रमेशकुमार पौडेल, चितवन, चैत १५ - लौरो टेक्दै आएर थचक्क बसेका वृद्धले पुरानो ज्याकेटको खल्तीबाट प्लास्टिकको सानो पोको निकाले। पोको फुकाउँदै जाँदा चारपत्र पारेर पट्याइराखेको नागरिकता प्रमाणपत्र निस्कियो। धुवाँले घुर्मैलो नागरिकता अक्षर चिन्नसमेत अप्ठेरो हुने अवस्थामा छ। त्यो नागरिकता देखाउँदै उनले भने, 'मैले भत्ता पाउनुपर्यो।'फोटो खिचाउन छुटेका मतदाताको घरमा पुगेका बेला चितवन जिल्ला निर्वाचन कार्यालयका प्राविधिक गोविन्द खनालले भोगेको यथार्थ हो यो। जिल्लाको विकट क्षेत्र लोथर गाविसको वडा नं. ९ कान्दा गाउँमा भोट खसाल्न फोटो खिचाउने उद्देश्यले भन्दा जिल्लाबाट मान्छे आएका बेला वृद्ध भत्ता पाइन्छ कि भन्ने आशले आएका थिए स्थानीय सिंगराम चेपाङ।
सिंगराम प्रजा १९९५ सालमा जन्मेका थिए। गाउँमा नै टोली आएका बेला उनले २०४६ सालमा नागरिकता बनाएका थिए। नागरिकता बनाएको वर्ष उनी ५१ वर्षका थिए। नागरिकता दिने अधिकारीले जन्म मितिका ठाउँमा वर्ष लेखिदिएको छ। तर ५१ हो या ३१, छुट्याउन नमिल्ने गरेर उमेर उल्लेख गरेपछि उनी भत्ता पाउनबाट बञ्चित छन्।
सरकारले ७० वर्ष नाघेका नागरिकलाई महिनाको पाँच सय रुपैयाँ भत्ता दिने व्यवस्था गरेको छ। जन्मका आधारमा सिंगराम चार वर्षअघि नै ७० पुगिसकेका हुन्। तर, नागरिकतामा लेख्नेले शुद्ध नलेखिदिँदा उनी हण्डर बेहोर्न बाध्य छन्। उनकी श्रीमती सुकमायाको मृत्यु भइसकेको छ। सिंगरामका अनुसार तीन वर्षसम्म भत्ता बुझेपछि सुकमायाको मृत्यु भएको थियो।
उनका भाइ लालसिंहले समेत सँगै नागरिकता निकालेका थिए। त्यो बेला लालसिंहको उमेर नागरिकतामा ४० वर्ष लेखिएको छ। सिंगराम भाइलाई पनि लिएर आएका थिए, उमेर र भत्ताको कुरा गर्न। तर, भत्ता नभएर भोट खसाल्ने कार्डको फोटो खिच्न टोली आएको थाहा पाएपछि उनी निरास बने।
सिंगराम र लालसिंहले यसअघि मतदाता परिचयपत्रका लागि फोटो खिचाएका छैनन्। तर, भत्ताका लागि नभएर भोटका लागि काम हुने सुनेपछि उनीहरु खुसीभन्दा धेरै बेखुस देखिए। तैपनि दुई भाइले फोटो खिचाए। 'हामी त भत्ताको कुरा गर्न आएको। खै, भत्ताको त कुरै गरेन कसैले,' सिंगरामले दुःख पोखे।
चितवनको विकट पहाडी क्षेत्रमा मुख्य बसोबास भएका चेपाङ नेपालको अति सिमान्तकृत वर्गमा पर्ने आदिवासी हुन्। विकटको बसाइ र विपन्न अवस्थाका कारण धेरैले नागरिकतासमेत पाएका छैनन्, जसले गर्दा फोटोसहितको मतदाता नामावली संकलनमा उनीहरु छुट्ने गरेका छन्। चेपाङ बस्तीमा उम्मेदवारले समेत पाइलो नटेक्ने स्थानीय बताउँछन्।
No comments:
Post a Comment