ जस्ता विमानहरु संचालन भइरहेकोमा अहिले बोइङ ७७७, एयरवस ३४०, एयरवस ३३० जस्ता वाइड विमानले उडान भर्छन् । त्यसो त लामो समयसम्म प्रयोगमा आएको धावनमार्गको आयुसमेत घट्दै गइरहेको हुन्छ ।
सन् १९८१ देखि सन् १९९० को दशकसम्म ६/७ हजार अन्तर्राष्ट्रिय उडान र बाँकी आन्तरिक गरी वर्षको १६/१७ हजार जहाज उडान भएकोमा गत वर्ष त्रिभुवन विमानस्थलबाट २३ हजार अन्तर्राष्ट्रिय उडानसहित १ लाख उडान भएको छ । सन् १९८१ देखि सन् १९९० को दशकको तुलनामा सन् २०१२ मा ३५० प्रतिशतले अन्तर्राष्ट्रिय जहाजहरुको उडानमा वृद्धि भएको देखिन्छ । अहिले टिआइए दैनिक साढे १८ घण्टासम्म संचालनमा रहन्छ ।
सन् १९५० देखि नियमित सञ्चालनमा आएको यस विमानस्थलको धावनमार्गको दक्षिणतर्फको खण्डमा सन् २०१३ को अगष्टदेखि हालसम्म ५ पटक प्वाल परिसकेको छ । जस्लाई आकस्मिक मर्मत सम्भार गरेर मात्र संचालनमा ल्याइने गरिएको छ । विमानस्थलको धावनमार्ग पुरानो भएको, ओभरलोड धान्नु परेको, ग्रास लेभलमा कमजोर संरचना निर्माण गरिएको, चर्को घाम र ठूलो झरी पर्दा निरन्तर भत्किरहेको टिआइएका वरिष्ठ इञ्जिनियर पुण्य शाक्यले दाबी गर्नुभयो ।
सुधारका लागि भएका प्रयास
‘अहिले स्पेनिस आयसा इञ्जिनियरिङ कम्पनीले विमानस्थल धावनमार्ग, ट्याक्सी वे तथा पार्किङ क्षेत्रको पेभमेन्ट -बाटो) को अवस्थाबारे अध्ययन गरिरहेको छ’ टिआईएका वरिष्ठ इञ्जिनियर शाक्यले भन्नुयभो- ‘दुई महिनाभित्रमा उक्त कम्पनीले पेभमेन्ट सुधार गर्न अपनाउनुपर्ने उपायका साथै एउटामात्र धावनमार्गलाई मध्यनजर गरी निर्माण पद्दतिसहितको रिर्पोट बुझाउने छ ।’ अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा धावनमार्ग हुनुपर्नेमा नेपालले अहिलेसम्म एउटै धावनमार्गबाट काम चलाइरहेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ५/७ वर्षको अन्तरालमा सबै पिच उप्काएर पुनः पिच गर्नुपर्ने भए पनि एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल र त्यसमा पनि एउटैमात्र धावनमार्ग भएका कारण टालटुल मात्र गरेर काम चलाउनु परेको टिआईएका महाप्रबन्धक श्रेष्ठले बताउनुभयो ।
सरकारले बाराको निजगढमा अन्तर्राष्ट्रिय तथा पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थल निर्माण गर्न काम अगाडि बढाए पनि त्यसलाई मूर्त रुप दिन सकेको छैन । कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव सुशिल घिमिरेले भैरहवाको विमानस्थल निर्माण कार्य धेरै अगाडि बढेको जानकारी दिनुभयो । पोखराको विमानस्थल चीनको सहुलियत ऋणबाट निर्माण गर्न लागिएको उहाँको भनाइ थियो ।
अल्पकालीन र दीर्घकालीन रणनीति
धावनमार्ग तथा ट्याक्सीमार्गको विद्यमान समस्या निराकरण गर्न टिआइएले ३ चरणमा निर्माण कार्य सम्पन्न गर्ने जनाएको छ । तत्कालीन उपायअन्तर्गत मनसुन अवधिभर उच्च क्षमताको सिल इमल्सन प्रयोग गरी तत्काल मर्मत गर्दै धावनमार्ग यथाशिघ्र सञ्चालनमा ल्याउने जनाएको छ ।
अल्पकालीन उपाय अन्तर्गत मनसुन समाप्ति लगत्तै धावनमार्गमा हट मिक्स अस्फाल्ट कक्रिट प्रगोग गरी धावनमार्ग मर्मत गरेर सञ्चालनयोग्य बनाउने प्राधिककरणको योजना छ । दीर्घकालीन उपायको रुपमा हाल भइरहेको पेभमेन्ट इभ्यालुएसन स्टडीको प्रतिवेदन तथा सिफारिशअनुरुप धावनमार्ग र ट्याक्सी वेको मुख्य सुधार कार्य गर्ने टिआईएले जनाएको छ ।

No comments:

Post a Comment